
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–१ मा भइरहेको जग्गा नाप जाँचको नगर प्रमुख रण बहादुर महराले निरीक्षण गरेका छन् । मंगलबार स्थलगत निरीक्षण गर्दै नगर प्रमुख महराले दुई वर्षभित्र सबै वडामा जग्गा नापजाँचको काम सक्ने बताए ।
‘अहिले वडा नं. ९ मा नापीको काम सकेका छौं, वडा नं. १ मा जनशक्ति अनुसार राम्रै काम भइरहेको छ,’ उनले भने, ‘जनशक्ति र आवश्यक उपकरण थपेर दुई वर्षभित्रै जग्गा नापजाँचको काम सक्छौं ।’

अव्यवस्थित बसोबासीले छिटोभन्दा छिटो जग्गाधनी प्रमाणपत्र पाउने गरि जग्गा नापजाँचलाई तिब्रता दिएको उनको भनाई छ ।
‘जग्गा नापजाँच गरी संधियार राखेर फिल्ड मुचुल्का तयार गरिन्छ,’ उनले भने, ‘तयार गरिएको नक्सा प्रमाणित गर्न आयोगमा पठाउनु पर्ने हुन्छ ।
त्यसपछि जग्गाको फिल्डबुक कायम गरी जग्गाधनी प्रमाणपत्र बनाइन्छ ।’ वडा नं. १ मा सरकारी र सार्वजनिक गरिको ८० हेक्टर जग्गाको नापजाँच सकिएको शुक्लाफाँटाका अमिन हेमराज अवस्थीले बताए ।
‘नापजाँचको काम तीव्र गतिमा भइरहेको छ, बिहान ७ बजेदेखि ११ र दिउँसो २ बजेदेखि साढे ६ बजेसम्म जग्गा नापजाँच गरिरहेका छौं,’ उनले भने, ‘जनशक्ति थोरै छ, तीन जना अमिन, एक जना सर्वेक्षक र दुई जना सहयोगी छन्।’ वैज्ञानिक प्रणालीबाट जग्गा नापजाँचको काम भइरहेको उनले बताए ।
‘जीपीएस पोइन्ट राखेर नापजाँच हुन्छ, बाटो, खोलानालाको पनि नापजाँच गरिरहेका छौं।’ शुक्लाफाँटा नगरपालिकामा १२ हजार अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपत्रका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालयमा निवेदन दिएका छन् ।
