महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरद सिंह नेगीमाथि कुटपिट भएको छ । वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले वडाध्यक्षमाथि कुटपिट गरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
गएराति साढे ९ बजेतिर वडा नं. १ कै जिरो प्वइन्टमा रहेको बजारको एक पसलमा बुबाछोराले अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ । वडाध्यक्ष नेगीका चार वटा दाँत भाँचिएको बताइएको छ। उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ ।
वडाकै आन्तरिक विषयमा विवाद हुँदा अध्यक्षमाथि कुटपिट भएको हो। कुटपिट गर्ने बुबाछोरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कायालय बैतडीले जनाएको छ ।