महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १८ ले कमजोर आर्थिक अवस्था भएका एकल महिलाहरुका लागि सञ्चालन गरेको चुरा पोते बनाउने तालिम सकिएको छ । वडा कार्यालयमा बिहीबार कार्यक्रम गरी तालिम समापन गरिएको छ ।
सात दिनसम्म चलेको तालिममा वडाभित्रका २० जना महिला सहभागी भएका छन् । समापन कार्यक्रममा सबैलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
वडा अध्यक्ष रविन्द्र देबकोटाको अध्यक्षतामा समापन कार्यक्रम गरिएको छ । कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली सहित कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारी सहभागी भएका छन् ।
समापन कार्यक्रममा वडा अध्यक्ष देवकोटाले सीप मार्फत एकल महिलाहरुको आर्थिक अवस्था सुधारका लागि तालिम सञ्चालन गरिएको बताए ।
‘महिलाहरुको सामाजिक, आर्थिक सशक्तीकरण का लागि उधमशिलता बिकास मार्फत दिगो आर्थिक विकासमा टेवा पुग्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो’ उनले भने ।
उनले आगामी दिनमा पनि वडा कार्यालयबाट सीप मुलक तालिम सञ्चालन गरिने बताए । वडा सचिव दिनेशराज भट्टले कार्यक्रम सञ्चालन गरेका छन् ।