ghar sansar

सालघारीमा २९ करोडको होल्डिङ्ग सेन्टर अलपत्र

dirghayu ad

महेन्द्रनगर । पश्चिमी नाका गड्डाचौकी भएर फर्किने नेपालीका लागि भगतपुरमा २९ करोड लगानी गरी निर्माण गरिएको होल्डिङ सेन्टर पनि अलपत्र परेको छ । भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको सेन्टरको चारैतिर काँडेतारले घेरबार गरिएको छ । होल्डिङ सेन्टरमा २२ ठूला संरचना छन् भने भान्सा, शौचालय गरी ५९ संरचना निर्माण गरिएका छन् ।

पछिल्लो समय भारतबाट फर्किनेमा दिनहुँ कोरोना संक्रमण देखिन थालेको छ । संक्रमण बढेका बेला सेन्टर सञ्चालनको चर्चा भए पनि फेरि सेलाएर जाँदा यत्रो संरचना खाली छ । अहिले जिल्लामा दैनिक १०÷१२ जनामा संक्रमण देखिन थालेको छ, सक्रिय संक्रमितको संख्या २६ पुगेको छ ।

ratnam malkhad

सेन्टर सञ्चालनबारे पछिल्लो समय रक्षा मन्त्रालयले अध्ययन थालेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए । उनका अनुसार मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली बनेर अध्ययन भइरहेको छ । ‘दुई साताअघि उक्त टोलीले अनुगमन गरेको थियो, हामीले चार विकल्पमा जान सकिने सुझाव दिएका छौं,’ प्रजिअ अर्यालले भने ।

उनका अनुसार एक हजार क्षमताको संरचनाको ३० प्रतिशत सेन्टरकै रूपमा र बाँकी लागूऔषध दुर्व्यसनीमा फसेकाका लागि पुनःस्थापन केन्द्र, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने सुझाव दिइएको छ । कार्यविधि र सञ्चालन खर्चको अन्योलले सेन्टर सञ्चालनमा आउन नसकेको उनले बताए ।

कैलालीको धनगढी त्रिनगर सीमानाका नजिक २८ करोड ८१ लाख लागतमा क्वारेन्टिन कक्ष, चिकित्सक कक्ष, शौचालय, भान्सा घरसहित ५९ ब्लक निर्माण गरिएका छन् । गत साउनमा निर्माण सकिएको सेन्टर प्रयोगविहीन छ । १४ वटा क्वारेन्टाइन ब्लकमा तीन सय शय्या छन् ।

स्थानीय तह र प्रदेशले आफ्नो मातहत सञ्चालन हुनुपर्ने लबिइङ गरिरहेको सुनिए पनि कसको जिम्मा दिने भन्ने निर्क्यौल नभइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

Himal dental
सम्बन्धित
Loading...