बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष थापाको निधन

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको आइतबार बिहान निधन भएको छ। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका ७२ वर्षीय थापाको बेलडाँडीस्थित आफ्नै निवासमा निधन भएको हो ।

एमालेका बेलडाँडी गाउँपालिका इन्चार्ज अक्कल विष्टका अनुसार नेपालगञ्जबाट फोक्सोको क्यान्सरको उपचार गरी थापा दुई दिन अघि मात्रै घर फर्केका थिए। आज बिहान ७ बजेतिर हातमुख धुन हेन्डपम्पमा गएका बेला बोमिट भएर त्यहीँ ढलेका थिए ।

२०४८ सालदेखि एमालेमा आवद्ध थापा ०५४ सालमा पहिलो पटक तत्कालिन बेलडाँडी गाउँ विकास समितिको अध्यक्ष भएका थिए । ०७४ सालको पहिलो स्थानीय तह चुनावमा एमालेका तर्फबाट पालिका अध्यक्षमा विजयी भएका थिए ।

‘उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको छ,’ इन्चार्ज विष्टले भने, ‘इमान्दार र बैचारिक रुपमा निक्कै प्रतिवद्ध अभिभावकलाई गुमाउनु पर्दा एमाले पंक्ति शोकमा छ।’ थापाका दुई छोरा र श्रीमती छन् ।

सम्बन्धित
Loading...