
महेन्द्रनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब बढेको छ । अधिकांश एमाले नेता कार्यकर्ताले रायमाझीले गल्ती नगरेको भए नभाग्ने निष्कर्ष समेत निकालेका छन् ।
उनीहरुले भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि नेता रायमाझीले अदालत वा प्रशासनमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नुपर्नेमा उल्टै ‘गायब’ भएर समस्यालाई रहस्यमय बनाउने प्रयास गरेको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाइरहेका छन् ।
एमाले केन्द्रीय सदस्य नीरज आचार्यले स्टण्टवाजिका लागी मात्र राजनीति नगर्न राजनीतिक दल र नेताहरूलाई आग्रह गर्दै दोषीलाई अनुसन्धानको दायरामा ल्याउन सरकारसमक्ष माग समेत गरेका छन् ।
‘निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीका लागी नक्कली भुटानी शरणार्थी प्रकरण, माओवादी लडाकु शिविरको भ्रष्टाचार, वाईडबडी जहाज खरिद प्रकरण लगायत दर्जनौँ भ्रष्टाचारका फाइल खोल्नु पर्छ ÷ खोलिनु पर्छ’, आचार्यले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ छानबिनको विषय राज्य सत्ता÷ संवैधानिक निकाय÷ प्रशासनिक संयन्त्रको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोध साध्ने हतियार बनाउने हैन । यसमा नाम जोडिएका नेताहरू कुनै किन्तु परन्तु नगरीकन न्यायालयमा हाजिर भएर आफ्नो जवाफ दिनु पर्दछ ।’
साथै उनले दलहरूले त्यस्ता प्रकरणमा जोडिएकाहरूलाई पदबाट निलम्बन गर्नुपर्ने समेत जनाएका छन् । ‘निजहरूलाई पदबाट निलम्बन गरी छानबिनका लागि सहयोग गर्नुपर्दछ । नेकपा एमालेले आफ्नो पार्टीका जुन कुनै तहका नेता हुन् पदबाट निलम्बन गरी छानबिनका लागी सहयोग गर्नै पर्छ’,केन्द्रीय सदस्य आचार्यले लेखेका छन् ।
उनले अनुसन्धानका क्रममा बयान साट्ने र दोषी उम्काउने कुनै पनि हर्कत नेपाली जनता र नेकपा एमालेका लागी सैह्य नहुने बताएका छन् । ‘कुनै पनि बहानावाजिमा अनुसन्धानको काम नरोकियोस् प्रचण्ड सरकारको यसमा ध्यान जाओस्’, आचार्यको भनाइ छ ।
एमाले उच्च स्रोतका अनुसार नेकपा एमालेको आज मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले नेता रायमाझीलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल हुनेछ । रायमाझीका कारण सिङ्गो पार्टीले बद्नाम बेहोर्नुपरेको भन्दै नेता कार्यकर्ताले अध्यक्ष ओलीमाथि रायमाझीलाई कारबाही गर्न दबाब दिएको बुझिएको छ ।
