नगर सभा पूर्व त्यति ठूलो लफडा भएर पनि दोधारा चाँदनीले कसरी गरायो सबैभन्दा पहिला सुत्रमा बजेट समावेश

महेन्द्रनगर । मेयर विरुद्ध उभिएका चार दलका कारण बजेट अनिश्चित हुने आशंका गरिएको दोधारा चाँदनी नगरपालिका कञ्चनपुरमा स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) सफ्टवेयरमा बजेट समावेश गराएर स्वीकृत गराउने पहिलो स्थानीय तह बनेको छ । अघिल्ला दुई आर्थिक वर्ष देशभरमै पहिलो भएको दोधारा चाँदनी यस पटक देशभर सातौ र सुदूरपश्चिम प्रदेशमा तेस्रो भएर जिल्लामा पहिलो स्थानलाई निरन्तरता दिएको छ ।

दोधारा चाँदनी नगरपालिकाले असार १० गते गरेको नगर सभा अघि मेयर किशोर कुमार लिम्बु विरुद्ध नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्रले असन्तुष्टि राखेपछि सभा सञ्चालनमा अन्यौल बढेको थियो । नगर सभा पूर्व ती दलले दुई पटक कार्यपालिका बैठक बहिस्कार गरेपछि बजेट पेश गर्न नसकिने अवस्था आउने आशंका गरिएको थियो ।

दोधारा चाँदनी नगरपालिकाको कार्यपालिकामा एमालेसित सहकार्य गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर लिम्बुले सहमति उल्लङ्घन गरी एकलौटी गरेको भन्दै विज्ञप्ति सार्वजनिक गरी साथ छाड्ने चेतावनी दिएको थियो । काँग्रेस र माओवादी केन्द्रले संघीय सरकारको गठबन्धन अनुसार साथ नदिएर मेयर लिम्बुलाई चौतर्फी घेराबन्दीमा पारिएको थियो ।

नगर सभाबाट बजेट पारित नहुने अवस्था आएपछि नगर सभाका सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले सबै दलसित समन्वयकारी भूमिका अघि बढाएपछि नगर सभा सञ्चालनको अवस्थामा ल्याएका हुन् । उनी निवर्तमान मेयर बीर बहादुर सुनारको कार्यकालदेखि दोधारा चाँदनीमा प्रमुख प्रशासकीय अधिकृत छन् । सैनिक विश्वविद्यालयमा अध्यापन गरि सकेका मिश्र समन्वयका लागि कुशल प्रशासकका रुपमा परिचित छन् ।

‘वहाँ हाकिम सापले सबैसित सामूहिक रुपमा भनेपछि नगर सभा सञ्चालन गर्ने अवस्था आएको हो, वहाँ पनि नगर सभाको सदस्य सचिव हो नि’ आइतबार दोधारा चाँदनी नगरपालिकामा भेटिएका काँग्रेसका एक जनप्रतिनिधिले भने,‘यस पटक वहाँको समन्वयले नगर सभा सञ्चालन हुन सकेको हो, अब त्यस अनुसार वहाँले पनि कार्यक्रम सञ्चालन गर्नु पर्छ ।’

नगर सभा सदस्यहरुका अनुसार प्रमु प्रशासकीय अधिकृत मिश्रले मेयर लिम्बुसित असन्तुष्ट दलका जनप्रतिनिधिलाई नगर सभा सञ्चालन नभएर देशभर दोधारा चाँदनीको सन्देश नराम्रो प्रवाह हुने र नगर सभामा बसेर आन्तरिक विमति हल गर्न आग्रह गरेका थिए ।

उनको आग्रहपछि तीन दलले सभा सञ्चालन गर्न दिने मनसाय देखाएपछि नगर सभा सुरु भएको थियो । असार १० गते विहान ८ बजेदेखि सुरु भएको नगर सभा रातिसम्म सञ्चालन भएर बजेट पारित गरिएको थियो । यस अघि बैशाखमा वार्षिक नीति तथा कार्यक्रम पारित गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत मिश्रले सबै राजनीतिक दलको सहयोगले निर्धारित समय अनुसार नगर सभा सम्पन्न गरी वार्षिक नीति, कार्यक्रम र बजेट पारित गरिएको बताए ।

‘हो, नगर सभा पूर्व केही विमति आए, यो सरकार हो, दलहरुबीच विमति आउनु स्वभाविक हो, सबै बसेर हल गरी नगर सभाबाट बजेट पारित गरियो’ उनले भने,‘अहिले पनि सुत्रमा प्रविष्ट गर्ने हिसाबले कञ्चनपुरमा एक नम्बरमा छौ, सुदूरपश्चिममा तीन नम्बरमा छौ, अनि देशभर सातौमा छ ।’

सरकारले स्थानीय तहको आर्थिक र प्रशासनिक कार्यमा एक रुपता ल्याउनका लागि २०७६ देखि यो प्रणाली अनिवार्य प्रयोगमा ल्याउनु पर्ने निर्णय गरेको थियो । यसबाट स्थानीय तहको बजेटिङ्ग, लेखाङ्कन तथा प्रतिवेदन सुत्र प्रणालीबाटै अनिवार्य गर्ने भनेको व्यवस्था गरिएको छ । सुत्रमा बजेट समावेश नगरिए स्थानीय तहको अनुदान समेत रोक्का हुन सक्ने सम्भावना हुन्छ ।

नगर सभाबाट आर्थिक वर्ष २०८०÷०८१ का लागि ६९ करोड ३५ लाख ५६ हजार बराबरको बजेट पारित गरिएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिएको छ ।

सम्बन्धित
Loading...