
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नगरपालिकाबाट वैदेशिक रोजगारमा जान चाहने व्यक्तिका लागि हेल्प डेस्क राख्ने भएको छ । नगरपालिका कार्यालयभित्र राखिने हेल्प डेस्क केही महिनाभित्र सञ्चालन आउने गरी तयारी गरिएको छ ।
नगरपालिकाले हेल्प डेस्क सञ्चालनका लागि यस वर्ष बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा भीमदत्तदले नगरपालिकाबाट श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिन सुरु गरेको थियो ।
भीमदत्त नगरपालिकाका उप मेयर निमल लेखक जोशीले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई परामर्शका लागि हेल्प डेस्क सञ्चालन गर्न लागिएको बताइन् ।
‘अहिले नगरपालिकाबाट श्रम स्वीकृत दिई रहेका छौ, नगरपालिकाबाट श्रम स्वीकृति लिएर विदेश जाने सबैलाई आवश्यक परामर्श र सल्लाह र सुझावका लागि हेल्प डेस्क राख्ने तयारीमा छौ’ उनले भनिन् ।
वैदेशिक रोजगारमा जाने व्यक्तिले आवश्यक जानकारी नपाउँदा समस्या भोग्नु परेको उल्लेख गर्दै उनले त्यस्ता समस्या झेल्नु पर्ने बाध्यता हेल्प डेस्कबाट हट्ने उप मेयर जोशीको भनाई छ ।
हेल्प डेस्कका लागि दुई जना कर्मचारी चाहिने र कार्यालय प्रमुख आएपछि सञ्चालन प्रक्रियामा जाने उप मेयर जोशीले बताइन् ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली अहिले विदामा छन् । उनी अध्यामित्मक भ्रमणको क्रमममा भारतको राजस्थान पुगेका छन् ।
सुदूरपश्चिममा भीमदत्तले सबैभन्दा पहिला श्रम स्वीकृत दिन सुरु गरेको थियो । भीमदत्तको रोजगार सेवा केन्द्रले श्रम स्वीकृति सम्बन्धि सबै कामकाज गर्दै आएको छ ।
भीमदत्त नगरपालिका– ८, तिलाचौरका भवानसिंह भण्डारी र भीमनपा–९, ब्रह्मदेवका आनन्दसिंह रावतले श्रम स्वीकृति सुरु गरिएको दिन श्रम स्वीकृति लिएका थिए ।
उप मेयर जोशीले श्रम स्वीकृति कार्यक्रमको औपचारिक सुरुवात गरेकी थिइन् । ‘विगतमा श्रम स्वीकृत लिन काठमाडौं पुग्नुपर्ने बाध्यता थिया, तैपनि, समयमा काम नहुने, खर्च बढी हुने लगायतका थुप्रै समस्याबीच वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता थियो,’ उनले भनेकी थिइन्, ‘जब सरकारले श्रमस्वीकृत स्थानीय तहबाट समेत प्रदान गर्न सकिने प्रावधान ल्यायो, त्यसैबेला देखि हाम्रो पालिकाले समेत काम अघि बढाएको हो ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट गत चैतमा वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन पाउने निर्णय गरेको थियो ।
वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।
