कञ्चनपुर एमालेका झण्डै ६ हजार संगठित सदस्यले सोमबार छान्दै छन् सुदूरपश्चिम अधिवेशनका लागि ६३ प्रतिनिधि
कृष्णपुरबाट सबैभन्दा बढी ९ जना छानिने
महेन्द्रनगर । असोज तेस्रो साता हुने नेकपा एमालेको प्रथम सुदूरपश्चिम अधिवेशनमा कञ्चनपुरबाट ६३ जना प्रतिनिधि सहभागी हुन पाउने भएका छन् । त्यसका लागि सोमबार एमालेले कञ्चनपुरका सबै ९ ओटै स्थानीय तहबाट प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट गर्न लागेको छ ।
एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन असोज २१ र २२ गते कैलालीको धनगढीमा हुने तयारी गरिएको छ । अधिवेशनका लागि सोमबार सुदूरपश्चिमभरि प्रतिनिधि छनौट गर्न लागिएको छ ।
सुदूरपश्चिममा एमाले ५३ हजार बढी संगठित सदस्यले साढे ६ सय बढी प्रतिनिधि छनौट गर्ने छन् । ती प्रतिनिधिले एमालेको आगामी प्रदेश कमिटी चयन गर्ने छ ।
कञ्चनपुरबाट प्रदेश अधिवेशनमा खुल्ला, महिला, युवा र दलित गरी ६३ जना प्रतिनिधि छनौट हुने भएका छन् । एमाले कञ्चनपुरले सबै तहमा विहानदेखि प्रतिनिधि छनौट गर्ने तयारी गरिएको नेताहरुले बताएका छन् ।
कञ्चनपुरमा सबैभन्दा बढी कृष्णपुर नगरपालिकाबाट ९ जना प्रतिनिधि छनौट हुने भएका छन् । विहान ८ बजेदेृखि प्रतिनिधि छनौट कार्यक्रम राखिएको नगर अध्यक्ष गणेश सिह ऐरीले जानकारी दिएका छन् ।
कृष्णपुरपछि भीमदत्त नगरपालिकाबाट ८ जना प्रतिनिधि छनौट हुने भएका छन् । यसैगरी बेदकोट नगरपालिका र बेलौरी नगरपालिकाबाट ७÷७ जना प्रतिनिधि चयन हुन लागेका छन् ।
सबैभन्दा कम लालझाडी गाउँपालिकाबाट दुई जना र शुक्लाफाँटा नगरपालिका, बेलडाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिकाबाट ३÷३ जना प्रतिनिधि छनौट हुने भएका छन् ।
पुनर्वास नगरपालिकाबाट ६ अधिवेशनका लागि ६ प्रतिनिधि छनौट हुने एमाले नेताहरुले बताए ।
यसैगरी मजदुर विशेष इलाका ३, बुद्धिजीवि विशेष इलाका ३ र दलित निर्वाचन क्षेत्रबाट ९ जना प्रतिनिधि छनौट हुने छन् ।
दलित निर्वाचन क्षेत्र अन्र्तगत निर्वाचन क्षेत्र नं. १(१), १(२), २(२) र ३(१) बाट १÷१ प्रतिनिधि छनौट हुने बताइएको छ । त्यस बाहेक निर्वाचन क्षेत्र नं. २(१) बाट ३ र ३ (२) बाट २ जना प्रतिनिधि छनौट हुने भएका छन् ।
कञ्चनपुरबाट खुल्लामा सबैभन्दा बढी ४०, महिला १८ र युवा ५ जना प्रतिनिधि छनौट हुने भएका छन् । सबै स्थानीय तह सहित विशेष र दलित निर्वाचन क्षेत्रका ५ हजार ७ सय ४४ संगठित सदस्यले सोमबार विहानदेखि आ–आफ्नो क्षेत्रमा प्रतिनिधि छनौट गर्ने छन् ।