एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन : उद्घाटन नहुँदै डरायो महासचिव पोखेरल समूह, प्रदेश अध्यक्ष भण्डारीले लगाउन थाले सर्वसम्मतिको रटान
महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखेरल समूहका नेताहरु सुदूरपश्चिम प्रदेश अधिवेशन सर्वसम्मत बनाउने आन्तरिक छलफमा लागेका छन् । एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीले सर्वसम्मत बनाउन छलफलको नेतृत्व गरि रहेका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष भण्डारी अध्यक्ष ओली र महासचिव पोखरेलको विश्वासिला हुन् । अध्यक्ष ओलीले एमाले विभाजनपछि भण्डारीलाई अध्यक्ष बनाएका थिए । सुदूरपश्चिम एमालेमा भण्डारी र केन्द्रीय सचिव लेखराज भट्ट एमालेको आन्तरिक गुटबन्दीमा महासचिव शंकर पोखरेलका समूहका नेता हुन् । सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल समूहको नेतृत्व कर्ण थापाले गर्दै आएका छन् ।
प्रदेश अध्यक्ष दामोदर भण्डारीले सुदूरपश्चिममा एमाले पार्टी बलियो बनाउन र सबैको भावना अनुसार अघि बढीरहेको भन्दै अधिवेशन सर्वसम्मतकै पक्षमा रहेको बताए ।
सुदूरपश्चिम प्रदेशमा यही असोज २१ र २२ गते नेकपा एमालेको प्रदेश अधिवेशन धनगढीमा हुँदैछ । अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ ।
प्रदेश अधिवेशनका लागि सुदूरपश्चिम सबै ८८ स्थानीय तहबाट खुला, महिला, युवा, विशेष र मजदुर क्षेत्रबाट साढे ६ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।
प्रदेश अध्यक्षमा हालसम्म अछामका कमल तिमिल्सेना, अछामकै कृष्णप्रसाद जैशी र कञ्चनपुरका बचन बहादुर सिह प्रतिस्पर्धी देखिएका छन् । उनीहरुमध्ये जैसी बाहेक सिह र तिमिल्सिना दुबै महासचिव पोखरेल समूहका हुन् ।
एमाले नेताहरुका अनुसार आफ्नै समूहबाट दुई जनाले नेतृत्वमा दावी गरेपछि भण्डारी अप्ठेरोमा परेका छन् । प्रदेश अधिवेशनमा प्रतिनिधिमा आफ्नो समूहका प्रतिनिधि पनि अपेक्षा अनुसार नआएपछि उनी सर्वसम्मत नेतृत्वका लागि छलफलमा लागेका हुन् ।
गत वर्ष स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेले अनपेक्षित नतिजा ल्याएपछि अध्यक्ष ओली अध्यक्ष भण्डारी र केन्द्रीय सचिव भट्ट दुबैसित असन्तुष्ट छन् ।
निर्वाचनको हारलाई लिएर उनले आफ्ना कट्टर आलोचक भीम रावललाई नजिक ल्याउन खोजेका छन् । उनले रावलाई हटाएर भट्टलाई एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाएका थिए ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकल जिल्ला कमिटीले प्रदेश कमिटीलाई पठाएपछि प्रतिनिधिबारे अन्तिम निर्णय प्रदेश कमिटीले गर्नेे बताए । यसअघि दामोदर भण्डारीको नाम आएपनि उनी हालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रहेकाले विधिअनुसार उम्मेदवार बन्न पाउने छैनन् ।
आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वाभाविक दाबेदार भएको तिमिल्सेनाले बताए। उपाध्यक्ष भएर प्रदेशको काम गरेको अनुभव र अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष, अञ्चल कमिटी सदस्य हुँदै थुप्रै अनुभव बटुलेको तिमिल्सेनाले बताए ।
जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेफिकको सहअध्यक्ष बनेर अनुभव बटुल्नुका साथै आगामी निर्वाचनमा बहुमत दिलाउन र एमालेको सरकार निर्माणको लागि आफूले प्रदेश अध्यक्षमा दाबी गरेको जैशीले बताए ।