
सुदूरपश्चिममा पनि एमाले महासचिव पोखरेल र उपाध्यक्ष पौडेल समूह प्रतिस्पर्धी, नेतृत्व हत्याउन दुबै समूहको दौडधुप

महेन्द्रनगर । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आइतबारदेखि धनगढीमा सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने भएका छन् ।
अधिवेशनमा सुदूरपश्चिमका सबै जिल्लाका ५३ हजार बढी संगठित सदस्यबाट चयन गरिएका ६ सय ७५ प्रतिनिधि सहभागी हुन पाउने छन् । उनीहरुमध्ये अधिकाँश प्रतिनिधि धनगढी पुगि सकेका छन् । प्रदेश अधिवेशनका लागि असोज १५ गते सबै जिल्लामा प्रतिनिधि छनौट गरिएको थियो ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले प्रथम प्रदेश अधिवेशनका लागि छनौट भएका ९ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको बताएका छन् ।
आइतबार मध्यान्ह १२ बजेभित्र प्रदेश अधिवेशनको उद्घाटन सत्र सुरु हुने तयारी गरिएको छ । अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली आइतबार विहान धनगढी आउने भएका छन् । उनीसँगै एमाले महासचिव शंकर पोखरेल पनि आउन लागेका छन् ।
अधिवेशन उद्घाटनपछि बन्द सत्र सुरु भएर आर्थिक र राजनीतिक प्रतिवेदन पेश गरी छलफल गरी पारित भएपछि नयाँ कमिटि चयनको प्रक्रिया सुरु हुने अध्यक्ष भण्डारीले बताए ।
धनगढीमा तीन दिनसम्म चल्न प्रदेश अधिवेशन चल्ने छ । एमालेले संघीय शासन व्यवस्था अनुसार प्रदेश कमिटी अधिवेशन गर्न लागेको हो । एमालेमा लुम्बिनीबाट प्रदेश अधिवेशन सुरु भएका हुन् ।
सुदूरपश्चिमपछि मधेस प्रदेश अधिवेशन भएर एमालेका सबै प्रदेशमा अधिवेशन सकिने छन् । एमालेको सुदूरपश्चिम प्रदेश कमिटि तथा अधिवेशन मूल व्यवस्थापन समितिले शनिवार पत्रकार सम्मेलन आयोजना गरी तयारी सम्बन्धि जानकारी दिएको छ ।
अधिवेशने उद्घाटन सत्रमा अध्यक्ष ओली सहित महासचिव शंकर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इञ्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वर्मा, स्थायी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायि कमिटि सदस्य तथा खेलकूद विभाग प्रमुख कर्ण बहादुर थापा सहित केन्द्रिय सदस्यहरु सहभागी हुने भएका छन् ।
एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टीको प्रदेश नेतृत्व आपसी समझदारीका आधारमा चुन्ने प्रयास गरिने बताए । सर्वसम्मतको प्रयास सफल नभए समूहगत नभएर व्यक्तिगत रुपमा नेताहरुले आकांक्षा राखेका पदमा प्रतिस्पर्धा गर्ने विकल्प खुल्ला रहेको उनले बताए ।
सुदूरपश्चिम एमालेमा प्रदेश एमालेका महासचिव पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र पूर्व उपाध्यक्ष भीम रावलका तीन समूह छन् । अहिले महासचिव पोखरेल र उपाध्यक्ष पौडलको समूह सुदूरपश्चिम एमालेमा प्रतिस्पर्धी छन् ।
हालसम्म अधिवेशन सकिएका प्रदेशझैं सुदूरपश्चिममा पनि पोखरेल र पौडेलका समूहबीच प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । हालसम्म यी दुबै समूहका नेताले नेतृत्वमा आकाँक्षा राखेका छन् ।
सुदूरपश्चिममा प्रदेश अध्यक्ष भण्डारी र केन्द्रीय सचिव लेखराज भट्ट महासचिव पोखरेल समूहका हुन् । एमाले पोलिटब्युरो सदस्य कर्ण थापा उपाध्यक्ष विष्णु पौडेल समूहका छन् ।
प्रदेश अध्यक्षमा थापा समूहले अछामका कृष्ण प्रसाद जैसीलाई अघि सारेको छ । प्रदेश अध्यक्ष भण्डारी र भट्ट समूहबाट प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना र प्रदेश सचिवालय सदस्य बचन बहादुर सिह आकाँक्षी छन् ।
प्रदेश अध्यक्ष भण्डारी जनप्रतिनिधि भएकाले नेतृत्वमा दावी गर्न नसक्ने अवस्थामा छन् । जनप्रतिनिधिले एमालेमा कार्यकारी पदमा उम्मेदवारी दिन पाउने छैनन् । प्रदेश अध्यक्ष भण्डारीसंगै प्रदेश सचिव धर्मराज पाठक पनि उम्मेदवारी दिन पाउने छैनन् । उनी प्रदेश साँसद छन् ।
प्रदेश अध्यक्षमा सिंहले पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश अध्यक्षका उम्मेदवार सिंहले उम्मेदवारी घोषणापछि नेताहरुसित छलफल अघि बढेको बताए ।
अध्यक्षका आकाँक्षीमध्ये अछामका तिमिल्सेना एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष हुन् । २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका नेता हुन्।
आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकाले अध्यक्षको स्वाभाविक दाबेदार भएको उनले बताउने गरेका छन्। एमालेको प्रदेश अध्यक्षका अर्का दाबेदार जैशी पनि सुदूरपश्चिममा स्थापित नेता हुन ।
अछाम जिल्ला विकास समितिको सभापति भइसकेका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ। केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका जैशी १६ वर्षसम्म जिविस महासङ्घको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेफिकको सह–अध्यक्ष थिए ।
जैशीले आफ्नो प्रदेश अध्यक्षमा दाबी कायमै रहने र सहमतिको लागि वातावरणसमेत निर्माण गर्ने बताएका छन्। तिमिल्सेना र जैशी अहिले प्यानल बनाउने प्रयासमा छन् ।
नेकपा एमालेनिकट राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष बचन बहादुर सिंह पनि अध्यक्ष पदका आकांक्षी हुन् । उनी २०७९ को निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. २(१) बाट सत्ता गठबन्धनका उम्मेदवारसित थोरै मतले पराजित भएका थिए ।
उनी कृष्णपुर नगरपालिकाबाट सर्वसम्मत प्रतिनिधि भएका हुन् । प्रदेश अधिवेशनमा १ सय ५१ सदस्यीय नयाँ कमिटी चयन हुने छ । हालसम्म चार सय बढी सदस्यको प्रदेश कमिटी छ ।
