महेन्द्रनगर । नेकपा एमालेको धनगढीमा जारी सुदूरपश्चिम प्रदेश अधिवेशनमा महासचिव शंकर पोखरेलले सर्वसम्मत नेतृत्वमा सहमति गराउन नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको छ । एमाले अध्यक्ष ओलीको निर्देशनमा आइतबार अधिवेशन उद्घाटनपछि बन्द सत्र नगरी महासचिव पोखरेलले सर्वसम्मत नेतृत्वका लागि सोमबारसम्म प्रयास गरेका हुन् ।
अध्यक्ष ओली आइतबार अधिवेशन उद्घाटन गरी महासचिव पोखरेललाई सर्वसम्मत बनाउने जिम्मा दिएर काठमाडौं हिँडेका थिए । त्यसपछि उनले बन्द सत्र सुरु हुन नदिएर सर्वसम्मतिका लागि नेता र नेतृत्वका आकाँक्षीहरुसित निरन्तर छलफल गरेका थिए ।
महासचिव पोखरेलको सर्वसम्मत चयन गर्ने छलफलमा सहभागी एमालेको दुबै गुटका नेताले नेतृत्वमा दावी नछाडेपछि सहमति हुन नसकेको हो । एमाले केन्द्रीय सचिव लेखराज भट्ट र प्रदेश अध्यक्ष दामोदर भण्डारी समूह र अर्का पोलिटब्युरो सदस्य कर्ण थापा समूहले आ–आफ्ना उम्मेदवारमा सर्वसम्मति खोजेका छन् ।
महासुचिव पोखेरल सर्वसम्मत हुन नसक्ने अवस्था आएपछि एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालाई सहमतिको प्रयासको जिम्मा दिएर गृह जिल्ला दाङ्ग हिँडेका छन् ।
एमालेको १ सय ५५ सदस्यीय प्रदेश कमिटीका लागि सुदूरपश्चिमका सबै जिल्लाका ५३ हजार बढी संगठित सदस्यबाट ६ सय ७५ प्रतिनिधि चयन भएर अधिवेशनमा सहभागी भएका छन् ।
सुदूरपश्चिममा एमाले महासचिव शंकर पोखेरल, उपाध्यक्ष विष्णु पौडेल र पूर्व उपाध्यक्ष भीम रावलका तीन गुट छन् । रावललाई अधिवेशन उद्घाटन सत्रमा आमन्त्रण नगरिएकाले उनी सम्बद्ध प्रतिनिधि असन्तुष्ट छन् ।
एमालेका केन्द्रीय सचिव भट्ट र प्रदेश अध्यक्ष भण्डारी पोखेरल र पोलिटब्युरो सदस्य थापा उपाध्यक्ष पौडेल समूहका छन् । एमालेको लुम्बिनीपछि सुदूरपश्चिममा यी दुई समूह प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।
यस अघि एमालेका जिल्ला अधिवेशन र स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको टिकट वितरणमा पनि यी दुुई समूहबीच प्रतिस्पर्धा भएको थियो ।
प्रदेश इन्चार्ज विश्वकर्माले पनि सहमति गराउन सम्भावना निकै कम भएको एमाले नेताहरु बताउँछन् । निर्वाचन कार्यक्रम सुरु भएकाले निर्वाचनबाट प्रदेश कमिटी चयन हुने उनीहरु बताउँछन् ।
महासचिव पोखरेलले सर्वसम्मत नेतृत्वका लागि छलफल गर्दा समेत दुबै समूह आन्तरिक प्रचारमा लागि सकेका थिए । त्यसका लागि धनगढीका केही स्थानमा गोप्य सचिवालय बनाएर आन्तरिक तयारी थालिएको थियो ।
प्रदेश अधिवेशनबाट महासचिव पोखरेलको समूहमा असन्तुष्टि बढेको छ । प्रदेश अधिवेशनमा एकै गुटका केन्द्रीय सचिव भट्ट र निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारीका छुट्टै उप समूह देखिएका छन् ।
केन्द्रीय सचिव भट्टको गृह नगर गोदावरीको प्रतिनिधि छनौटपछि यी दुई नेताबीच आपशी दुरी बढेको छ । भट्टले भण्डारीले साथ दिएका सबै उम्मेदवार रोकि दिएपछि उनी असन्तुष्ट छन् ।
निवर्तमान प्रदेश अध्यक्ष भण्डारीका विश्वासिला पूर्व मन्त्री कृष्ण सुवेदी प्रतिनिधिमा रोकिएका छन् । उनलाई प्रतिनिधि बनाउन भण्डारीले अन्तिमसम्म पहल गरेका थिए । गोदावरी एमालेको अध्यक्षमा भट्टका सहोदर भाई गोकर्ण भट्ट नगर अध्यक्ष छन् ।
महासचिव पोखरेलले सर्वसम्मतिका लागि एमाले केन्द्रीय कमिटीबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेशका नेता, जिल्ला अध्यक्ष र नेतृत्वका आकाँक्षी नेतासित छलफल गरेका थिए ।
सुदूरपश्चिममा निवर्तमान प्रदेश अध्यक्ष भण्डारी अध्यक्ष ओलीका विश्वासपात्र हुन् । उनी ओलीको चाहना अनुसार नेतृत्व हाँक्ने नेतालाई प्रदेश नेतृत्व दिने गरी अघि बढेका छन् ।
प्रदेश प्रतिनिधिमा आएका प्रतिनिधि र केन्द्रीय सचिव भट्टसितको मतभेद उनी कमजोर भएर बाहिरिने अवस्थामा पुगेको एमालेका एक नेताले बताए ।
‘प्रतिनिधिमा थापा र भण्डारी समूहबीच ६०÷४० छ, यो त समस्या नै छ, अर्को लेखराज भट्टसित पनि गोदावरी काण्डले चिसोपना छ’ ती नेताले भने,‘युसले दामोदरजी समस्या हुनु हुन्छ ।’
प्रदेश प्रतिनिधिको संख्याका कारण महासचिव पोखरेल पनि चुनाव नगरी सर्वसम्मत नेतृत्व चयनका लागि अन्तिमसम्म सक्रिय रुपमा लागेको नेताहरु बताउँछन् ।
निर्वाचन समितिका अनुसार सोमबार साँझ मतदाता नामावली प्रकाशन गरी उम्मेदवारलाई मनोनयन पत्र वितरण गर्नेसम्म कार्यक्रम सोमबार राखिएका छन् ।
मंगलबार विहान मनोनयन दर्ता र निर्वाचन गर्ने लगायतका कार्यक्रम निर्वाचन कार्य तालिकामा छन् । एमाले नेताहरु अधिवेशनमा सहमतिका आधारमा नेतृत्व चयन हुने सम्भावना न्यून भएको बताउँछन् ।
सोमबार साँझसम्म प्रदेश अध्यक्षमा अछामका कृष्ण प्रसाद जैशी , अछामकै कमल तिमिल्सेना र कन्चनपुरका बच्चन सिँहले नेतृत्वको दावी यथावत राखेका छन् ।