महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले एमाले सुदूरपश्चिम प्रदेश कमिटीको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । एमालेको निवर्तमान सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य महरा गत वर्ष स्थानीय तह निर्वाचनबाट मेयरमा निर्वाचित भएका हुन् ।
एमाले बैतडीको संस्थापक महराले एमाले जिल्ला कञ्चनपुरमा उप सचिवको जिम्मेवारी लिई सकेका छन् । एमालेमा हक्की, निडर र प्रष्ट वक्ताको छवि भएका महरा एमाले शुक्लाफाँटा नगरपालिकाबाट सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।
उपाध्यक्षका उम्मेदवार महराले पार्टीलाई गुटबन्दीभन्दा माथि उठाएर सैद्धान्तिक, वैचारिक र साँगठनिक रुपमा बलियो बनाउन चुनावी मैदानमा आएको बताए ।
‘पार्टीको गुटबन्दी, समूहबन्दी लगायतका तमाम समस्या छन्, ती समस्या हल गरी पार्टीलाई बलियो बनाउन उम्मेदवार भएको हुँ’ उनले भने ।
मेयर महराले प्रदेश उपाध्यक्षमा उम्मेदवारी दिँदा उनले पार्टी सदस्य दिएका बैतडीका साँसद दामोदर भण्डारी प्रदेश अध्यक्षको जिम्मेवारीबाट बाहिरिएका छन् । एमाले बैतडीको संस्थापक सदस्य महराले २०५० मा भण्डारीलाई पार्टी सदस्यता दिएका थिए । बैतडीबाट तीन पटक साँसद जिति सकेका भण्डारी अहिले पार्टी विधानका कारण उम्मेदवार नभएर पार्टी राजनीतिबाट बाहिरिन पुगेका छन् ।
भण्डारीलाई सदस्यता दिएका महरा तीन दशकपछि एमाले प्रदेश कमिटी उपाध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा देखिएका हुन् । बैतडीबाट दुई दशक अघि तराई आएपछि उनी एमाले कञ्चनपुरमा जिल्ला कमिटी सदस्य हुँदै उप सचिव निर्वाचित भएका हुन् । पार्टी उप सचिव हुँदा उनी एमाले प्रचार विभागको जिम्मेवारी वहन गरेका थिए ।
प्रदेश कमिटी उपाध्यक्षमा महरासंगै हरिसिंह साउद, बलदेव रेग्मी, कालिबहादुर शाही, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाही चुनावी मैदानमा छन् । उनीहरुमध्ये हरि सिह साउँद गोदावरी नगरपालिकाका पूर्व मेयर हुन् ।
अध्यक्षमा कृष्ण प्रसाद जैसी, कमल तिमिल्सिना, बचन बहादुर सिह र भरत साउँद उम्मेदवार छन् । कैलालीका रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी र जीवन कुमार बम प्रदेश कमिटी सचिवका उम्मेदवार छन् ।
धनगढी उप महानगरपालिकाका उप मेयर कन्दकला कुमारी राना सहित भागरथी विष्ट र अर्चना गहतराज उप सचिव(महिला) तथा उप सचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्ट छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन सर्वसम्मत प्रदेश कमिटी बनाउन महासचिव पोखरेललाई जिम्मा दिएर फर्किएका थिए । महासचिव पोखरेलले बन्द सत्र सुरु नगरी दुई दिनसम्म सहमतिको प्रयास गरेका थिए ।
प्रदेश अध्यक्षमा जैसी र तिमिल्सिनाले अन्तिमसम्म दावी नछाडेपछि सहमति नभएर निर्वाचन प्रक्रिया थालिएको हो । प्रदेश अध्यक्षका उम्मेदवार जैसीलाई एमाले पोलिटब्युरो सदस्य कर्ण थापा र तिमिल्सिनलाई एमाले केन्द्रीय सचिव लेखराज भट्ट र निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारी गुटले साथ दिएको छ ।
एमालेका पूर्व उपाध्यक्ष भीम रावलले थापा समूहलाई सहयोग गर्ने जानकारी बाहिर आएका छन् । रावल समूहका ५० प्रतिनिधि हुन सक्ने बताइएको छ ।
उनलाई प्रदेश अधिवेशनमा आमन्त्रण नगरिएपछि उनी समर्थक कार्यकर्ताले उद्घाटन सत्रमा खोजी गरेका थिए । प्रदेश अधिवेशनका सबै जिल्लाका ६ सय ७५ प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।