ghar sansar

एमालेको सुदूरपश्चिम अधिवेशनमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा अछामका जैसी

Amity

महेन्द्रनगर । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन् । अध्यक्षका तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि अछामका पूर्वजिविस सभापति जैसी निर्विरोध भएका हुन् ।

अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन्। सहमतिका लागि बाधक नबन्ने भन्दै तीनै जना प्रत्याशीले उम्मेदवारी फिर्ता लिएका थिए ।

lotus institite

उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही यसअघि नै निर्विरोध भइसकेका थिए। उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, हजारी साउद, बलदेव रेग्मी, रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् ।

सचिवमा रणबहादुर चन्द निर्विरोध चुनिएका छन् । रतनराज रेग्मी र राजेशकुमार खातीले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन्। महिला उपसचिवमा भागिरथी विष्ट सर्वसम्मत भएकी छन्। कन्दकला राना र कलशा महराले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत बनिन् ।

खुलातर्फ उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका छन् । अशोककुमार चन्दले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन् । ‘पदाधिकारी र अधिकांश जिल्लामा सर्वसम्मति भइसकेको छ । सुरूदेखि नै हामीले सहमतिको प्रयास गरेका थियौं । निर्वाचन कमिटीले घोषणा गर्न बाँकी रहेको छ,’ एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले भने ।

उनका अनुसार बाजुरा, अछाम, डडेलधुरा, डोटी, बैतडी र दार्चुला जिल्ला पनि सर्वसम्मत भइसकेको उनले बताए । यसअघि उपत्यका विशेष प्रदेशमा पनि अध्यक्षमा प्रेम पराजुलीसहित सिंगो कमिटी नै सर्वसम्मत भएको थियो ।

लुम्बिनी, बागमती, कर्णाली, कोशी र गण्डकीको नेतृत्व चुनावबाट छानिएको थियो । एमालेको मधेस प्रदेश अधिवेशन अहिले जारी छ। त्यहाँ नेतृत्व चयनको प्रक्रिया बिहीबारबाट सुरू भएको छ ।

Himal dental
सम्बन्धित
Loading...