महेन्द्रनगर । अध्यक्ष केपी शर्मा ओलीको निर्देशन पालना गरी सुदूरपश्चिमका एमाले नेताहरुले प्रदेश पदाधिकारीमा भागबण्डा गरी सहमति जुटाएका छन् । प्रदेश अधिवेश सुरु भएको पाँच दिनसम्म छलफल गरी पदाधिकारी भागबण्डा गरी सर्वसम्मत गराएका हुन् ।
एमाले सुदूरपश्चिमका पोलिटब्युरो सदस्य कर्ण थापा, निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारी र एमालेका पूर्व उपाध्यक्ष भीम रावल समूहले आफू नजिकलाई नेतालाई पदाधिकारी बनाएका हुन् । एमाले पूर्व उपाध्यक्ष रावलको समूहबाट केन्द्रीय सदस्य झपट रावल अन्तिमसम्म बार्गेनिङ्ग गरेका थिए ।
माओवादी केन्द्र छाडेर एमाले भएका केन्द्रीय सचिव लेखराज भट्ट भने प्रदेश कमिटीमा आफू निकट नेतालाई पदाधिकारी बनाउन असफल भएका छन् । भट्टले कञ्चनपुरका कलशा महरालाई उप सचिव बनाउन अन्तिसम्म लबिङ्ग गरेका थिए ।
केन्द्रीय सचिव भट्ट यस अघि एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज छन् । अहिले उनी एमालेको कर्णाली इन्चार्ज छन् । पूर्व माओवादी धारको नेतृत्व गर्दै भट्टले महरालाई उप सचिव बनाउन पहल गरेका हुन् ।
प्रदेशका निवर्तमान अध्यक्ष दामोदर भण्डारीसित गोदावरी नगरपालिकाको प्रतिनिधि चयनमा खटपट भएपछि प्रदेश अधिवेशनमा दुबैले छुट्टाछुट्टै उप समूह बनाएका हुन् । यस अघि भट्ट र भण्डारी दुबै एकै समूहमा थिए । उनीहरु एमाले महासचिव शंकर पोखरेल गुटका नेता मानिन्छन् ।
प्रतिनिधि चयनमा भट्ट र भण्डारीबीच सम्बन्ध बिग्रपछि भण्डारीले अधिवेशन सुरु अघि नै सर्वसम्मतका लागि छलफल अघि बढाएका हुन् । उनी प्रदेश कमिटीमा आफू निकट नेतालाई ल्याउन निर्वाचन कार्यक्रम रोकेर सहमति गराएका हुन् ।
निर्वतमान प्रदेश अध्यक्ष भण्डारीले सचिवमा रण बहादुर चन्दलाई ल्याएका छन् । बैतडीको मेलौली पुख्र्यौलीका दुई वर्ष अघि केन्द्रीय सचिव लेखराज भट्टको असहयोगले एमालेको कैलाली अध्यक्षमा पराजित भएका हुन् ।
यस पटक भण्डारीले चन्दका लागि अन्तिमसम्म सहमति गराएर सचिव बनाएका हुन् । प्रदेश अधिवेशनमा सर्वसम्मत नभए निवर्तमान प्रदेश अध्यक्ष भण्डारी र केन्द्रीय सचिव भट्टको समूह क्लिन स्वीप हुने अवस्था देखिएपछि अन्तिमसम्म सर्वसम्मत गरिएको एमाले नेताहरुले बताए ।
‘प्रदेश अधिवेशनका प्रतिनिधि पनि सोचे जस्तो आएन, यो समूहसित ४० प्रतिशत हाराहारीमा प्रतिनिधि थियो, त्यसमा पनि लेखराज भट्टसित मतभेद बढेपछि झन अप्ठेरो आयो’ एमालेका ती नेताले भने,‘यस्तो बेलामा क्लिन स्विप हुनु भन्दा प्रदेश पदाधिकारीमा जसरी नि आउनुका लागि दामोदरजी अन्तिमसम्म सहमतिमा लाग्नु भएको हो ।’
एमाले पोलिटब्युरो सदस्य कर्ण थापाले अछामका कृष्ण जैसीलाई अध्यक्ष बनाएका छन् । सुदूरपश्चिमा थापाले एमालेको अर्को गुटको नेतृत्व गर्छन् । थापा समूह एमाले उपाध्यक्ष विष्णु पौडेल नजिक मानिन्छ । थापा समूहले सुरुदेखि जैसीलाई अघि सारेको थियो ।
अधिवेशन सुरु भएपछि भएका सबै छलफलमा थापा समूहले अध्यक्षमा जैसीका लागि अन्तिमसम्म अडान लिएको थियो । जैसीलाई सर्वसम्मत र चुनाव लडाएर पनि अध्यक्ष बनाउने थापा समूहले सुरुदेखि तयारी गरेको थियो ।
एमाले नेताहरुका अनुसार थापा समूहले जैसीलाई अध्यक्ष सहित प्रदेश कमिटी एकलौटी हुने गरी प्रतिनिधि चयन गरिएको थियो । ती नेताका अनुसार थापा समूहका प्रतिनिधि झण्डै ६० प्रतिशत हाराहारी थियो ।
एमालेका केन्द्रीय सचिव भट्ट र भण्डारीको विवाद तथा यो समूहबाट नेतृत्वमा दुई जना उम्मेदवार भएपछि थापा समूह झन उत्साहित बन्न पुगेको थियो । भट्ट भण्डारी समूहबाट अछामका कमल तिमिल्सिना र कञ्चनपुरका बचन बहादुर सिह उम्मेदवार भएका थिए ।
एमाले अध्यक्ष अध्यक्ष ओली र महासचिव शंकर पोखेरल लगायतका नेताका निरन्तर दबाव आएपछि थापा समूह अध्यक्ष लिएर पदाधिकारी सर्वसम्मत बनाउन सहमत भएको नेताहरु बताउँछन् । १५५ सदस्यीय प्रदेश कमिटीका अध्यक्ष सहित पाँच पदाधिकारी सर्वसम्मत भएका छन् ।
भीम रावल समूहका भरत साउँद, भण्डारी समूहका कमल तिमिल्सिना र भट्ट समूहका बचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि जैसी निर्विरोध भएका हुन् ।
अध्यक्षमा साउँदले उम्मेदवारी फिर्ता लिएपछि उप सचिवमा भीम रावल समूहका नर बहादुर विश्वकर्मा निर्विरोध भएका छन् । कञ्चनपुरका विश्वकर्मा विद्यार्थी राजनीतिबाट आएका हुन् ।
अछाम पुख्र्यौैलीका उनी एमालेको दशौं महाधिवेशनमा भीम रावलको समूहबाट केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । यस अघि उनी एमाले प्रदेश कमिटी सदस्य थिए ।
एमाले प्रदेश उपाध्यक्षमा बाजुराका काली बहादुर शाही निर्विरोध भएका छन् । उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीको उम्मेदवारी थियो । उनीहरुले बुधबार उम्मेदवारी फिर्ता लिएका थिए ।
एमाले नेताहरुका अनुसार भीम रावल समूहलाई उप सचिव दिने सहमति भएपछि पदाधिकारी सर्वसम्मत भएका हुन् । उद्घाटन सत्रमा आमन्त्रण नभएपछि उनी समर्थकले अध्यक्ष ओलीसंग सोधेका थिए ।
सचिवमा उम्मेदवारी दिएका राजेश खाती, रतनबहादुर रेग्मी र जीवन बमले उम्मेदवारी फिर्ता लिएपछि कैलालीका रणबहादुर चन्द निर्विरोध भएका छन् ।
उपसचिव (खुला)मा कञ्चनपुरका नरबहादुर विक र भागरथी विष्ट निर्विरोध भएका निर्वाचन कमिटीले जनाएको छ । २१ गते अधिवेशन सुरु भएपछि महासचिव पोखेरलले बन्द सत्र रोकेर सहमतिका लागि दुई दिनसम्म छलफल गरेका थिए ।
दुई दिनसम्म सहमतिको प्रयास सफल नभएपछि मंगलबार बेलुकी ५ बजेका लागि मतदानको समय राखेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो ।
प्रदेश अध्यक्ष जैसीलाई पोलिटब्यरो सदस्य थापा सहित नारदमुनि राना, निरूदेवी पाल, गौरी ओली, ऐन महर, नर बहादुर धामी लगायतले साथ दिएका थिए ।
निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारीको समूहमा केन्द्रीय सदस्य झपट रावल, दयालबहादुर शाही, प्रकाश शाह, तारा लामा तामाङ, राजेन्द्रसिंह रावल, लीला भण्डारी, गणेशसिंह ठगुन्ना, कमला बोहोरा, लालबहादुर थापा, आशा बिक, पुरनसिंह दयाल, अखिलाल ओखेडा लगायतको साथ थियो ।
पूर्वमाओवादी धारको नेतृत्व गरेका लेखराज भट्टले अघि सारेका बचन बहादुर सिंहलाई गौरीशंकर चौधरी लगायत पूर्वमाओवादी नेताहरूले साथ दिएका थिए ।