
नेवि संघका सात केन्द्रीय सदस्यले लगाए चटौत नेतृत्वको कञ्चनपुर जिल्ला समितिमाथि अवैधानिक गतिविधि गरेको आरोप
महेन्द्रनगर । नेपाल विद्यार्थी संघका सात केन्द्रीय सदस्यले संघको कञ्चनपुर जिल्ला समितिले अवैधानिक रुपमा साँगठनिक गतिविधि गरेको आरोप लगाएका छन् ।
संघको केन्द्रीय सदस्य रहेका कञ्चनपुरका दिनेश शर्मा, इन्द्र साउँद, खेमराज जोशी, अमितजङ्ग कार्की, लोचन सिह कार्की, सञ्जय अधिकारी, शेषशैया कुमार विष्ट र मनोज भट्टले आइतबार संयुक्त रुपमा विज्ञप्ति सार्वजनिक गरी अवैधानिक रुपमा गतिवधि गरेको आरोप लगाएका हुन् ।
सात केन्द्रीय सदस्यले जारी विज्ञप्तिमा संघको कञ्चनपुर जिल्ला समितिलाई विवादित भन्दै संघको नाममा हुने सबै गतिविधि अवैधानिक भएको उल्लेख गरिएको छ ।
उनीहरुले काँग्रेस कञ्चनपुरका संघका गतिविधिमा संलग्न नभएर निष्पक्ष र अभिभाकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा संघको लेटरप्याड दुरुपयोग गरी जिल्ला समितिको नाममा समिति र उप समिति गठन गरिएको आरोप लगाइएको छ ।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष रमेश चटौतले केही दिन पदाधिकारी र सदस्य थप गरी संघको जिल्ला समिति विस्तार गरेका थिए । संघको जिल्ला समिति विस्तार भएपछि केन्द्रीय सदस्यले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएका छन् ।
केन्द्रीय सदस्यहरुले संघको विधान विपरितका कार्य नरोकिए सबै विद्यार्थी सहित अघि बढ्ने चेतावनी दिँदै काँग्रेस कञ्चनपुरल जिम्मेवारीले लिनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
