महेन्द्रनगर । परराष्ट्र मन्त्री एनपी साउँद गृह जिल्ला आएपछि उनको निर्वाचन क्षेत्रका वासिन्दाले कलुवापुर बेलौरी सडक खण्ड अवरुद्ध गरेका छन् ।
गत वर्ष निर्वाचनका क्रममा मन्त्री साउँदले चुनावी वाचा अनुसार सडक कालोपत्रे नभएपछि उनी आएको मौका पारी स्थानीयले सडक अवरुद्ध गरेका हुन् । मन्त्री साउँद शनिबार शुक्लाफाँटा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन लगायतका कार्यक्रमका लागि गृह जिल्ला आएका हुन् ।
मन्त्री साउँद शनिबार शुक्लाफाँटामा भवन उद्घाटनका लागि पुगेपछि स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयको विरोधको डरले मन्त्री साउँद शनिबार झलारीबाट दैजी आएर बेलडाँडी हुँदै बेलौरी गएका थिए ।
सडक डिभिजन कार्यालयले कलुवापुरदेखि बेलौरीसम्म सडक कालोपत्रेका लागि २०७३ मा ठेक्का सम्झौता गरी काम अघि बढेको थियो । संघीय संरचनापछि यो सडक निर्माण कार्य २०७५ मा प्रदेश सरकार मातहत आएर पूर्वाधार विकास कार्यालयले हेर्दै आएको छ ।
सडक डिभिजन सन्तोषी थेगिम जेभीबीच पत्रेका लागि २०७३ भदौ १७ गते तीन वर्षमा सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । त्यसपछि पूर्वाधार विकास कार्यालय मातहत आएपछि २०७५ भदौ १५ गतेसम्म काम सक्ने गरी सम्झौता गरिएको थियो ।
अहिलेसम्म सडक कालोपत्रे हुन सकेको छैन । गत गत वर्ष निर्वाचनमा मन्त्री साउँदले आफूले चुनाव जिते कलुवापुर–बेलौरी सडक कालोपत्रे गरी छाड्ने बताएका थिए ।
उनले भनेका थिए, ‘ठेक्का दिइसक्या छ त ! ठेकेदारको कान समातेर यसमा पीच गर भन्नु पर्छ कि पर्दैन ? यदि म निर्वाचित भएको वर्ष यो काम धमाधम पीचको काम भएन भने म ठेकेदारलाई पनि निकालि दिन्छु सरकारलाई दबाब दिएर, म सिधा कुरा गर्छु ।’
निर्वाचन जितेर साउद मन्त्री भए पनि सडक कालोपत्रे अघि बढेपछि स्थानीय आक्रोशित हुन पुगेका छन् । मन्त्री साउँदलाई चुनावी वाचा सम्झाउन उनीहरुले आइतबार विहानदेखि कलुवापुर–बेलौरी सडक खण्ड अवरुद्ध गरी चक्काजाम गरेका छन् ।
‘वर्षौदेखि यो सडक अलपत्र अवस्थामा छ, सडक कहिले धुलो र कहिले हिलाम्य हुन्छ,’ स्थानीय मोहनराज पन्तले भने, ‘सडकमा उड्ने धुलोबाट बिरामी भइरहेका छौं, सडक छेउका घरहरूमा बस्न सकिने अवस्था छैन ।’ धुलो नियन्त्रणका लागि ठेकेदार कम्पनीले केही समय पानी छर्किए पनि हाल पानी छर्किने काम पनि बन्द छ ।
सडकबाट उड्ने धुलोका कारण स्वास्थ्यमा असर गरिरहेको स्थानीय ज्ञानी साउदले बताए । ‘४ दशकदेखि कालोपत्रेको पर्खाइमा रहेको बेलौरी–कलुवापुर सडकखण्ड निर्माणमा बारम्बार नेताहरूले चुनावी नारा लगाउँछन्,’ उनले भने, ‘जहिल्यै नेताहरूले जनतालाई झुक्याउने र ठेकेदारले समेत बेलाबेलामा सडक निर्माण गर्छु भन्दै प्रतिबद्धता जनाएर सर्वसाधारणलाई ठग्ने कार्य मात्रै गरेको छ ।’
धुलाम्मे सडकबाट शुक्लाफाँटा नगरपालिका–११, १, २ र १२ का वासिन्दालाई सबैभन्दा बढी मर्का परेको छ भने लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकाका यात्रुलाई पनि सास्ती हुने गरेको छ । शुक्लाफाँटा नगरपालिका–१ बन्साहका वासिन्दा नरेन्द्र भट्टले एनपी साउद कञ्चनपुरमा रहँदासम्म सडक बन्द रहने भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले लेखेका छन्, ‘चुनावका बेला मात्र जनतामाझ आएर झूटा आश्वासन दिने, जितेर फर्की नहेर्ने एनपी साउद कञ्चनपुरमा हुञ्जेलसम्म कलुवापुर–बेलौरी सडकखण्ड बन्द रहनेछ । असुविधाका लागि क्षमाप्रार्थी छौं ।’
मन्त्री साउँद शनिबार झलारीबाट दैजी भएर बेलौरी गएपछि स्थानीय थप आक्रोशित भएका छन् ।