महेन्द्रनगर । भीमदत्त नगरपालिकामा विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बित कर्मचारी कार्यालयको कामकाज गरि रहेको खुलासा भएको छ । भीमदत्त नगरपालिकाको १४ औं नगर सभामा निलम्बित कर्मचारीलाई कार्यालयको काममा लगाएको खुलासा भएको छ ।
नगर सभा सदस्यहरुले निलम्बित कर्मचारीलाई कार्यालयको काममा लगाएको विषय उठाएका छन् । उनीहरुले नगर सभा अध्यक्ष एबम् भीमदत्तका मेयर पदम बोगटी र प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीसित जवाफ मागेका छन् ।
महाकाली नदीको रोयल्टी हिनामिना मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि केही महिना अघि भीमदत्तका कर्मचारी निलम्बनमा परेका थिए । उनीहरुमध्ये लेखा अधिकृत बिक्रम भण्डारी र प्रशासकीय अधिकृत नरेन्द्रदेब भट्टलाई कार्यालयको काममा लगाइएको भन्दै नगर सभामा असन्तुष्टि पोखिएको छ ।
नगर सभाका अध्यक्ष मेयर बोगटी र प्रमुख प्रशासकीय अधिकृत गौली दुबैले निलम्बित कर्मचारीलाई काममा लगाएको स्वीकार गरेका छन् । मेयर बोगटीले गल्ती भएको स्वीकार गर्दै क्षमा याचना गरेको नगर सभामा सहभागीहरुले बताए ।
प्रमुख प्रशासकीय अधिकृत गौलीले कर्मचारी अभावका कारण उनीहरु दुई कर्मचारीबाट सहयोग लिइएको प्रष्टीकरण दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत गौली सरुवा भइ सकेका छन् । उनी नगर सभापति रमाना लिएर जाने तयारीमा छन् ।
नगर सभा सदस्य रविन्द्र प्रसाद देबकोटाले निलम्बित कर्मचारीलाई काममा लगाएको भन्दै नगर नगर सभामा आपत्ति जनाएका थिए । उनले मेयर बोगटी र प्रमुख प्रशासकीय अधिकृत गौलीसित जवाफ मागेका थिए । देबकोटापछि अर्का नगर सभा सदस्य पदम बहादुर चन्दले पनि यस विषयमा कुरा राखेका थिए ।
देवकोटाले यो विषय उठाएपछि नगर सभाका अध्यक्ष बोगटीको हतास बनेको सहभागीहरुले बताए । नगर सभामा भने हल्लीखल्ली मच्चिएको उनीहरु बताउँछन् । नगर सभा सदस्यहरुले देबकोटाको भनाईलाई समर्थन गर्दै ताली बजाएका थिए । त्यसपछि मेयर बोगटी र प्रमुख प्रशासकीय अधिकृत गौलीले जवाफ दिएका थिए ।
नगरपालिका स्रोतका अनुसार कार्यालयले उनीहरु दुबैलाई हस्ताक्षर बाहेक सबै काम गर्ने गरी जिम्मेवारी दिएको थियो । निलम्बनमा परेको केही समयपछि उनीहरु काममा फर्किएका थिए ।
उनीहरुसंगै निलम्बनमा परेका अन्य कर्मचारी भने अहिलेसम्म कार्यालय गएका छैनन् । लेखा अधिकृत भण्डारी र प्रशासकीय अधिकृत भट्टले कार्यकक्षमा बसेर कामकाज गरेको नगर सभा सदस्यहरुको भनाई थियो ।
सुरुमा मेयर बोगटीको सचिवालयका राखिएका नायब तत्कालिन नायब जिन्सी शाखाबाट अधिकृत बढुवा भएर प्रशासनमा पुगेका थिए । अहिले भट्टले जिन्सी शाखाका जिम्मेवारी हेरि रहेको नगरपालिका स्रोतको भनाई छ ।
उनी बुधबार नगर सभाका दिन पनि नगरपालिका कार्यालयमा देखिएका थिए । कर्मचारीहरुका अनुसार उनी अधिकाँश समय जिन्सी र प्रशासन शाखामा बस्ने गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि तत्कालिन लेखा अधिकृत र लेखापाल निलम्बित भएपछि राजश्व शाखा प्रमुख भण्डारीलाई लेखा अधिकृतको जिम्मेवारी दिइएको थियो । उनी निलम्बनमा परेपछि भीमदत्तको लेखा शाखा कर्मचारी विहिन थियो ।
विशेष अदालतले लेखा अधिकृत भण्डारीबाट दुई लाख र भट्टलाई ५० हजार धरौटी लिएर तारेखमा छाडेको छ ।
लेखा शाखाको कामकाकाजका लागि दोधारा चाँदनी नगरपालिकाका लेखापाल गोबिन्द ऐरीलाई काजमा ल्याएर जिम्मेवारी दिइएको थियो । लेखा शाखामा अस्वभाविक दबाव आएको भन्दै ऐरीले गत कार्तिकबाट जिम्मेवारी छाडेका थिए ।