उद्घाटनमा रेकर्ड बनाउँदै मन्त्री साउँद

महेन्द्रनगर । परराष्ट्र मन्त्री एनपी साउँदले फेरि कञ्चनपुर आएर कृष्णपुर नगरपालिका स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गरेका छन् । यस अघि उनी तीन पटक उद्घाटन कार्यक्रमका लागि गृह जिल्ला आई सकेका छन् । उद्घाटनका लागि मन्त्री साउँद गृह जिल्ला आएको चौथो पटक हो । भवन उद्घाटनका लागि शुक्लाफाँटा नगरपालिका आउनु अघि पनि उनी गृह जिल्ला आएका थिए ।

पछिल्लो दुई महिना मंसिर र पुसमा मन्त्री साउँद चार पटक गृह जिल्ला आएर उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किएका छन् । उद्घाटनका कार्यक्रममा नबिराई सहभागी हुन थालेपछि मन्त्री साउँदलाई उद्घाटन मन्त्री भनेर कटाक्ष गर्न थालिएको छ ।

दुई महिनामा मन्त्री साउँद जिल्लाभरका सबै उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । शुक्लाफाँटा नगरपालिकाको प्रशासकीय भवन सुरु मन्त्री साउँदको उद्घाटन कार्यक्रममा सहभागिता मंगलबार कृष्णपुर नगरपालिकाको राष्ट्रपति शिल्ड उद्घाटनसम्म पुगेको छ । हालसम्मका उद्घाटन कार्यक्रममा मन्त्री साउँदले पुस १५ गते एकै दिन दुई कार्यक्रम उद्घाटन गरी रेकर्ड बनाएका छन् । त्यस बाहेक उनले गृह जिल्लामा एक÷एक कार्यक्रम उद्घाटन गरेका छन् ।

पुस १५ गते मन्त्री साउँदले कबर्ड हलमा प्याब्सन फेस्टिबल उद्घाटन गरेका थिए । त्यस अघि उनले शुक्लाफाँटा एफएमको वार्षिकोत्सव कार्यक्रम उद्घाटन गरेका थिए । मन्त्री साउँदले पुस १५ गते एकै दिन दुई कार्यक्रम उद्घाटनको रेकर्ड बनाएका छन् । हालसम्म उनी सहभागी सबै कार्यक्रम उनको मन्त्रालय बाहिरका छन् ।

शुक्लाफाँटा नगरपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि आउँदा मन्त्री साउँदले आरक्ष पीडित वासिन्दाको आलोचनाको तारो भएका थिए । आरक्ष पीडितले मन्त्री साउँदलाई भवन उद्घाटनपछि कलुवापुर हुँदै बेलौरी जान नदिन चक्काजाम गरेका थिए । त्यसपछि उनी दैजी आएर बेलडाँडी हुँदै बेलौरी भएर काठमाडौं फर्किएका थिए ।

साउँदले प्रतिनिधि सभा सदस्य निर्वाचनमा आरक्ष विस्थापित परिवारलाई पुनस्र्थापन गर्ने कागज बनाएर मत मागेका थिए । साँसद जितेर मन्त्री भएर पनि आरक्ष पीडितसित गरिएको सहमति कार्यान्वयन नभएपछि उनीहरु आक्रोशित छन् ।

आरक्ष पीडितको विरोध छलेर काठमाडौं फर्किएका साउँद त्यसपछि पुनर्वास नगरपालिकाको भवन उद्घाटन गर्न आए । पुनर्वास नगरपालिकाको भवन उद्घाटन गर्न आएका दिन मन्त्री साउँदको सचिवालयले शुक्लाफाँटाका आरक्ष पीडितको पुनस्र्थापनका लागि यही पुस महिनामा कार्यालय खोलेर काम सुरु हुने मिडियाबाजी गरेको थियो । मन्त्री साउँदको सचिवालयले वन तथा वातावरण मन्त्रालयलाई उद्धृत गर्दै मन्त्री साउँदले आफ्नो निर्वाचन क्षेत्रको आरक्ष पीडित समस्या समाधानका लागि गम्भीर चासो देखाएको समाचारमा उल्लेख गरिएको थियो ।

मन्त्री साउँद पुनर्वास आएर फर्किएपछि फेरि दुई पटक उद्घाटनका लागि गृह जिल्ला आएका छन् । मन्त्री साउँदको सचिवालयले भने अनुसार पुसको अन्तिम सातासम्म आरक्ष पीडित पुनस्र्थापनको काम अघि बढ्न सकेको छैन ।

पुस सकिँदासम्म काम सुरु नभएपछि मन्त्री साउँदको सचिवालयले आरक्ष पीडितको सम्भावित विरोधबाट बच्न नियोजित रुपमा समाचार सम्प्रेषण गरेको पुष्टि भएको छ ।

कबर्ड हलमा प्याब्सन फेस्टिबल उद्घाटन गरी फर्किएको एक सातापछि फेरि उनी कृष्णपुर आएका छन् । कृष्णपुर र शुक्लाफाँटा नगरपालिका साउँदको निर्वाचन क्षेत्रमा पर्छन् ।

उद्घाटनका यी कार्यक्रम अघि गृह जिल्ला आएका साउँदले हमास नियन्त्रणमा रहेका विपीन जोशीका आमा बुवालाई होटेल ओपेरामा बोलाएर भेट गरेपछि उनको चौतर्फी आलोचना भएको थियो । दुई दिनसम्म महेन्द्रनगर बसेका उनले जोशीका आमा बुवालाई होटेलमा बोलाएर भेटघाट गरी मुक्त गर्ने आश्वासन दिएका थिए ।

सामाजिक सञ्जाल फेसबकुमा मन्त्री साउँदलाई गरीबको घर जान नसक्ने भलादमी मन्त्री भन्दै आलोचना गरिएको थियो ।

मन्त्री साउँद बसेको होटेल ओपेराबाट भाँसीका जोशीको घर नजिक पर्छ । आफ्नै जिल्लाका परराष्ट्र मन्त्री जिल्ला आउँदा विपीनका आमा बुवाले मन्त्री घरमा आउने आश राखेका थिए । त्यस विपरित मन्त्रीका सहयोगीले होटेलमा बोलाएपछि उनी भेटन आएका थिए । विपीनका आमा बुवालाई होटेलमा भेट्न बोलाएका उनी घुमघामका लागि भने बेदकोट पुगेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

अहिले कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित मन्त्री साउँदको भीमदत्त नगरपालिका वासिन्दा हुन् । २०५१ को मध्यावधि निर्वाचनमा लज्जास्पद हारपछि निर्वाचन क्षेत्र छाडेका उनी हालसम्म कञ्चनपुरका सबै निर्वाचन क्षेत्रबाट चुनाव लडि सकेका छन् ।

मन्त्री भएपछि साँउदले आफ्ना आफ्नो निर्वाचन क्षेत्रमा पर्ने छेला औद्योगिक क्षेत्रमा चालु आर्थिक वर्षमा बजेट विनियोजन गर्न असमर्थ भएका छन् । बेदकोट नगरपालिकामा पर्ने छेला औद्योगिक क्षेत्र १० हजार बढीलाई रोजागरी दिने लक्ष्यका साथ सञ्चालन गर्ने तयारी छ । आफ्नो निर्वाचन क्षेत्रको सबैभन्दा ठूलो योजनालाई नै मन्त्री साउँदले नजर अन्दाज गरेका छन् ।

काँग्रेस केन्द्रीय साउँद गत बैशाखमा मन्त्री भएका हुन् । काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासिला उनी यस अघि सिँचाई मन्त्री, शिक्षा राज्य मन्त्री भई सकेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट दोस्रो पटक उनी निर्वाचित भएर मन्त्री भएका हुन् ।

कृष्णपुर नगरपालिकामा खेलकूद उद्घाटन गर्दैै उनले कृष्णपुरको विकास लागि केही न केही देखिने गर्ने काम गर्ने प्रतिबद्धता फेरि दोहो¥याएका छन् ।

सम्बन्धित
Loading...