
महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्का ऐठपुरस्थित महाकाली सिँचाईको किनारको बाटोमा मृत भेटिएका छन् । बिहीबार विहान वडा अध्यक्ष खड्का नहर किनारको बाटोमा मृत भेटिएका हुन् ।
वडा अध्यक्ष खड्का उनी आफंैले चलाई रहेको म १ प ४८५२ नम्बरको मोटरसाइकल नजिक सडकमा मृत भेटिएका छन् । खड्काका शवलाई महाकाली प्रादेशिक अस्पताल ल्याइएको छ ।
प्रहरीका अनुसार बिहान मर्निङ्गवाकमा निस्केका स्थानीयले जानकारी गराएपछि प्रहरी टोली घट्नास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापा आफैं घट्नास्थल पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले म१प ४८५२ नम्बरको मोटरसाईकल सहित मृत फेला परेको बताए । खड्काका परिवारले घट्ना छानबिनको माग गरेका छन् ।
२०७९ बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा खड्का वडा अध्यक्ष निर्वाचित भएका हुन् । काँग्रेसका निवर्तमान वडा अध्यक्ष सभापति खड्का भीमदत्तको नगर प्रवक्ता र सुशासन समितिका संयोजक थिए । उनी बिहीबार भीमदत्त नगरपालिकामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा अन्तिमसम्म सहभागी भएका थिए ।
वडा अध्यक्ष खड्का श्रीमति र दुई छोरा छन् । उनी काँग्रेसमा व्यवहारिक र इमान्दार नेताका रुपमा चिनिन्थे ।
