दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको टेण्डर मार्चमा हुने काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकको भनाई
भोजराज पन्त
महेन्द्रनगर । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माणका लागि अढाई महिनाभित्र ठेक्का हुने बताएका छन् ।
जिल्ला समन्वय समिति कञ्चनपुरको सभा कक्षमा समितिको कञ्चन दर्पण बुलेटिनको विमोचन गर्र्दै उनले आगामी मार्चसम्म सुख्खा बन्दरगाहको टेण्डर खोलिन बताएका हुन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद समेत रहेका लेखकले नेपाल भारत दुबै देशले सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको उल्लेख गरे ।
‘दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिटेल प्रोजेक्ट रिपोर्ट स्वीकृत भएको छ, कार्यक्रममा उनले भने, ‘मैले केही समय अघि राजदूतसित कुरा गर्दा मार्चमा टेण्डर हुने कुरा छ, डिपीआर तयार भइ सकेको छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दोधारा चाँदनी सख्खा बन्दरगाह भारतले बनाउने सम्झौता भएको थियो ।
कार्यक्रममा साँसद लेखकले कञ्चनपुरलाई दुई छिमेकी देशसित जोड्न सकिए विकासको सबैभन्दा ठूलो सम्भावना भएको उल्लेख गरे । उनले सुख्खा बन्दरगाहसंगै एकीकृत जाँचचौकी र छेला औद्योगिक क्षेत्र सञ्चालनमा जोड दिए ।
‘अब सुख्खा बन्दरगाह बन्छ, योसंगै छेला औद्योगिक क्षेत्र पनि सञ्चालनमा आउन जरुरी छ, औद्योगिक क्षेत्र सञ्चालन नभएर हामीले भारततिर पठाउने उत्पादन हुँदैन’ उनले भने ।
सुदूरपश्चिम प्रदेश जडीबुटीको सबैभन्दा बढी सम्भावना भएको क्षेत्र भएको उनको भनाई थियो । उनले आफूले केही वर्ष अघि भारतको हरिद्वारस्थित योग गुरु रामदेबको गोदाममा देखेको जडीबुटीमध्ये आधा सुदूरपश्चिम प्रदेशको रहेको जानकारी पाएको बताए ।
राजनीतिक विकासका लागि चाहिने उल्लेख गर्दैै उनले विकास समृद्धिका लागि हुने उल्लेख गर्दै महाकाली कोरिडोर निर्माणले कञ्चनपुर त्रिदेशीय नाका बन्ने दिशामा अग्रसर भएको बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा लगायतले मन्तव्य राखे ।
दोधारा चाँदनी नगरपालिकाको दोधारा चाँदनी नगरपालिकास्थित मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिनमा निर्माण हुने सुख्खा बन्दरगाह बनाउन पाँच अर्ब ७५ करोड लाग्ने अनुमान गरिएको छ ।
सन् २०२६ सम्म निर्माण सक्ने लक्ष्य लिइएको सुख्खा बन्दरगाहमा दुईवटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा भवन लगायत अन्य पूर्वाधार निर्माण गरिने भएका छन् । ती सबैको संरचना निर्माणका लागि ठेक्का आव्हान गर्न लागिएको हो ।
सुख्खा बन्दरगाह निर्माण हुने स्थलमा रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको छ । बन्दरगाह क्षेत्रमा एक हजार नौ सय ८९ रुख कटान गर्नुपर्ने हुन्छ ।
विसं २०६६ मा पहिलो पटक सरकारले दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेको थियो । स्थानीयको अवरोधका कारण अहिले मायापुरी र त्यसपछि पटक–पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन ।