भीमदत्त ६ को कार्य वाहक वडा अध्यक्ष बनाउन एकलौटी, बहुमत सदस्यको निर्णय अटेर गरी नगर प्रमुख स्तरीय निर्णयबाट जिम्मेवारी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाकाले बहुमत वडा सदस्यको निर्णय अटेर गरी देबकी जोशीलाई ६ नम्बर वडाको कार्य वाहक अध्यक्षको जिम्मेवारी दिएको छ । वडा अध्यक्ष महेन्द्र खड्काको निधन भएपछि जोशीलाई बुधबार नगर प्रमुख स्तरीय निर्णय गरी वडा सदस्य जोशीलाई कार्य वाहकको जिम्मेवारी दिइएको हो ।

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार बमले बुधबार जोशीलाई नगर प्रमुख स्तरीय निर्णय अनुसार कार्यवाह भएर कामकाज गर्ने जिम्मेवारी सहितको पत्र पठाएका छन् ।

भीमदत्तका मेयर पदम बोगटीको निर्णय अघि कार्य वाहकका लागि वडा समितिको बैठक बसेको थियो । बैठकमा सहभागी वडा सदस्यहरुमध्ये तीन जनाले दावी गरी अडान नछाडेपछि बहुमत सदस्यले ज्येष्ठ वडा सदस्य शारदा विकलाई कार्य वाहक बनाउने निर्णय गरेका थिए । त्यसमा कार्य वाहक अध्यक्षको दाबेदार वडा सदस्य देबकी जोशीले विमति राखेकी थिइन् ।

बैठकमा सहभागी वडा सदस्यका अनुसार कार्य वाहक अध्यक्ष जोशी विकलाई कार्य बाहक दिए आफू वडा कार्यालय नआउने भन्दै बैठकबाट बाहिरिएकी थिइन् । वडा कार्यालयबाट बाहिरिएपछि नगरपालिकाले जोशीलाई नगर प्रमुख स्तरीय निर्णय भन्दै कार्य वाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

वडामा सबै चार वडा सदस्य काँग्रेसका हुन् । उनीहरुमा विकपछि चन्द ज्येष्ठ सदस्य छन् । नगरपालिकाले वडा समितिको निर्णय अनुसार ज्येष्ठ सदस्य विकलाई कार्य वाहक दिने निर्णय विपरित जोशीलाई कार्य वाहक दिएको हो ।

भीमदत्तले जोशीलाई कार्य वाहक दिएपछि वडा सदस्य दिपेन्द्र जोशीले सामाजिक सञ्जाल फेसबुकमा वडा समितिको निर्णय अटेर गरिएको गुनासो गरेका छन् । उनले शक्तिको आडमा वडा समितिको निर्णय अटेर गरी एकलौटी गरिएको फेसबुकमा उल्लेख गरेका छन् ।

भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीलाई उनले व्यङ्ग्यात्मक रुपमा बधाई पनि दिएका छन् । उप मेयर जोशीले जोशीलाई कार्य वाहक बनाउन सक्रिय रुपमा लागेको वडा सदस्यहरु बताउँछन् ।

भीमदत्त नगरपालिकामा जोशीलाई कार्य वाहक दिन मेयर उप मेयर सहित केही वडा अध्यक्षहरुबीच विहान छलफल भएको थियो । भीमदत्त नगरपालिका १५ का वडा अध्यक्ष भुवन भट्टले नगरपालिकामा केही वडा अध्यक्ष सहित छलफल गरी कार्य वाहक अध्यक्षको जिम्मेवारी दिइएको बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वडा अध्यक्षको पद रिक्त भएमा वडा सदस्यहरुमध्येबाट छनौट भएका सदस्यले कार्य वाहक भएर कामकाज गर्न सक्ने उल्लेख छ ।

सम्बन्धित
Loading...