महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ४ स्थित प्राचिन सिद्धनाथ बैजनाथ मन्दिरमा शुक्रवार कृष्ण प्रतिपदाको अवसर पारेर प्राण प्रतिष्ठाको कार्यक्रम गरी भगवान शिवको मुर्ति स्थापना गरिएको छ ।
पञ्च ब्राम्हणले मन्त्रोच्चारण गरी भगवान शिवको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन । स्थानिय भक्तजनहरुले चन्दा सङ्कन गरी मन्दिर निर्माणसंगै भारतबाट अराध्यदेव शिवको सिंहमरमरको मूर्ति ल्याएका हुन । मूर्ति संगै मन्दिरमा शिव लिङ्ग समेत स्थापना गरिएको छ ।
मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा नगर उप प्रमुख कल्पना पन्त, नगर प्रवक्ता लाल बहादुर ऐर, वडा अध्यक्ष कमल ठकुल्ला, दान सिंह ऐर, रमेश ऐर, नरेन्द्रप्रसाद चौधरी लगायत सहभागी भएका छन् ।
कार्यक्रममा सहभागी सबै अतिथिहरुलाई मन्दिरका तर्फबाट प्रसादका रुपमा सेल रोटी, फलफुल लगायत उपलव्ध गराईएको थियो । अतिथिहरुलाई समाजसेवी करन सिंह ऐरले दोसल्ला ओढाएर सम्मान प्रकट गर्नु भएको थियो । सिद्धनाथ बैजनाथ मन्दिर यस क्षेत्रकै प्राचिन मन्दिरका रुपमा रहेको छ ।
बस्ती बस्न शुरु भए संगै वषौं देखि स्थानिय बासिन्दाले काठको मन्दिर निर्माण गरी पूजा आजा गर्दै आएको सामाजसेवी करन सिंह ऐरले बताए ।
उनका अनुसार स्थानिय बासिन्दाले १० लाख बढी चन्दा संकलन गरी मन्दिर लगायतको निर्माण गरेका छन । मन्दिरको भौतिक पूर्वाधार विकासमा वडा कार्यालयका तर्फबाट तीन लाख बराबरको सहयोग गरिएको छ ।
मन्दिरमा भजनकिर्तन गर्नका लागि हल संगै मन्दिरको चारै तिर पर्खाल निर्माण र गेट निर्माणको कार्यका लागि दातृ निकायको सहयोगको आवश्यकता रहेको समाजसेवी मधु बोहराले बताए । मन्दिरको जग्गा पाँच कट्टा क्षेत्रफलमा रहेको छ ।