महेन्द्रनगर । तेस्रो मुख्मन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा कोशी खेलकूद परिषद्का सदस्य सचिव हंशराज बाग्लेले भलिबलमा सुदूरपश्चिमका लागि स्वर्णिय युग भएको धारणा राखेका थिए । त्यसका पछाडि उनले नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष जितेन्द चन्द र भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्टको नाम लिएका थिए बाग्लेले ।
‘नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष आदरणीय जितेन्द्र चन्द र भलिबका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्ट यहींको हुनु हुन्छ, यसैले अहिले सुदूरपश्चिमका लागि भलिबलमा स्वर्णिम युग छ ।’
भलिबल संघका केन्द्रीय अध्यक्ष चन्द र भट्ट दुबै भीमदत्त नगरपालिका हुन् । उनीहरु दुबै जनाको गृह नगरमा आइतबारदेखि पहिलो पटक तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता सम्बन्धि जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा गत महिना सहभागी भएका चन्द आइतबार भने खराबका मौसमका कारण सहभागी हुन पाएन । भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सिह धामीले उनको शुभ कामना मन्तव्य सुनाएका थिए ।
भलिबलका राष्ट्रिय प्रशिक्षक भट्ट प्रतियोगिता महेन्द्रनगरमा आयोजना गर्ने निर्णय भएपछि सक्रिय रुपमा लागेका छन् । महेन्द्रनगर खुला मञ्चमा प्रतियोगिता गराउन प्रशिक्षक भट्टले सुदूरपश्चिम प्रदेश खेलकूद परिषद्सित पटक पटक आग्रह गरेका थिए । दुई पटक लगातार धनगढीमा गरिएको प्रतियोगिता पहिलो पटक महेन्द्रनगरमा गरिएको हो ।
‘२०६९ देखि भलिबलको कुनै ठूलो प्रतियोगिता भएको छैन, त्यसपछि अहिले यो प्रतियोगिता हुन लागेको छ’ शनिबार प्रतियोगिता तयारी सम्बन्धि जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘यो प्रतियोगिता नेपाल अधिराज्यकै उत्कृष्ठ प्रतियोगिता हुन्छ ।’
प्रशिक्षक भट्टले निर्मला पन्त हत्या प्रकरण, विभिन्न आन्दोलनका कारण कञ्चनपुरको छवि देशभर राम्रो नभएको भन्दै प्रतियोगिताले त्यसलाई चिर्ने विश्वास व्यक्त गरेका थिए ।
भलिबलका राष्ट्रिय खेलाडी भएपछि कञ्चनपुरमा लामो समय भलिबल प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका भट्ट राष्ट्रिय प्रशिक्षक भएपछि महिला टीमलाई अन्तर्राष्ट्रिय उपाधि जिताएका थिए । उनी आफैंले पनि १२ वर्ष नेपाली राष्ट्रिय भलिबल टीमबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका हुन् । खेल जीवनबाट सन्यास लिएपछि उनी तीन दशकदेखि प्रशिक्षक छन् ।
कञ्चनपुरमा भलिबल विकास र प्रर्वद्धनमा प्रशिक्षक भट्टको योगदान महत्वपूर्ण रहेको भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सिह धामीले बताए । प्रशिक्षक भट्ट र भलिबलका राष्ट्रिय खेलाडी मोहन थापा सक्रियतामा दुई दशक अघि कबर्ड हलमा भलिबल प्रशिक्षक केन्द्र स्थापना गरिएको धामीको भनाई छ । थापा कञ्चनपुर जिल्ला भलिबल संघका तत्कालिन अध्यक्ष हुन् ।
भलिबल प्रशिक्षक केन्द्र स्थापनापछि प्रशिक्षक भट्टले ६० को दशकमा भलिबल खेल्न अग्लो उचाई(हाइट) भएका युवाको खोजी अभियान चलाएका थिए । उनको त्यो अभियान त्यति बेला लम्बु खोज अभियानका नाममा चर्चित भएको थियो ।
भलिबलका नयाँ प्रतिभावान खेलाडी जन्माउन अग्लो उचाई भएका युवाको खोजीका लागि अभियान सञ्चालन गरिएको थियो ।
भीमदत्त नगरपालिका १५ गोबरैयाका भट्ट हक्की र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनी जगदीयश गुरुको नामले परिचित छन् । प्रशिक्षक भट्टका विद्यार्थी कालमा सहकर्मी दिपेन्द्र भण्डारीले उनको सानैदेखि भलिबल खेलाडी लगाव भएको बताए । ‘त्यो बेला म वहाँ जगदीशजी सरस्वती मावि परखेडीमा पढेका थियौ, त्यो बेलादेखि नै वहाँको भलिबलमा लगाव थियो’ उनले भने ।
कबर्ड हलमा भलिबल खेलाडीका लागि छात्राबास निर्माणको लक्ष्य राखेर अघि बढेका उनी भलिबल प्रशिक्षक केन्द्रबाट प्रतिभावान खेलाडी जन्मिएको बताउँछन् । अहिले प्रशिक्षण केन्द्रमा बसेर २०–२२ जना खेलाडी प्रशिक्षण गर्दै आएका छन् ।
भट्टले भलिबल खेलाडी उत्पादनका लागि क्याम्पस र विद्यालयसम्म अभियान चलाएका छन् । अहिले उनको आग्रहमा ६० जना खेलाडी निःशुल्क अध्ययन गरि रहेका छन् । उनीहरुमध्ये विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्थापन गरिएको उनी बताउँछन् ।
प्रशिक्षक केन्द्रबाट दैनिक ८० देखि ९० जना महिला तथा पुरुष खेलाडी प्रशिक्षणमा सहभागी हुन्छन् । भलिबल प्रशिक्षण केन्द्रमा स्वमय् सेवक प्रशिक्षकका रुपमा सिनियर खेलाडीद्धय लाल बहादुर बटाला र दीपेन्द्र भट्टले सहयोग गरेका छन् । बटाला तेस्रो मुख्यमन्त्री कपमा सुदूरपश्चिम प्रदेशको टोलीको प्रशिक्षक छन् ।
कञ्चनपुरमा उत्पादन भएका भलिबल खेलाडी करिब ५० प्रतिशत विभिन्न विभागीय टिमबाट खेलि रहेका छन् । त्यस बाहेक एक हजार भन्दा बढी खेलाडी सेना, प्रहरी र सशस्त्र प्रहरीमा जागिरे भएका छन् ।
भलिबलको राष्ट्रिय प्रशिक्षक भएपछि प्रशिक्षक भट्टलाई आफ्नो गृह नगरमा राष्ट्रिय स्तरको प्रतियोगिता गराउने धोको थियो । भलिबलको राष्ट्रिय प्रशिक्षक हुनु अघि उनले २०६९ मा खुला मञ्चमा इण्डो नेपाल भलिबल प्रतियोगिता गराएका थिए । त्यसमा नेपाल र भारतका तीन÷तीन टीम सहभागी भएका थिए । त्यस अघि खुला मञ्चमा २०४५ सालमा अञ्चल स्तरीय भलिबल प्रतियोगिता भएको थियो ।
त्यसपछि १२ वर्षपछि खुला मञ्चमा आइतबारदेखि भलिबल प्रतियोगिता सुरु भएको हो । सुदूरपश्चिम खेलकूद परिषद्ले गरेको प्रतियोगितालाई कञ्चनपुर जिल्ला भलिबल संघले व्यवस्थापन गरेको छ ।
कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले आइतबार उद्घाटन समारोहमा २०४५, २०५० र २०५५ को क्रेज आएको उल्लेख गर्दै खुसी व्यक्त गरेका थिए ।
माघ २० गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीय सहित सात प्रदेशका एक÷एक गरी १० टीम सहभागी भएका छन् । २०७४ मा भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको हो ।