लाल बहादुर बटालाको भलिबल लत

lotus institute

महेन्द्रनगर । तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा मंगलबार सुदूरपश्चिम प्रदेश गण्डकी प्रदेशसित खेल हारेपछि प्रशिक्षक लाल बहादुर बटालाको अनुहार एकाएक निन्याउरो बन्यो । उत्साहका साथ मैदान प्रवेश गरेका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसकेपछि उनका लागि अनपेक्षित भयो । ‘आज मलाई खान नि मन छैन,’ खेल सकिएपछि खुला मञ्चमा भेटिएका प्रशिक्षक बटालाले भने,‘यस्तो प्रदर्शन त सोेचेको थिएनौ ।’

तीन विभागीय टीमपछि प्रतियोगितामा पाँचौ बलियो ठानिएको सुदूरपश्चिम प्रदेशको टीमलाई गण्डकीसित मंगलबार पराजित भएको हो । सुदूरपश्चिमको भलिबल टीमका प्रशिक्षक बटालाले विगतका प्रतियोगिताका आधारमा यस पटक खेलाडीलाई उत्साह पूर्वक मैदानमा पठाएका थिए ।

morning glory

महेन्द्रनगरमा प्रतियोगिता गर्ने निर्णय भएपछि बटालाले धनगढीमा २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराएर प्रशिक्षण दिएका थिए । बन्द प्रशिक्षणमा सहभागीमध्ये १४ जना मुख्यमन्त्री कपका लागि छनौट गरिएका हुन् । दार्चुलाका नवराज धामीको कप्तानीमा सुदूरपश्चिमको टीम मैदानमा छ ।

‘प्रतियोगिताका लागि सुदूरपश्चिमका सबै जिल्लाबाट ४२ खेलाडीको नाम संकलन गरी त्यसबाट २२ जनालाई बन्द प्रशिक्षणका लागि छानेका थियौ’ उनले भने,‘त्यसमध्ये १४ जनालाई अहिले मुख्यमन्त्री कप खेलि रहेका छन् ।

सुदूरपश्चिम खेलकूद परिषद्को भलिबद प्रशिक्षक हुन अघि बटालाले डेढ दशकसम्म भलिबलका विभिन्न प्रतियोगिता खेलेका थिए । तीन वर्षदेखि उनी प्रशिक्षक भएर खेलाडीहरुलाई भलिबल सिकाउँदै आएका छन् ।

‘मैले २०६४ देखि लगातार नै खेले, जिल्ला, प्रदेश, राष्ट्रिय स्तरका सबै प्रतियोगिता खेले, जगदीश गुरु मेरा प्रशिक्षक हुनु हुन्छ’ उनले सुनाए,‘खेल खेल्न भन्दा प्रशिक्षण कठिन हुने रहेछ, धेरै खेलाडीलाई सक्नु पर्छ, टीम मिलाउनु पर्छ ।’

भीमदत्त नगरपालिका ७ हल्दुखालका बटालाले जन्मथलो अछामको साँफेबगर १३ बाब्लामा बाल्यकालमा भलिबल खेल्दा प्रशिक्षक हुने सपना देखेका थिएनन् । प्राथमिक तहसम्म पढ्दा भलिबल हेर्न मरिहत्ते गर्ने उनी कक्षा ८–९ पढ्दा भलिबल खेल्न थालि सकेका थिए । २०६३ मा एसएलसी पास गरी महेन्द्रनगर आउन अघिसम्म उनी अछाममा भलिबल खेलाडीको परिचय कमाई सकेका थिए ।

‘सानैमा भलिबल हेर्थे, ८–९ पढ्दा खेल्न थाले, त्यति बेला लहलहैमा भलिबल खेले, प्रशिक्षक होला भन्ने कहिल्यै सोचिएन, त्यस्तो धोको पनि कहिले आएन’ उनले भने,‘क्याम्पस पढ्दा पढाईमा समस्या त हुन्थ्यो, तर यो नशा जस्तै हुँदो रहेछ, भलिबल देखे खेल्न मन लागि हाल्छ ।’

१७ वर्ष अघि प्रवेशिका परीक्षा उत्तीर्ण गरी महेन्द्रनगर आएका बटालाले तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा अध्ययन र भलिबल दुबैलाई एक साथ अघि बढाएका हुन् । सिद्धनाथ बहुमुखी क्याम्पसको टीमबाट उनले २०७० सम्म जिल्ला, प्रदेश र विश्वविद्यालय स्तरीय प्रतियोगितामा खेलेका थिए ।

Mahendranagar

प्रशिक्षक बटाला भन्छन्,‘२८ औं राष्ट्रिय पुरुष भलिबल सहित राष्ट्रिय स्तरमा प्रतियोगिता खेले, साना ठूला सबै प्रतियोगिता खेलेको छु’ उनले भने ।

कबर्ड हलको भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिएका उनले पाँच वर्ष अघि भारतको पटियला गएर एक वर्षको डिप्लोमा इन स्पोर्टस कोष अध्ययन गरेका थिए । भलिबल प्रशिक्षणका लागि पटियला कोर्ष अनिवार्य चाहिन्छ ।

पटियला अध्ययन अघि र पछिको भलिबलमा ठूलो भिन्नता देखेको प्रशिक्षक बटालाले सुनाए । मैले जुन भलिबल बुझेको थिए, त्यहाँ गएर पढेपछि यथार्थमा भलिबल बुझे, मैले पहिला बुझेको भन्दा अध्ययनपछि बुझेको भलिबल फरक पाए’ उनले भने,‘सबै कुरा समय अनुसार परिवर्तन हुने रहेछ ।’

प्रशिक्षक बटाला अहिले भलिबलका प्रशिक्षकहरुलाई पनि प्रशिक्षक दिन्छन् । पटियला अध्ययनपछि उनले केही समय कोशी प्रदेशमा भलिबल प्रशिक्षण दिए । भलिबल संघले उनलाई कोशी पठाएको थियो । त्यस अघि उनी कबर्ड हलको भलिबल प्रशिक्षण केन्द्रमा स्वयम् सेवक प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।

प्रशिक्षक बटाला भलिबल भविष्य भएको खेल भएकाले यसलाई कसैले पनि रोक्न नसकिने बताउँछन् । ‘भलिबल भविष्यको खेल हो, यो वातावरण सुहाउँदो छ’ उनी भन्छन्,‘यो कसैले चाहेर राुेक्न सक्दैन, क्रिकेटलाई जसरी मिडियाले प्रचार गरी बनाएको खेल होइन् ।’

सरकारले २०७४ मा भलिबलाई राष्ट्रिय खेल घोषणा गरेको थियो । भबिललमा बर्सेनी आकर्षण बढेको अनुभव सुनाउँदै प्रशिक्षक बटाला भलिबल लगाव र सहकार्यले सफलता हासिल गर्न सकिने बताउँछन् ।

भलिबल खेल र खेलाडीलाई सरकारले अपेक्षित ध्यान नदिएकोमा भने उनी असन्तुष्टि पोख्छन् । ‘खेल भविष्यको भएर मात्रै भएन, राज्यले ध्यान दिनु पर्ने आवश्यकता छ,’ उनले भने,‘खेलाडीको भविष्यलाई ध्यान दिने हो भने भलिबल अझै फस्टाउँछ ।’

भलिबल खेलको विकासका लागि समय, परिस्थिति र राजनीति सबै अनुकूल हुनु पर्ने उनको भनाई छ । प्रशिक्षक बटालाले प्रशिक्षण दिएका अधिकाँश खेलाडी अहिले मुख्यमन्त्री कप खेलि रहेका छन् ।

उनले प्रशिक्षण दिएका अर्जुन नेपालीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलि सकेका छन् । भलिबलका राष्ट्रिय टीमका अर्जुन सहित वसन्त जोशी, सन्तोस महताले पनि बटालाको प्रशिक्षण लिएका छन् ।

भलिबललाई राष्ट्रिय खेल घोषणापछि आफू जीवनमा सबैभन्दा बढी उत्साहित भएको उनी सुनाउँछन् । उनले आफ्नो जीवन भलिबलमै बिताउने  अठोट लिएका छन् । ‘मलाई संसारमा धेरै तलब, सेवा सुविधा दिए पनि मलाई अन्त जान मन छैन’ उनले भने ।

saark school
सम्बन्धित
Loading...