बागफाँटाको पञ्चकृत बैजनाथ माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव, अभिभावक सहित विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान
महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटास्थित पञ्चकृत बैजनाथ माध्यमिक विद्यालयले ४१ औं वार्षिकोत्सव मनाएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम गरिएको छ ।
कार्यक्रममा पूर्व मन्त्री रावलले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए । उनले शिक्षा विना समाज र राष्ट्रले प्रगति गर्न नसक्ने उल्लेख गर्दै प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोसी साउँदको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा उत्कृष्ठ अभिभावक सहित विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको छ । विद्यालयले रेवती सुनार र शिवानी चौधरीलाई उत्कृष्ठ अभिभावक रुपमा सम्मान गरेको छ ।
यसैगरी शिक्षक धर्मानन्द जोशी, रुकमणी जोशी, रमा पन्त, कार्यालय सहयोगी गोविन्द सिह राना, भीनपा १९ का पूर्व वडा अध्यक्ष दामोदर महरा सहित पूर्व वडा सदस्य सन्तोसी साउँद, चम्पा सुनार, साहेब राना, प्रमानन्द भट्ट, मदन पुरस्कार विजेता नर बहादुर साउँद, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मदनलाल चौधरीलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री रावलले सबैलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । मदन पुस्कार विजेता साउँद कार्यक्रममा अनुपस्थित भए । विद्यालयका प्रधानाध्यापक गोविन्द सिह पुजाराले साउँदको घरमा सम्मान पत्र पुगाइने बताए ।
प्रधानाध्यापक पुजाराले कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले आदिवासी जनजाति र दलित समुदायका अधिकाँश बालबालिका विद्यालयमा अध्ययनरत रहेको बताए ।
शिशुदेखि कक्षा १० सम्म २ सय ७३ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले लामो समयदेखि जग्गाधनी पूर्जाको लागि पहल गर्दै आए पनि हालसम्म पाउन नसकेको प्रधानाध्यापक पुजाराले बताए । विद्यालयले एक बिगाहा जमिन भोगचलन गर्दै आएको छ ।
तत्कालिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलडाँडी गाउँपालिका क्षेत्रबाट विस्थापित वासिन्दालाई पुनस्र्थापन गरिएपछि बालबालिकाका लागि विद्यालय स्थापना गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साउँदले कमजोर अधिकाँश बालबालिका कमजोर अवस्था भएका समुदायका अध्ययनरत भएको उल्लेख गर्दै विद्यालयको शैक्षिक र भौतिक विकासमा व्यवस्थापन समितिले पहल गर्दै आएको बताइन् ।
अध्यक्ष साउँदले विद्यालयमा भवन, शौचालाय, खानेपानी, शिक्षक दरबन्दी लगायतका सबै कुराको समस्या भएको उल्लेख गर्दै भनिन्,‘अभिभावकको अवस्था पनि राम्रो छैन, त्यस कारण हामी सबैले यो विद्यालय सुधारका लागि सहयोग गर्न पर्ने आवश्यकता छ ।’
विद्यालयका शिक्षक टेक चन्दले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक धर्मानन्द जोशीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।