
महेन्द्रनगर । कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार भन्ने नारा सहित खुला मञ्चमा १५ औं सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको छ । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद पूर्व मन्त्री रमेश लेखकले मेला उद्घाटन गरेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघले मेला आयोजना गरेको छ । फागुन ३० गतेसम्म मेला सञ्चालन हुनेछ । नेपाल उद्योग बाणिज्य महासंघ र भीमदत्त नगरपालिका मेलाको संरक्षक छन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लेखकलाई हजारी फूलको १५ किलोको माला लगाइएको छ । आयोजक बाणिज्य संघले लेखकलाई कञ्चनपुरक उद्योग व्यवसायसंग विभिन्न १५ बुँदे माग सहित लेखकलाई माला लगाएको हो ।
कार्यक्रममा साँसद लेखकले कञ्चनपुरको विकासका लागि राजनीतिक गर्न नहुने बताए । ‘यो जिल्ला रणनीतिक महत्व बोकेको जिल्ला हो, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्दैछ, त्यहाँबाट महाकाली कोरिडोर हुँदै उत्तर चीनसम्म पुग्न सकिन्छ’ उनले भने, ‘औद्योगिक ब्यापार मेला र विकासमा राजनीति गर्नु हुन्न, हामी सबै मिलेर विकास गर्नु पर्छ ।’
गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले मेलाको उद्घाटन गरेका थिए । यस पटक पनि संघले प्रधानमन्त्री दाहाललाई मेला उद्घाटनका लागि निमन्त्रणा गरेका थिए ।
उद्घाटनमा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले औद्योगिक व्यापार मेलाबाट आर्थिक कारोबार प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले सुदूरपश्चिम क्षेत्रले मौलिक धर्म, संस्कृति, प्रर्बद्धन गर्नु पर्नेमा जोड दिए ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावलले सुख बन्दरगाह निर्माण गरी सुदूरपश्चिको आर्थिक क्रान्ति गर्नु पर्ने बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बीर बहादुर थापा(पातल), नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंग बहादुर मल्ल लगायतले शुभ कामना मन्तव्य दिए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको छ । मेलामा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार लगायतका विभिन्न वस्तु र सेवाका तीन सय बढी स्टल राखिएका छन् ।
संघका जोशीले स्थानीय वस्तु र सेवाको प्रर्वद्धन गरी आर्थिक क्षेत्रको विकासका लागि महोत्सव हुँदै आएको बताए ।
महोत्सवमा ५ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । दुई लाख बढी दर्शकले महोत्सव हेर्ने अनुमान गरिएको छ । संघले विद्यार्थीलाई ५० र अन्यलायृ एक सय रुपैँया टिकट लगाएको छ ।
