कञ्चनपुरमा पनि एमाले अधिवेशन सर्वसम्मत बनाउन नेताहरुमाथि दबाव, केन्द्रीय नेताहरुले थाले छलफल

महेन्द्रनगर । एमाले कञ्चनपुरको बुधबारदेखि हुन लागेको नवौ जिल्ला अधिवेशन सर्वसम्मत बनाउन नेताहरुमाथि दबाव परेको छ । बैतडीमा एमालेको जिल्ला अधिवेशन सर्वसम्मत भएपछि एमाले नेता कार्यकर्ताले कञ्चनपुरमा पनि सर्वसम्मत बनाउन नेताहरुलाई दबाव दिएका हुन् ।

बैतडीमा अधिवेशन सकिएपछि सामाजिक सञ्जाल फेसबुकमा नेताहरुले कञ्चनपुर अधिवेशन सर्वसम्मत बनाउनु पर्ने लबिङ्ग गरेका छन् । एमाले नेता मोहन रावल, हिरा चन्द लगायतले फेसबुकमा लेखेर अधिवेशन सम्मत बनाउन सकिने धारणा राखका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य रावलले नेताहरु सबै छलफल गरी अघि बढेपछि नवौ अधिवेशनसम्म सर्वसम्मत हुन सक्ने बताए । ‘बैतडीमा सर्वसम्मत भयो, कञ्चनपुरमा नहुने कुरा छैन’ उनले भने ।

एमाले कञ्चनपुरका इन्चार्ज पोलिटब्युरो सदस्य नारदमुनिक रानाले केही दिन अघि पत्रकार सम्मेलनमा एमाले अधिवेशन सर्वसम्मत बनाउने बताएका थिए । आठौं अधिवेशनमा दुई गुटबीच चुनावी प्रतिस्पर्धा भएपछि एमाले कमजोर भएकाले अधिवशेन सर्वसम्मत बनाउन नेताहरु आन्तरिक छलफलमा लागि सकेका छन् ।

एमाले नेताहरुका अनुुसार केन्द्रीय नेताहरु अधिवशेन उद्घाटन समारोह र सर्वसम्मतका लागि सहमति जुटाउन महेन्द्रनगरको एक होटेलमा छलफलमा बसेका छन् ।

छलफलमा कञ्चनपुर इन्चार्ज राना सहित पोलिटब्युरो सदस्य निरुदेबी पाल, केन्द्रीय सदस्य कमला बोहरा लगायतका नेताहरु सहभागी छन् । एमाले केन्द्रीय कमिटिमा कञ्चनपुरका ६ नेता केन्द्रीय सदस्य छन् । उनीहरुमध्ये सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावल र निरुदेबी पाल पोलिटब्युरो सदस्य छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने भएका छन् । उद्घाटन अघि ओली दोधारा चाँदनी लगायतका क्षेत्रमा निरीक्षण गर्ने कार्यक्रम छ ।

सम्बन्धित
Loading...