एमाले कञ्चनपुरको नवौ अधिवेशन बिहीबार उद्घाटन, विहान आउँदै अध्यक्ष ओली

महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन बिहीबारदेखि सुरु हुन लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो संविधान चोकमा अधिवेशन उद्घाटन गर्ने भएका छन् ।

अध्यक्ष ओली विहान काठमाडौं महेन्द्रनगर पुग्ने गरी कार्यक्रम तय गरिएको छ । संविधान चोकमा अधिवेशन उद्घाटन अघि अध्यक्ष ओली दोधारा चाँदनी पुगेर सुख्खा बन्दरगाह निरीक्षण र वडा कार्यालय भवन उद्घाटन गर्ने छन् ।

अध्यक्ष ओलीसंगै केन्द्रीय सचिवद्वय छविलाल विश्वकर्मा र लेखराज भट्ट लगायतका नेताहरु उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । एमाले केन्द्रीय कमिटी सदस्य भएका कञ्चनपुरका सबै नेता उद्घाटन सहभागी हुने छन् । उनीहरु महेन्द्रनगरमा छन् ।

एमाले पोलिटब्युरो सदस्य कर्ण थापा, केन्द्रीय सदस्य एबम् उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, प्रदेश अध्यक्ष कृष्ण जैसी लगायतका नेताहरु पनि सहभागी हुने नेताहरु बताउँछन् ।

संविधान चोकमा अधिवेशन उद्घाटनका लागि मञ्च तयार गरिएको छ । यस अघि अधिवेशन उद्घाटन समारोह खुला मञ्चमा गर्ने भनिए पनि कञ्चनपुर उद्योग बाणिज्य संघको मेलाका कारण संविधान चोकमा गरिएको हो ।

एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख कर्ण बहादुर चन्दले अधिवेशन उद्घाटन समारोहको सबै तयारी भएको बताए । ‘प्रमुख अतिथिज्यू भोलि विहान पुग्नु हुन्छ, उद्घाटनको सबै तयारी पूरा भएको छ’ उनले भने,‘सबै नेता कार्यकर्ता तयारीमा छौ ।’

जिल्ला अधिवेशनका लागि ४ सय ६४ प्रतिनिधि छनौट गरिएका छन् । एमालेले खुला, महिला, जन वर्गीय संगठन र आयोजक कमिटीबाट प्रतिनिधि छनौट गरेको हो । जिल्ला कमिटीले २३ जना मनोनित नगरेपछि ४ सय ६४ प्रतिनिधि भएका हुन् । मनोनित प्रतिनिधिमा आकाँक्षी धेरै भएपछि जिल्ला कमिटीले प्रतिनिधि मनोनित नगरिएको हो ।

बुधबार एमाले जिल्ला कमिटी बैठकमा प्रतिनिधि मनोनित सम्बन्धि छलफल भने गरिएको थियो । बैठकले एमाले जिल्ला कमिटीको आकार घटाउने प्रस्ताव छलफल गरी अधिवेशन बन्द सत्रमा लैजाने निर्णय गरेको छ ।

दुई दिनसम्म चल्ने अधिवेशनबाट एमाले जिल्ला कमिटी चयन गरिनेछ । दुई वर्ष अघि आठौं अधिवेशनमा एमालेका दुई गुटबीच चुनावी प्रतिस्पर्धा भएको थियो । अधिवेशनका दुई गुटका कारण व्यापक गुटबन्दी भएपछि यस पटक नेताहरु अधिवेशन सर्वसम्मत गराउन लागेका छन् ।

बिहीबार एमाले कञ्चनपुर इन्चार्ज पोलिटब्युरो सदस्य नारदमुनि रानाले कञ्चनपुरका केन्द्रीय सदस्यलाई बोलाएर सुझाव मागेका छन् । सबैले सर्वसम्मत अधिवेशन बनाउनु पर्नेमा जोड दिएको नेताहरु बताउँछन् ।

कञ्चनपुर इन्चार्ज राना अधिवेशन सर्वसम्मत बनाउने यस अघि घोषणा गरि सकेका छन् । एमाले बैतडीको अधिवेशन सर्वसम्मत भएपछि नेताहरु दबावमा परेका छन् । कञ्चनपुरमा एमालेका दुई पोलिटब्युरो सदस्य छन् ।

एमाले अध्यक्ष ओलीले सर्वसम्मत जिल्ला अधिवेशन बनाउन अप्रत्यक्ष निर्देशन दिएको नेताहरु बताउँछन् । अध्यक्ष ओलीसित कञ्चनपुरका सबै केन्द्रीय नेताहरु सर्वसम्मत बनाउने वाचा गरी फर्किएका हुन् । अध्यक्ष ओलीले केही दिन अघि उनीहरु सबैलाई बालकोट बोलाएर अधिवेशनबारे जानकारी लिएका थिए ।

सम्बन्धित
Loading...