महेन्द्रनगर । महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण कार्य फेरि सुरु भएको छ । ठेकेदार कम्पनीले भुक्तानी नपाएको भन्दै पाँच महिना अघि निर्माण कार्य बन्द गरेको थियो ।
केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम ६ महिनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको हो ।
६ वर्ष अघि २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर छ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।
पुल निर्माण ठेक्काको अन्मित म्याद चैत १४ गतेका लागि चौथो पटक थप गरिएको थियो । चौथो पटक म्याद सकिन अघि केही दिन अघि मात्रै पुल निर्मँण सुरु गरिएको हो ।
२०७४ मा पुल निर्माण सुरु गरेपछि ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै तीन पटक म्याद थप गरेको थियो ।
महाकाली पुल आयोजनाका अनुसार गत वर्षको काम गरे बापतका साढे आठ करोड रकम केही दिन कम्पनीलाई भुक्तानी दिइएको छ । पुलको दुबैतिरको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्रे गर्न बाँकी छ ।
ठेकेदारले कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृति लगायतका कारण देखाउँदै पुल निर्माणमा ढिलाई गरेको हो ।
तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको छ। पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीयस्थल हुने गरी पोखरी निर्माण गरिएको छ ।
पसलको उत्तरतर्फ एक वर्गकिलोमिटर भन्दा ठूला दुई वटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्गकिलोमिटरका दुई वटा पोखरी निर्माण भएका छन्। गएको बर्सातपछि पोखरीको डिजाइनीमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ। ठेकेदार कम्पनीले अस्वभाविक भेरिएसन गराउन खोजेको आशंका बाहिरिएको थियो ।