
महेन्द्रनगर । मुक्त हलिया सञ्जाल र नागरिक समाज संगठनहरुलाई कानुनी सचेतना तालिम प्रदान गरिएको छ । राष्ट्रिय मुक्त हलिया महासंघ र राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले आईडब्लूएफकोे आर्थिक सहयोगमा शुक्रबार तालिम दिएको छ ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारको अध्यक्षतामा गरिएको कार्यक्रममा राष्ट्रिय मुक्त हलिया महासंघका कार्यक्रम निर्देशक हरिसिह बोहराले सहजीकरण गरे ।
कार्यक्रममा मुक्त हलिया सञ्जालका पदाधिकारी, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतका सहभागी भएका छन् ।
कार्यक्रममा मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष लुहारले सरकारले मुक्तिका घोषणा गरे पनि अझै पूर्ण रुपमा पुनस्थापन हुन नसक्दा समस्यामा परेको बताए ।
सरकारले २०५६ भदौ २१ गते मुक्त हलिया घोषणा गरेको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लामा हलिया प्रथा कायम थियो ।
कानुनी सचेतना तालिमबाट मुक्त हलियालाई आफ्ना हक अधिकारबारे जानकारी हुने उल्लेख गर्दै अध्यक्ष लुहारले न्यायका लागि पहुँच बढाउन सकिने बताए ।
तालिम समापन कार्यक्रममा मुक्त हलिया समाजले शिक्षक सेवा आयोग पास गरेका भीमदत्त नगरपालिका १० का सुनिल ओडलाई सम्मान गरेको छ । समाजका अध्यक्ष लुहारले उनलाई टिका लगाएर खादा ओढाएर सम्मान गरेका हुन् ।
तालिम समापन कार्यक्रममा भीमदत्त नगरपालिका ७ का वडा सदस्य मोनिका भुल, अधिकारकर्मी राजुराम सार्की भूल, महेश लावड लगायतले सहभागीका तर्फबाट मन्तव्य राखेका थिए ।
