महेन्द्रनगर । नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई गठबन्धनको निर्णय विपरित नजान निर्देशन दिएका छन् ।
समाजादी संसदीय दलका नेता सोडारीले काँग्रेस सहितको गठबन्धनमा सहभागी हुने भएपछि नेता नेपाल र भुसालले उनलाई फोन गरी निर्देशन दिएका हुन् ।
एकीकृत समाजवादीका सांसद प्रकाश रावलले अध्यक्ष नेपाल र महासचिव भुसालले फोनमार्फत कांग्रेस नेतृत्वको वैकल्पिक गठबन्धनतिर नलाग्न निर्देशन दिएको बताए । “उहाँहरूले गठबन्धनमा भएको सहमति पालना गर्नु र कांग्रेसतिर नलाग्नु भन्ने सुझाव दिनुभएको छ, उहाँहरूले संसदीय दलका नेतालाई फोन गर्नुभएको थियो,” उनले भने ।
त्यसो त सोडारी आफैँ मुख्यमन्त्रीको आकाङ्क्क्षी हुन् । केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व एकीकृत समाजवादी गर्ने भन्ने सहमति जुटेको थियो ।
अन्तिममा केन्द्रीय गठबन्धनभित्रै नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिने समझदारी बन्यो । यसपछि मुख्यमन्त्री बन्ने सपना देखेका सोडारीले नाउपाको रेशम चौधरी पक्ष र नेपाली कांग्रेसलाई साथ दिन लागेका थिए ।