ghar sansar

सुदूरपश्चिममा सत्ता गठबन्धन छाडेर काँग्रेसलाई किन साथ दिँदैछ समाजवादी ?

महेन्द्रनगर । सत्ता साझेदार एकीकृत समाजवादीले प्रमुख प्रतिपक्ष काँग्रेसलाई साथ दिएपछि सुदूरपश्चिमको राजनीतिमा नयाँ हलचल आएको छ । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्तिका दुई नेताले सत्ता गठबन्धन र काँग्रेसको सहयोगमा लागि दावी पेश गरेका छन् । दुई नेताको दावीपछि सुुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ अलमलमा छन् । उनी सोमबार साँझदेखि कानुनी परामर्शमा छन् ।

मुख्यमन्त्रीका लागि लक्ष्मण चौधरी र कैलाश चौधरी दावेदार छन् । लक्ष्मणलाई काँग्रेस समाजवादीको साथ पाएका छन् । अर्का कैलाश चौधरीलाई एमाले, माओवादी केन्द्र र स्वतन्त्र साँसदले साथ दिएका छन् । सत्ता गठबन्धनको समावादीले लक्ष्मण चौधरीलाई मुख्यमन्त्री बनाउन काँग्रेसलाई साथ दिएको हो ।

समाजवादीको संसदीय दलका नेता दीर्घ सोडरी छन् । यस अघि समाजवादीलाई मुख्यमन्त्री दिने गठबन्धनमा सहमति भएको थियो । सहमति अनुसार सोडारी मुख्यमन्त्री हुने आशमा थिए ।

नागरिक उन्मुक्ति सत्ता गठबन्धनमा आएपछि उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति भएको थियो । मुख्यमन्त्री नपाउने भएपछि समाजवादी सत्ता गठबन्धन छाडेर काँग्रेस गठबन्धनमा सहभागी भएको हो । समाजवादी संसदीय दलका नेता सोडारीलाई अध्यक्ष माधव नेपालले फोन गरी निर्देशन दिए पनि उनी काँग्रेस सहितको गठबन्धनमा छन् ।

यस अघि समाजवादी काँग्रेस सहितको गठबन्धन सरकारमा सहभागी थियो । समाजवादीका नरेश शाही आर्थिक मामिला मन्त्री थिए । माओवादी एमाले सहितको नयाँ गठबन्धन बनेपछि समाजवादी सरकारबाट बाहिरिएको थियो ।

समाजवादीका स्थायी कमिटी सदस्य उर्वादत्त पन्तले संसदीय दलका नेता सोडारीलाई साथ दिएका छन् । उनले सोमबार साँझ फेसबुकमा संसदीय दलका नेता सोडारीले लिएको निर्णयलाई जायज भएको सार्वजनिक गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा समाजवादीका ४ साँसद छन् । संसदीय दलका नेता सोडारीले काँग्रेस सहितको गठबन्धन छाडेपछि पार्टीभित्र किचलो बढ्ने चिन्तामा नेताहरु परेका छन् ।

समाजवादीका साँसद सहित नेताहरु अहिले काठमाडौंमा छन् । उनीहरु सोडारीलाई मनाउने प्रयास गरि रहेका छन् । समाजवादीले काँग्रेसलाई साथ दिएर सुदूरपश्चिममा सत्तारुढ एमालेलाई बाहिर राख्न खोजेको अर्थका रुपमा लिन थालिएको छ ।

एमाले र समाजवादीका नेताहरुको व्यक्तिगत टकरावले पनि समाजवादी काँग्रेसलाई साथ दिने अवस्थामा पुगेको नेताहरु बताउँछन् ।

एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलसित समाजवादी संसदीय दलका नेता सोडारी र स्थायी कमिटी सदस्य पन्तको व्यक्तिगत सम्बन्ध तिक्ततापूर्ण छ ।

भीमदत्त नगरपालिका ६ का पन्तसित रावलको सम्बन्ध एमाले विभाजन अघि नै बिग्रिएको थियो । कैलालीका सोडारीसित भने एमाले विभाजनको केही महिना अघि उनी एमालेबाट सामाजिक विकास मन्त्री भएका बेलामा मन्त्रालयमा हातपातसम्म भएको थियो । त्यसपछि सोडारी र रावलबीच व्यक्तिगत सम्बन्ध राम्रो नभएको नेताहरु बताउँछन् ।

नागरिक पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको विवादले विभाजित छन् । संरक्षक चौधरी काँग्रेस र अध्यक्ष श्रेष्ठ सत्ता गठबन्धनमा सहभागी हुने विवादले उन्मुक्तिका दुई नेता मुख्यमन्त्रीका दाबेदार हुन पुगेका छन् । समाजवादी संसदीय दलका नेता सोडारीको विद्रोहपछि समाजवादीभित्र विवाद बढेको हो । नागरिक उन्मुक्तिको विवाद समाजवादीमा पुगेको नेताहरुले बताउन थालेका छन् ।

Himal dental
सम्बन्धित
Loading...