ghar sansar

त्यो एक्लो देउराली

dirghayu ad

–विष्णुप्रसाद शर्मा पराजुली

कुरा धेरै पुरानो होइन । त्यस्तै पचास–पचपन्न वर्षवरपरको हो । त्यो क्षेत्र पर्वत विहादी लुरिङ देउरालीको हो । देउरालीभन्दा केही माथि मगर, क्षेत्री र बाहुन गाउँ छ । गाउँको शिरमा लुरिङकोट रहेको छ । त्यो कोटको इतिहास पर्वत राज्यसँग जोडिएको छ । कोटमा दुर्गापूजामा बलि दिने गरिन्छ । दशैँमा पञ्चबलि पनि दिने चलन छ । लाहुरे हुने, सरकारी नोकरी गर्ने जस्ता चाहना पूरा गराउन भाकल गरिन्थ्यो । पञ्चबलिमा बोको, कुखुराको भाले, पाडो, परेवा (उडाउने) र हाँस वा त्यो नभए कुभिण्डो लैजाने गरिन्थ्यो ।

ratnam malkhad

त्यस बेला गाउँ रमणीय, गतिमान, व्यस्त र सम्पन्न थियो । मेरो घरमा नै गोठमा दुई मोटाघाटा चार–पाँच माना दुध दिने भैँसी, अग्लो जुरो भएका हल गोरु र एक खोर बाख्रा थिए । ठुलो मलखाद थियो । बाले पन्ध्र–पन्ध्र दिनमा मलखाद फर्काउनुहुन्थ्यो । गोठको थारो (धन्सार) खर, पराल, पोस्कर, नलले टमक्क भरिएको हुन्थ्यो । घरको अर्को कुनामा वर्ष दिनलाई पुग्ने दाउरा राख्ने कड्कुरो थियो । मध्य पहाडमा परालको टौवाको आकारलाई हेरेर त्यो घरमा कति मुरी धान हुँदोरहेछ भन्ने अनुमान गरेर छोरी दिने गर्थे । त्यस्तै महŒव हिमाली गाउँमा दाउराको खातका साथै त्यो दाउरा कति पुस्ता पुरानो हो भन्ने हेरिन्छ । जसको घरको मुन्ना छानो वरपर दाउराको खात लगाइएको हुन्छ त्यो परिवारलाई इज्जतदार र धनी भनिन्छ । मुगुको मुगुम, गोर्खाको चुमनुब्रीजस्तै थुप्रै गाउँमा अहिले पनि सयौँ वर्षपहिलेका दाउरा देख्न पाइन्छ । पुर्खाको सम्झना गराउँछ ।

विहादीको गाउँवरपर रहेका दमै, कामी, सार्की, ठकुरी, कुमाल, बोटे, घर्ती, गुरुङ, दसनामी, क्षेत्री, बाहुन सबैको घरगोठ चलायमान हुन्थे । त्यस बेला अहिलेजस्तो फेसबुक, टिकटक हेरेर बस्ने फुर्सदको कुरा होइन कि आफ्नो दुधे बालकलाई दुध चुसाउनेसम्मको समय आमालाई हुँदैनथ्यो । पाकेको खाना गाँस हाल्न हतारिनुपथ्र्यो । कति आमाले त रोटी–मकै पटुका भित्र हालेर खाँदै हिँड्थे । बिहान नाडीको रौँ देखिएदेखि बेलुका तारा पिल्पिलाएको नदेख्दासम्म गाउँले पशु–हेरचाह, पानीपधेँरो, घाँसदाउरा, खेतबारी, वनपाखा, खरबारी, गोडमेल, बाली थन्क्याउने कार्यमा नै व्यस्त हुन्थे । हिमाली गाउँ पाँच–छ महिना हिउँमा पुरिने हुन्छ । उनीहरूले छ महिनामा वर्षदिनको काम गर्छन् । हिउँ परेको बेला तीर्थव्रत र व्यापार गर्न निस्कन्छन् तर पहाड र तराईमा बाह्रै महिना व्यस्त हुनुपर्छ । आँगनमा कोदोको गेडा देख्न कठिन हुन थालेपछि ‘दुई बीस लागिएछ कि क्या हो’ भन्थे । त्यस बेलाको समय मानव विकासक्रमको कृषि युग भनेझैँ पारिवारिक समूहमा बस्ने हाम्रो गाउँ पूर्णतः कृषियुगमा नै थियो । अन्य देशले औद्योगीकरण गर्दै कृषियुगलाई आधुनिक बनाए र विस्थापित गरे । हामी त कृषि त्यागेर लाहुरे युगमा पो गयौँ कि क्या हो !

म सानो छँदा यी कुरा देखेँ । सोह्र वर्षको उमेरसम्म त जे जति सक्थेँ सोअनुसार भोगेँ पनि । मेरो प्यारो बुबा (हजुरबा)ले धुलामा सिन्कोले कोर्दै मलाई अक्षर चिनाउनुभयो । त्यो अवसर मैले पाएँ । बोई (हजुरआमा) थोरै कुप्रिनुभएको थियो । उहाँले मलाई बोक्दै हुर्काउनुभयो । बाले पढ्नुभएन । आमाले त पढ्ने चर्चा पनि हुँदैनथ्यो । बा र आमा कृषिकर्ममै व्यस्त हुनुहुन्थ्यो । हाम्रो घरमा साहिँला बाले मात्र पढ्नुभएको थियो । मेरो बा र साहिँला बालाई बुबाले पाँग (पर्वत) कौमुदी, वेद र ज्योतिषशास्त्र पढ्न पठाउनुभयो । साहिँला बाले पढ्नुभो तर मेरा बा बुबासँगै पछि–पछि फर्कनुभएछ । त्यसैले बा बाँचुन्जेल बाको बुढिऔँलो नै जीवन र विश्वविद्यालयको प्रमाणपत्र बन्यो ।

त्यो बेला गोठका पशु र घरका परिवारलाई कुनै प्रकारको बिमार देखाप¥यो भने नाडी छाम्ने, आखत हेर्ने र त्यसको आधारमा उपचारको लागि खरानीले फुक्ने चलन थियो । अलि कडा प्रकारको दोख (भूत) रहेछ भने शरीरमा कुचोले झड्कार्दै फुक्ने गरिन्थ्यो । परिवारका सदस्य, भैँसी, गोरु आदि बिरामी परेमा नजिकै खोल्साखाल्सीवरपर बास बसेका भूत–प्रेत, वनभूत, नाग, भयरथान, देवीस्थान, देउराली, लुरिङकोट र कुल देवतामध्ये कोही बेखुसी भएर बिरामी परेका होलान् भन्ने अड्कल गरिन्थ्यो । त्यसैले तिनलाई हिउँद लागेपछि पूजा गर्ने वाचा गर्दै भाकल गर्ने चलन थियो ।

हामीले आज सबैभन्दा बढी नाम चलेको अनुभवी चिकित्सक भनेझैँ त्यसबेला सम्पूर्ण रोगको हरणकर्ता कुलदेवतालाई मानिन्थ्यो । पितृ रिसाए कि भनेर कुलदेवतालाई पुकारिन्थ्यो भने अन्य प्रायः सबै प्रकृति र भूतप्रेतसँग सम्बन्धित हुन्थे । भाकल गर्दा कतिले बोको, पाठी, घ्यू, दुध दिउँला भन्ने गर्थे । हाम्रो परिवारका साथै गाउँमा त्यसरी भाकलको भाग उठाउँदै ‘हे ! कुल देवता किन दुःख दिएको हो ? हामीले केही गल्ती गरेको भए माफ गरिदेऊ । हामीले कुलपूजाको बेला उपस्थित भएर पूजा गर्नेछौँ ।’ भनेर चामल, पैसा, धागोसमेत राखी भाकल उठाएर सामानसहित दुनोमा राखेर छानोमा सिउरिन्थ्यो । पूजाको बेला भाकल गर्दा उठाएको सामान पूजा गर्दा लैजानुपथ्र्यो । त्यस्तै वर्षको एक पटक गरिने नियमित पूजामा एक पटक साहिँला बासँग दुधधार दिन देउराली जाने कुरो भयो । त्यस बेला म आठ वर्षको थिएँ । दुई कक्षामा पढ्थेँ ।

सााहिँला बा, ठुल्दाइ र म देउराली जाने भयौँ । मैले पूजाका सामग्री राखेको सानो डालो बोक्नुपर्नेभयो । थुम्का भयरथानमा स–साना ढुङ्गाको भयरथान थियो त्यहाँ खेती सप्रोस् र पशुलाई राम्रो होस् भनी निख्खर सेतो बोको बलि दिने चलन थियो । त्यहाँ म कहिल्यै सहभागी हुन पाइनँ । नेटाको खरबारीको माथिल्लो बान्नोबाट हाम्रो तल्लो र माथिल्लो कुणदि, चोर्दी, लौके र लिउसिङ गाउँ देखिन्थ्यो । माथिल्लो भाग वन, त्यसपछि खरबारीका भिराला पखेरा, बारीका पाटा, आलीसहित तहतह परेर टमक्क बसेको खेतका गरा देखिन्थे । रोपाइँ गरेपछि खेतका गराको आलीबाट बयली खेल्दै कान्लैकान्ला झरेको सभा झरना झरे जस्तो सेताम्मे देखिन्थ्यो । त्यसरी तल झर्दै त्यो पखेरो क्रमशः होचिँदै कालीगण्डकीसम्म पुगेको छ । नेटोको खरबारीमा असाध्यै बाक्लो, लहलह लर्केको लामो खर पलाउँथ्यो । त्यस क्षेत्रमा प्रायः सबैले खर पालेर राख्थे र त्यो खर हिउँदमा काटेर घरगोठ छाउन मात्र प्रयोग गर्थे । खर खोसाखोस भएर बिक्री हुन्थ्यो ।

अहिले समयसँगै परिवेश पनि परिवर्तन भइसक्यो । अहिले यहाँका धेरै घर खाली छन् । भएका घरमा जस्ताको छानो
छ । एक हात लामा मकैका घोगा लाग्ने बारी र लहलह धान फल्ने खेत बाँझो छ । त्यहाँ चितुवा लुक्न थालेका छन् । खरबारीको खर खरबारीमा सुक्यो । घर छाउने काम त भएन नै, खर खाने गाईभैँसी पनि हराए । अनि त्यो खर के काम ? कागज बनाउन काम लाग्ने थियो, कागज कारखाना पनि बन्द भयो । मैले कल्पना गर्छु, त्यहाँको खर मेसिनले काटेर, मुठा बाँधेर भविष्यमा खुल्ने कागज कारखानामा पुग्ने दिन आउँला । त्यो असम्भव छैन । हाल बाको पालाको खरबारी रहेन । बाले नुन लिन बटौली गएझैँ अहिले हिँड्नुपर्दैन । वालिङदेखि विहादी पुग्ने कृषिमार्ग र राम्दीदेखि सेतीवेनी, कुस्माहुँदै मुक्तिनाथ कोरला पुग्ने कालीगण्डकी करिडोरको मोटरबाटो चालु भयो । भविष्यमा मेरो कल्पना यथार्थमा परिणत नहोला भन्न सकिन्न । यद्यपि अहिले त्यो लरक्क लर्कने खर त्यहीँ सुकेको देख्दा मेरो मुटुका दुवै पखेरा सुकेसरि दुःख अनुभव गर्छु । म उच्च शिक्षा लिन घर छोडेको मान्छे घर फर्किनँ । अरु पनि म जस्तै भए । रोजगारी राज्यले दिन सकेन । मलाई जस्तै अरूलाई रोक्न सकेन, तुरुन्तै रोकिने जस्तो पनि देख्दिनँ । मैले दुःख मान्नु मात्र हो । दुःख मान्ने हो भने गाउँ किन नफर्केको त ? रास्कोटको देवीस्थानले पनि प्रश्न गरेकै छ मलाई ।

रास्कोटका हाम्रा हिजोका हलि बाको गाउँ र नौनादी पनि सुनसान छ मानौँ माछापुच्छे«तिरबाट आएको चिसो स्याँठमात्र एक्लै कुँदिरहेछ, बिदेसिएका गाउँलेको खोजमा । बारीको डिलमा बसेर परदेश गएर नफर्केको छोराको कथा सुनाउँदा–सुनाउँदै हलि र बराजु त्यही बारीको डिलमा नै सधैँको लागि बिदा भएको कथा कसले भन्ने ? पहिले त खबर लिएर काग आउँथ्यो; आजकल त मोटरको आवाजले हो कि वा फेसबुकको आगमनले हो कागले समाचार ल्याउनै छोड्यो । लौके गुरुङ गाउँका जमदार बाको जेठो छोरो हङकङको लाहुरे हुँदा चार गाउँ मिलेर भोज खाएका हुन् । तर हङकङबाट न छोरो आयो न त चिठी । मोटरको हर्न, टेलिफोनको घण्टी, बत्तीको उज्यालो देख्दा छोरो आयो कि भनेर पिँढीको डिलबाट हेर्दाहेर्दै जमदार बा र आमाले चिहानडाँडाको बाटो सुधारे । लौकेको त्यो गुरुङगाउँमा बज्ने मादलको घिन्ताङ गुहेखोलाको खोँचमा विलीन भयो । त्यहाँ गुन्जने सालैजो भाकाको गीत पखेरा नाघेर तराई मात्र पुगेन त्यो त नफर्कने गरी समुद्रपार नै गयो । त्यो गाउँ र सुन्दर पखेरो देख्दा यस्तो लाग्छ कि मानौँ त्यसले आँखा झिमिक्क नगरी कालीगण्डकीको सुस्साहट सुनिरहेछ ।

खुरुखुरु खुरखुरेको उकालो नाघेर राम्चेको भिरमा पुगेर दक्षिणतिर हेर्दा ठुलो गैरो, विहादीको विशाल फाँट, बाच्छावट, ठौवा र कालीपारका गाउँ देखिन्थे । विहादीको फाँट पर्वत, स्याङ्जा र गुल्मीको त्यस भेगमा प्रख्यात थियो । अहिले त्यो फाँटको बिचैबिच कालीगण्डकी करिडोरको कालो मोटरबाटो लमतन्न सुतेको छ । बाटोले यहाँबाट अन्न ती दिनमा झैँ उत्तर–दक्षिण लैजाँदैन । मोटरबाटोले धान चामल पठाउनेको त के कुरा तरकारी पनि दक्षिणबाट बोकेर ल्याउँछ । हिजो बा र काकाहरू नुन र मट्टीतेल लिएर बटौलीबाट तेह्र दिनमा घर फर्कन्थे । आज मोटरबाटो, बिजुली बत्ती, स्वास्थ्य चौकी, स्कुल, कलेज बने । हर्षको कुरो हो । अहिले मेरा बाका दौँतरी त हुने कुरो भएन, म र मजस्ता पनि त्यहाँ धेरै छैनौँ । मोटर बाटोको आवश्यकता हिजो पनि थियो ढिलै भए पनि आज बन्यो । यो राम्रो कुरा हो । त्यो बाटाबाट हाम्रोमा बढी भएको कृषि र अन्य उत्पादन बोकेर तिब्बत र भारत जान्थ्यो वा मुक्तिनाथ र भैरहवा नै पुग्थ्यो भने विहादी पक्कै हाँस्थ्यो होला तर आज उताबाट चामल र तरकारी आएको देख्दा भित्रभित्रै मर्माहत भएको छ । यो मार्ग भएर दक्षिणबाट तीर्थयात्री, उत्तर जाने र उत्तरबाट चिसो छल्न, तीर्थ र व्यापार गर्न हाम्रो उत्तरका हिमाली जाति र तिब्बतसम्मका बासिन्दा आउँथे । त्यसैले यो बाटो मानव सभ्यताकालीन पदमार्ग हो ।

हामी कतै त चुकेका छौँ । हिजो घरभरि परिवार र गोठभरि गाईवस्तु थिए । बाटो, स्वास्थ्य चौकी, स्कुलको चौपट्टै खाँचो थियो तर ती सुविधा उपलब्ध भएनन्; समय त्यस्तै थियो । आज ती सबै सुविधा छन् तर घर र गोठ खाली छन् । एकाध भएका पनि खाली हुँदैछन् । सञ्चारको अति द्रुत विकास भएको आजको युगमा बाटो, बत्ती, स्कुलले मात्र पुगेन हामीलाई । म र मेरा साथीहरूले उन्युको झङ्कटाले बारबेर गरेर आफैँले बनाएको छाप्रोको धुले भुइँमा बसेर पढेका थियौँ नेपाल तारा माध्यामिक विद्यालयमा । अहिले भवन बन्यो ।सफा ठाउँमा बसेर पढेका छन् । स्कुलको पढाइपछि उच्च शिक्षाको लागि जसरी म बाहिरिन बाध्य थिएँ, त्यसैगरी आजका भाइबहिनी पनि पलायन हुन बाध्य छन् । अब उच्च शिक्षाका साथै जीवनयापनका लागि प्राविधिक शिक्षासहितको रोजगारी चाहियो । कोदालो नचाएर उब्जने उब्जनीले एक्काइसौँ शताब्दीको सञ्चारको युगको माग पूरा गर्न सक्दैन । खेतीपातीका लागि पनि आधुनिक प्रविधिको प्रयोग गर्नुप¥यो । ती भएनन् । त्यसैैले हामी पातलियौँ । हाम्रा सन्तान पातलिँदै छन् । त्यसको गम्भीर परिणाम भविष्यले देखाउनेछ । सहरले खान दिँदैन । सहरमा नै मानिस थुप्रिएको छ । सहरले त संस्कार र संस्कृति पनि दिँदैन तर हामी त्यतै भाग्दै छौँ, जहाँ आफन्त र आफ्नोपन नै हुँदैन । यसमा विहादीले सोच्नु पर्छ ।

त्यस बेला पूर्णगाममा थोरै घर थिए । बीचमा थपिए । स्कुल पनि बन्यो । तर अहिले त्यहाँ पढ्ने विद्यार्थी घटेँ । परिवर्तनको गति द्रुत छ । पूर्णगाम पुगेपछि भने साँच्चिकै लेकको सुवास छचल्किएर आउँथ्यो । गुल्मीको उत्तरी र बाग्लुङको दक्षिण पखेरोसहित विहादी त्यहाँबाट पनि देखिन्छ । ठाडो राम्चेको भिरको भाग सकिनासाथ हिमालको चिसो हावा र लेकाली पूmलले आज पनि स्वागत गर्छन् । जति माथि चढ्यो उति रमाइलो हुने प्रकृतिको त्यो हृदय खुसी पार्ने सुवास सहरमा जति पैसा खन्याए पनि पाइँदैन । जति माथि उक्ल्यो निलो आकाश झन् भन्दा झन् फराकिलो हुँदै जान्थ्यो । उकालो चढ्दै देउरालीमा पुगेपछि फराकिलो आकाश देख्दा सानोमा मलाई लेकमा पुगेपछि आकाश बढ्दो रहेछ भनेझैँ लाग्थ्यो । आकाश उत्रै भए पनि जब म डोल्पा, मुगुको कुनै कुनाको चेपमा रात काटेको हुन्छु त्यहाँको आकाश सानो भएको देख्छु । चारैतिरबाट पहाडले घेरिएको ठाउँबाट हेर्दा सानो आकासमा आमाले म सानो छँदा चिनाएका तीन तारे सुटुक्क आइपुग्थे । त्यस बेला मलाई लाग्थ्यो ती ताराको झुण्ड त्यही सानो आकाशमा कसरी अटाएका होलान् ?

दाइ र म देउरालीमा पुग्यौँ । त्यो सबै पखेरोलाई देउराली भनिन्छ । पहाडी क्षेत्रमा उकालो चढ्दै गरेपछि भञ्ज्याङमा नपुग्दै आउने भूभाग जहाँ पूmलपाती पनि चढाइन्छ; त्यस पाखोलाई एक अर्थमा देउराली भनिन्छ । समथर ठाउँमा पनि हुन्छ । उकालो चढ्दै गर्दा भञ्ज्याङ नपुग्दै वा भञ्ज्याङमा प्रकृतिदेव वा देवीलाई सम्झना गर्दै पूmल, पाती, रूखको हाँगा, ढुङ्गा, धजा चढाउँदै यात्राको सफलताका लागि आशीर्वाद लिने गरिन्छ । नदीमाथिको पुल तर्दा त्यसरी नै पूmल र पाती चढाइन्छ । त्यस यात्रीले चढाउँदै गएको देवलजस्तो बनेको थुप्रो, ढुङ्गा वा देवीदेवता मानेर पुज्ने गरेको स्थललाई पनि देउराली भनिन्छ । भञ्ज्याङचाहिँ दुई वा दुईभन्दा बढी पहाडको धार भेटिएको ठाउँ हो । भञ्ज्याङ पुगेपछि मुल बाटो ओरालो झर्छ । घाँस–दाउरा गर्नेे, दृश्यावलोकन गर्ने र पर्वत चढ्ने डोरेटो चुलीतिर डोरिन्छ । समयक्रममा यात्रीले चढाएको ढुङ्गा र पाती नै मन्दिर वा देउराली वा वनदेवता वा वनदेवीको मन्दिर बन्यो र पूजाआजा गर्न थालियो ।

देउरालीको उद्गम पनि प्रकृतिपूजा नै हो । मानव जातिले खेतीपाती, पशुपालन र परिवार भएर ओढार वा छाप्रोमा बस्न थालेको पछिल्लो ढुङ्गे युगदेखि हो । त्यसरी बस्दा बाढी, पहिरो, हिउँ अन्य प्राकृतिक प्रकोपको मानवले सामना गर्नुप¥यो । अत्यधिक हिउँ पर्ने, पहिरो जाने, पशु र बालबालिकाको मृत्यु हुने घटना घटेको कुरालाई मानवले गम्भीर भएर चिन्तन गर्न थाले । मानवले सूर्य, चन्द्र, माटो, हावा, पानी, वनस्पति आदिको कारण विपद् परेको भन्ने ठाने । विपद्को रोकथाम गर्न र पशु, सन्तान, कृषिको सुरक्षाका लागि मानिसले ती हावा, पानी, सूर्यजस्ता प्राकृतिक तŒवको पूजा गर्न थाले । प्रकृतिपूजा कहिलेदेखि सुरु भयो भन्ने तिथि यकिन नभए तापनि करिब पाँच हजार वर्ष पहिलेदेखि मूर्तिपूजाको सुरु मिश्रबाट भएको हो । नेपालमा गाउँ तथा सहरमा विभिन्न रूपमा प्रकृतिको पूजा हुने गर्छ ।

देउरालीको देवस्थलअगाडि बसाहामा पनि पूmल–अक्षता चढाउने गरेको ढुङ्गो छ । त्यो जनावरको रक्षाको लागि समर्पित मानिन्छ । हुन त बसाहा शिवको वाहन हो । बसाहा, शिव र देउरालीको सम्मिश्रण यहाँ देखिन्छ । देउरालीको पखेरोको माथिल्लो खण्ड त्यस्तै चालिस डिग्री भिरालो परेको छ । त्यहाँ सानो पोखरी आकारको ठाउँ छ त्यसलाई चारैतिरबाट खुला ढुङ्गाले घेरिएको थियो । त्यहाँ चाँपको ठुलो रूख रहेको छ । पोखरीजस्तो ठाउँको बीचमा एउटा मौलो छ । मौलोनजिक पूजा गरी रगत लतपतिएका मूर्तिको आकार लिन थालेका ढुङ्गा रहेका छन् । अर्को कुनामा दुधधार दिने गरेका देवीदेवताका सादा ढुङ्गा रहेका छन् । अलि अनौठो के भने यहाँ सानो पाठीको बलि दिने चलन छ । दुर्गापूजाको जमरा राख्ने दिनदेखि पूर्णिमासम्म पाठी बलि र दुधधार दिई यस देउरालीमा पूजा गर्ने अति प्राचीन चलन हो । यो देउराली कालीगण्डकीको तीरसँगै उठेको महाभारत पर्वत शृङ्खलाको एउटा सिङ्गो पखेराको चुलीमा रहेको छ । त्यो महाभारत पहाड समथर भूभाग, खेतबारी, गाउँ, खोल्साखोल्सी, धार परेका पखेरा, वन, चट्टान, स–साना खोला, भिर र पहरासहित सात सय मिटरबाट उकालिँदै दुई हजार मिटरमा पुगेर विश्राम गरेको छ ।

देउरालीमा दुधधार दिँदा दुई दिनदेखिको दुधको दही जमाएर मोही पारेर जम्मा भएको घ्यू, पूजा गर्न जाने दिन दुहेको सबै दुध लिएर जानुपथ्र्यो । त्यो दिन देउराली जानेले धेरै दुधमा थोरै चामल र घिउ राखेर पकाएको खीर खान पाइन्थ्यो । त्यसैले पनि साना केटाकेटी उकालो बाटो, वन, भिरमा सामान बोकेर जान कठिन नै भए पनि खुसीसाथ जान्थे । दुर्गापूजाको बेला नभ्याउने परिवारले अन्नबाली थन्क्याएपछि प्रकृतिदेव, मौसम, वर्षालाई खुसी पार्न तिथि हेरेर मङ्सिर महिनामा देउरालीमा दुधधार दिने गर्थे । अन्नबाली सप्रियोस्, गोठका गाईभैँसीले प्रशस्त दुध दिऊन्, पानीको समस्या नहोस्, सन्तान सुख होस्, घरका वृद्ध मातापिताका साथै लाहुर गएका सन्तानलाई कष्ट नहोस्, दुर्घटनामा परेर मत्यु भएकाको आत्मा प्रेत बनेर परिवार र पशुलाई दुःख नदिऊन्, पहिरोमा र घाँसदाउरा गर्दा लडेर घाइते भएर बाँच्न नपरोस्, चन्द्र र सूर्यमा ग्रहण नलागोस्, प्रकृतिमाताले सधैँ माया गरून् भनेर भाकल गरी सम्झना गरेर चढाइएका धागो, पैसा, घ्यूसहितका सामग्री बोकेर देउरालीमा ल्याइन्थ्यो र चढाइन्थ्यो । ‘अनजानमा भएको मानवीय गल्तीलाई माफ गर्नु’ भन्दै देउरालीसँग प्रार्थना गरी विधिपूर्वक भाकल गरेका अक्षता, धजा, पैसा र घरबाट ठेकीमा ल्याएको चोखो दुधको दुधधार त्यहाँ रहेको ढुङ्गाको वनदेवतालाई चढाइन्थ्यो । पूजाको काम गर्दै गर्दा खीर पाक्दै गथ्र्यो । खीर पाकेपछि खीर पनि चढाएपछि त्यहाँ पकाएको खीर भिरालो पखेरामा बसेर मज्जाले खाइन्थ्यो र बाँकी प्रसादको रूपमा घरमा लगिन्थ्यो । अहिले त्यसरी दुधधार दिने चलन लुप्त प्रायः भएको छ । भैँसी पाल्ने बा, बुबा र आमाहरू सन्तानले दिएको पिण्ड खाने स्थानमा पुगे । युवा जमात सहर र विदेशमा रोजगारीको लागि ठुलो जहाज चढेर गए । राज्यले दीर्घकालीन रोजगारीको नीति अवलम्बन नगर्नाको कारण मानव जीवनसँग गाँसिएका सांस्कृतिक प्रचलन लोप हुन थाले ।

हामी केटाकेटीको काम बा, काका, दाइ वा आपूmभन्दा ठुलोले गराएको काम गरे पुग्थ्यो । कहिलेकाही सुकेका झङ्कटा खोजेर ल्याउन पथ्र्यो । त्यसमा म निकै रमाउँथे । दाउरा खोज्दा देउरालीको झाडीमा ठुलो ढुङ्गाको चेपमा चरेका मुनाल खुरूरू उकालो भाग्थे । धारैधार पल्लो धारमा पुग्दा उत्तरतिर अन्नपूर्ण हिमालय शृङ्खलाका हिमालका लोभलाग्दा सेता चुचुराले त्यसै–त्यसै लोभ्याउथे । मैले मनमनै कल्पन्थेँ ‘ म पनि त्यो मुनाल जस्तै चरो भएको भए पहाडको काखैकाख अनगिन्ति झाडि नाघ्दै अन्नपूर्णको शिरचुम्न पुग्थे ।’ मनको त्यो चाहना उडेर चुलीमा नपुगे पनि थुप्रै हिमालका चुलीको फेँदमा हिँडेर पुगेँ । देउरालीको दक्षिणमा महाभारत शृङ्खलाका अनगिन्ति पहाड को भन्दा को अग्लो भन्दै प्रतिस्पर्धा गरे जस्तो गरी उभिएका देखिन्थे । नागबेली बनेर बगेको नदी र खोलाहरू उस्तै अनौठो देखिन्थे । ठाउँ ठाउँमा देखिने गाउँहरू, खेत, बारी , खरवारी, रुखविरुवा , बाक्लो वन अतिनै रमाइलो लाग्थ्यो । घाँस बोकेर घर जाँदै गरेको, घाँस काट्दा पखेरो घन्कने गरी गित गाएको, भारी बोकेर तलमाथि गरेका किसान दाजुभाइ, गाईबाख्रालिएर वन तिर हिंडेका गोठाला देखिन्थे । गोठमा कुँडो पाक्दै गरेको र त्यहाँबाट निस्केको सेतो धुँवा, त्यो धुवालाई गर्लम्म अँगालो हाल्ने सेतो कुहिरोको दृश्यमा गाउँ देखिन्थ्यो । समग्र गाउँ गतिशिल अनि रमाइलो थियो । निधारमा मेहनतको पसिनासँगै ओठमा हिमालको जस्तो मधुर मुस्कान गाउँलेमा देखिन्थ्यो । महाभारत शृङ्खलाको सुदुर दक्षिणमा तानसेन बजारमा बत्तिबलेको देखिन्छ भनेर बुबाले भनेको सम्झन्छु । त्यहाँबाट त साच्चिकै हाम्रो लुम्बिनिदेखि गोरखपुरसम्म देखिन्छ । त्यसलाई प्याराग्लाईडिङ, दृश्यावलोकन, चरा र वनस्पति अध्ययन गर्ने रमणिय पर्यटकिय क्षेत्र पनि त बनाउन सकिन्थ्यो । स्थानीय सरकारले सोच्दा हुन्छ ।

त्यो भूमि र प्यारो देउराली त्यही छ । तराईको समथर फाँट, चुरे पहाड, महाभारत, कालीको गहिरो, घुमाउरो, साँघुरो अनि फराकिलो उपत्यका त्यही छ । खेतबारी, चरन, खरबारी, वन, महाभारतको खोँचबाट पलाएका ससाना खोला र वन्यजन्तु र माथिल्लो कुनोमा चाँदीको श्रीपेच पहिरेर उभिइरहेका प्यारा हिमालयका चुलीहरू त्यही छन् तर खेतमा लहलह फल्ने धान फलेको छैन । बारीमा कोदो र मकै नफलेको दस वर्ष नाघ्यो । खरबारीको खर काट्ने कोही छैनन् । भैँसी दुहेर चार–पाँच माना दुध राख्ने ठेकी रित्ता छन् । न देउरालीको भाकल गर्ने कोही छन् त न देउरालीमा दुधधार दिने भत्तालु ।

आज उल्टै देउरालीले हिजोको त्यो दिन फर्की आवस् भनेर भाकल गर्दै छ । देउरालीले दुधधार भन्दा मान्छेको पदचाप खोजेको छ । हो, हिजो त्यही देउरालीले सारा गाउँलेको भाकल पूरा गथ्र्यो । मायाप्रेम गर्ने जोडीलाई आशीर्वाद दिन्थ्यो तर आज गोरखपुरबाट आउँदै गरेको यात्री कतै आफ्नै छोराछोरी हुन् कि भनेर बाटो हेर्दै गरेकी एक्ली वृद्ध आमा जस्तै भएको छ त्यो देउराली । मात्र के भने आमा छाती पिट्दै रुन्छिन् तर देउराली गम्भीर मुद्रामा छ । देउराली प्रकृति हो । मानिस बाँच्न प्रकृतिलाई मानिसले पुजे । आज प्रकृतिलाई पुज्ने मान्छे नहुँदा देउराली रोएको छ । देउरालीकै टाउको माथिबाट दिल्ली हुँदै अरब, युरोप र अमेरिकी मुलुकतिर उडेको जहाजमा यहीँका छोराछोरी त होलान् भन्दै ठिङ्ग उभिएर हेरिरहेछ त्यो देउराली । देउरालीको उचाइ त घटेको छैन तर देउराली यति होचो भएको छ कि उसले मानिस नै देख्दैन । तापनि दुधधार दिन उक्लने मानिसको प्रतीक्षामा अथक उभिइरहेको छ त्यो एक्लो लुरिङ देउराली  [email protected]

साभार : bishnunmdc

Himal dental
सम्बन्धित
Loading...