भीमदत्तका प्रवक्ताले होटेल ओपेरा गएर बुझे विवादित स्विमिङ्ग पुलको चाबी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले होटेल आपेरा पुगेर सोमबार होटेल ओपेराको विवादित स्विमिङ्ग पुलको ताला चाबी बुझेर स्वामित्व जिम्मा लिएका छन् ।

तीन तारे होटेल ओपेराले सोमबार विहान स्विमिङ्ग पुलको ताला चाबी हस्तान्तरणका लागि पत्रकार सम्मेलन गरेको थियो । ओपेराको पत्रकार सम्मेलनमा सहभागी भएर नगर प्रवक्ता अवस्थीले ताला चाबी बुझेका छन् ।

janjyoti campus

उनीसंगै भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा र ७ का वडा अध्यक्ष गणेश बहादुर चन्द पत्रकार सम्मेलनमा सहभागी भए ।

ओपेराका सञ्चालक खगेश्वर बोहराले नगर प्रवक्ता अवस्थी र ४ नम्बर वडाका अध्यक्ष भट्टलाई ताला चाबी बुझाए । पत्रकार सम्मेलनमा मेयर पदम बोगटीलाई आमन्त्रण गरिए पनि उनी विशेष कारण देखाएर अनुपस्थित भएका छन् ।

भीमदत्त नगर विकास समितिले केही दिन अघि तत्कालिन महेन्द्रनगर विकास समितिको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना चार चरणमा भत्काउने निर्णय गरेको थियो ।

त्यस निर्णय अनुसार भीमदत्त नगरपालिकाले पहिलो चरणमा होटेल ओपेरा पछाडि र पूरानो बसपार्क क्षेत्रमा अवैध निर्माण गरिएका संरचना डोजर लगाएर भत्काएका छन् ।

नगरपालिकाले दोस्रो चरणमा अदालती प्रक्रियामा पुगेका संरचनाको चावी बुझाउन वा संरचना आफैंले भत्काउनु पर्ने नगर विकास समितिको निर्णय अनुसार सोमबारसम्म समय सीमा दिएर सूचना सार्वजनिक गरिएको थियो ।

होटेले ओपेराका सञ्चालक बोहराले सोमबार पत्रकार सम्मेलन गरी ताला चाबी नगरपालिकालाई बुझाएका हुन् । होटल सञ्चालक बोहराले होटेल स्तरोन्नतिका लागि स्विमिङ्ग पुल चाहिने भएपछि राजनीतिक दल, स्थानीय प्रशासन, प्रहरी सबैको सहयोगमा नगर विकास समितिबाट लिजमा जग्गा लिएर स्विमिङ्ग पुल बनाएको बताए ।

‘यो हामीले राति चोरेर, चुनावका बेला बनाएका होइन’ उनले भने,‘हामी भोलि हुने निर्णय समेत मान्य हुने गरी अहिले अहिले चाबी बुझाएका छौ, भोलि तोड्नै पर्छ भने पनि हाम्रो आपत्ति हुने छैन ।’

स्विमिङ्ग पुलको लिजलाई लिएर विवाद आएपछि यस अघि २०७५ मा पत्रकार सम्मेलन गरी प्रष्टीकरण दिएको थियो ।
होटेल ओपेराले २०७० मा तत्कालिन महेन्द्रनगर विकास समितिबाट स्विमिङ्ग पुलका लागि तीन कट्टा जग्गा लिजमा लिएको हो । ओपेराले १५ वर्षका लागि लिजमा लिएपछि २ करोड लगानी गरी स्विमिङ्ग पुल बनाएको छ ।

ओपेरालाई चार तारे होटेल बनाउन स्विमिङ्ग पुल बनाउनु पर्ने भएकाले नगर विकास समितिबाट लिजमा जग्गा लिएको सञ्चालक बोहराले बताए । उनले अहिले पनि नगर विकास समितिले स्विमिङ्ग पुलको जग्गा बेच्न चाहे किन्न तयार भएको तर विवादमा नपर्ने धारणा राखेका छन् ।

‘नविसले बिक्री गर्न तयार छ, हामी किन्न तयार छौ भनेर यस अघि २०७५ मा गरिएको पत्रकार सम्मेलनमा पनि भनेका थियौ, अहिले पनि नविसले आफ्नो मूल्य राखेर जग्गा बेच्न चाहन्छ भने किन्न तयार छौ, तर यसको विवादमा पर्न चाहदैनौ ।’

ओपेरा होटेलमा नेपालका राष्ट्राध्यक्ष, विभिन्न देशका राजदूत सहितका विशिष्ठ व्यक्तिहरु बस्ने भएकाले यस ठाउँको आवश्यकता महसुस गरी स्विमिङ्ग पुलबारे निर्णय लिनु पर्ने सञ्चालक बोहराले बताए ।

२०७४ मा ओपेराले स्विमिङ्ग पुल बनाएको हो । तत्कालिन महेन्द्रनगर नगर विकास समितिले २०५१ ओपेरा होटल सञ्चालनका लागि ४ कट्टा जग्गा दिएको थियो । त्यसपछि २०६४ मा होटेल ओपेरा सञ्चालनमा आएको हो ।

भीमदत्तका नगर प्रवक्ता अवस्थीले नगरपालिकाले तोडफोड गर्न पर्ने नपर्ने संरचनाको यकिन गरी ताला चाबी बुझेको बताए ।

‘पत्रकार सम्मेलन गरी ओपेराका सञ्चालकज्यूले चाला चाबी बुझाउनु भो, यसका लागि वहाँलाई धन्यवाद दिन चाहन्छौ’ उनले भने,‘नगरपालिकालाई तोडफोड गर्न पर्ने नपर्ने भन्ने लाग्छ, त्यसका आधारमा ताला चाबी बुझ्यौ ।’

नगर विकास समितिको निर्णय अनुसार सोमबार ताला चाबी बुझाउने सबै संरचना सम्बन्धि राजनीतिक दल र सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यहरुसित छलफल गरी निर्णय लिइने नगर प्रवक्ता अवस्थीले बताए ।

‘आज ताला चाबी बुझाउने सबै सबै संरचनाको हकमा राजनीतिक दल र प्रदेश सभाका माननीयज्यूसंग बसेर निर्णय लिन्छौ’ उनले भने,‘आज नबुझाउनेको संरचनामा भोलि १५ गतेदेखि डोजर लगाउँछौ, त्यो भोलि नै सोध्नु होला ।’

भीनपा ४ का वडा अध्यक्ष भट्टले अवैध रुपमा जग्गा कब्जा गरी निर्माणाधिन गरिएका संरचना जेठ ५ गतेदेखि हटाउन थालिएको र त्यससंगै सार्वजनिक सूचना जारी गरिएको बताए ।

होटेल ओपेरा सहितका तत्कालिन महेन्द्रनगर विकास समितिबाट लिजमा जग्गा लिएका व्यवसायीले २०७४ मा सर्वोच्च अदालतमा रिटा दायर गरेका थिए । सर्वोच्चले तत्काल अन्तरिक आदेश दिए पनि दुई महिना अघि रिट खारेज गरि दिएको थियो ।

सर्वोच्चले रिट खारेज गरेपछि फैसलाको पूर्णपाठ अझै आएको छैन । भीमदत्त नगरपालिकाले फैसलाको पूर्णपाठ नआउँदै ती संरचनाका ताला चाबी लिएको हो ।

ghar sansar
सम्बन्धित
Loading...