
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारमा सोमबार कञ्चनपुरबाट सत्ता साझेदार एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साँसद मन्त्री भएका छन् ।
माओवादी केन्द्रका ओम बिक्रम भाट बाहेक अन्य सबैले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका छन् ।

मन्त्री हुनेमा माओवादी केन्द्रका भाट सहित एमालेका बीर बहादुर थापा, हिरा सिह सार्की र नेकपा एकीकृत समाजवादीका माया पन्त छन् । उनीहरुमा थापा, सार्की र पन्त विना विभागीय छन् ।
भाट सामाजिक विकास मन्त्री छन् । बेदकोट नगरपालिका १० का भाट कञ्चनपुर प्रदेश सभा निर्वाचन क्षेत्र नं. २(१) बाट प्रदेश साँसद निर्वाचित भएका हुन् । माओवादी केन्द्रका नेता देबीलाल चौधरीको टिकट खोसेर उनी चुनाव लडेका थिए । केही दिन असन्तुष्ट चौधरी पछि चुनाव प्रचारमा फर्किएका थिए । चौधरीलाई राष्ट्रिय सभा सदस्य बनाउने आश्वासन दिइएको थियो ।
उनलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि टिकट नदिई बैतडीकी रेणु चन्दलाई उम्मेदवार बनाएर राष्ट्रिय सभा सदस्य बनाइएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासिला भाट माओवादीमा बलियो आर्थिक हैसियत भएका नेताका रुपमा चिनिन्छन् ।
माओवादी केन्द्र छाडेर एमाले भएका थापा विना विभागीय मन्त्री छन् । तत्कालिन नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र ब्युतिएपछि थापा एमाले आएका हुन् । एमाले कञ्चनपुरको अध्यक्ष भई सकेका उनी २०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १(१) बाट साँसद भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रमा चुनाव लडेर पुनर्वास नगरपालिकाको मेयरमा पराजित भएका उनी एमालेको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।
२०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यको टिकट नपाएपछि असन्तुष्ट बनेका थिए । पछि उनी प्रदेश सभा सदस्य चुनाव लडेका थिए ।
एमालेबाट विना विभागीय मन्त्री भएका सार्की एमालेका पुराना नेता हुन् । २०४९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका ४ बाट वडा अध्यक्ष लडेका थिए । एमालेको उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय पदाधिकारीसम्म भएका छन् । समानुपातिकबाट प्रदेश साँसद भएका उनी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जग्गा समस्या समाधान आयोगको अध्यक्ष समेत भई सकेका छन् ।
मन्त्री सार्कीले सोमबार पद तथा गोपनियताको शपथ खाइ सकेपछि साँझ महेन्द्रनगरमा मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । उनले जनताको अपेक्षा अनुसार कामकाज गर्ने बताए ।
एकीकृत समाजवादीबाट माया पन्त विना विभागीय मन्त्री भएकी छन् । समाजवादीका समानुपातिक साँसद पन्त समाजवादीका स्थायी कमिटी सदस्य उवादत्त पन्तकी धर्म पत्नि हुन् ।
एमाले छाडेर समाजवादी भएकी उनी २०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको उप मेयरमा चुनाव लडेकी थिइन् । २०७९ को निर्वाचनमा समानुपातिक उम्मेदवार भएर साँसद भएकी उनी भीमदत्त नगरपालिका ६ का वासिन्दा हुन् ।
यस अघि सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका राजेन्द्र सिह रावल मुख्यमन्त्री भएका थिए । विश्वासको मत पाउन नसकेर एक महिनामा मुख्यमन्त्रीबाट बाहिरिएका रावल आफंै समानुपातिक साँसद हुन् ।
एमालेको पोलिटब्युरो सदस्य उनी २०६५ को संविधान सभा सदस्य निर्वाचनमा तत्कालिन कञ्चनपुर निर्वाचन क्षेत्र नं. ४ बाट पराजित भएका थिए । त्यसपछि एमाले कञ्चनपुरको अध्यक्षमा पराजित उनी २०७९ को निर्वाचनमा समानुपातिक उम्मेदवार भएर साँसद भएका हुन् ।
रावल अहिले एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता छन् । रावल भीमदत्त नगरपालिका ६ का वासिन्दा हुन् । भीमदत्त नगरपालिका ६ का प्रकाश रावल सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना र उद्योग, वन, वातावरण र पर्यटन राज्य मन्त्री भई सकेका छन् ।
२०७९ को निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३(१) बाट निर्वाचित रावल समाजवादी संसदीय दलको उप नेता छन् । उनी २०७४ को निर्वाचनमा एमालेबाट चुनाव जितेर मन्त्री भएका हुन् ।
२०७९ को निर्वाचनमा उनी तत्कालिन सत्ता गठबन्धनका उम्मेदवारसित मित्रवत प्रतिस्पर्धा गरी निर्वाचित भएका हुन् ।
