
किसानलाई रोपाईका लागि मलखाद माग्दै सहकारी सञ्जालले गुहार्यो प्रधानमन्त्री, प्रशासन मार्फत बुझाइयो ज्ञापन

महेन्द्रनगर । भीमदत्त नगर सहकारी सञ्जालले धान खेतीका लागि किसानलाई मलखाद उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत बुधबार प्रधानमन्त्री दाहाललाई धानको रोपाई सुरु भएकाले किसानहरुलाई तत्काल मलखाद व्यवस्था गर्न पर्ने माग सहितको ज्ञापन पठाएको हो । सञ्जालले ज्ञापन पत्रमा मलखाल आपूर्तिका लागि बहाना देखाएर ढिलाई नगर्न सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाए । उनले प्रमुख जिल्ला अधिकारीलाई बुझाउन अघि ज्ञापन वाचन गरे ।
ज्ञापन बुझेपछि प्रमुख जिल्ला अधिकारी सापकोटाले ज्ञापन तत्कालन प्रधानमन्त्री कार्यालय पठाउने बताए ।
भीमदत्त नगर सहकारी सञ्जाललाई जिल्ला बहुउद्देश्यीय सहकारी संघ र सुदूरपश्चिम थोक विशिष्ठकृत सहकारी संघले साथ दिएको छ । बहुउद्देश्यीयका अध्यक्ष प्रेम सिह भाट र विशिष्ठकृतका अध्यक्ष गणेश बहादुर चन्द लगायतका ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी भएका छन् ।
प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनमा सरकारले धानका लागि चाहिने डिएपी मल आपूर्ति गर्नको सट्टा गोदाममा युरिया भण्डारण गरी मलखाद अभाव नभएको प्रचार गरेको भन्दै असन्तुष्टि पोखिएको छ ।
सहकारी सञ्जालले कमिसनको खेलका कारण किसानलाई मलखाद चाहिने थाहा पाएर पनि आपूर्ति गर्न आनाकानी गरिएको आरोप लगाइर्एको छ ।
सुदूरपश्चिम प्रदेश सरकार मलखादका मौन बसेको भन्दै सहकारी सञ्जालले किसान बीमाका नाममा अर्को कमिसनको खेल सुरु भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
