

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट ल्याएको छ । सुदूरपश्चिम सरकार आर्थिक मामिलामन्त्री सुरेन्द्र बहादुर पालले शनिबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि ३१ अर्ब ६२ करोडको बजेट सार्वजनिक बजेट सार्वजनिक गरेका छन् ।

चालु आर्थिक वर्षका लागि २९ अर्ब २६ करोडको बजेट थियो । प्रदेश सरकारले ११ अर्ब ७ करोड चालु र १७ अर्ब ५३ करोड पुँजीगत बजेट सार्वजनिक गरेको छ । कुल विनियोजित बजेटमध्ये विकासतर्फ ५५ र चालुतर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि पाँच अर्ब ६८ करोड, सामाजिक क्षेत्रका लागि ६ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । ८६ करोडको बजेट स्थानीय तहहरुमा समानिकरण अनुदान र ५६ करोड ससर्त अनुदान दिन बजेट विनियोजन गरिएको छ ।
यसका साथै तीन अर्ब ९ करोडको बजेट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, २ अर्ब चार करोडको बजेट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, पाँच अर्ब ६८ करोडको बजेट भौतिक पूर्वाधार विकास मन्त्रालय, ६ अर्ब ७४ करोडको बजेट सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३८ करोड ६९ लाख बजेट प्राप्त गरेको छ ।
