

महेन्द्रनगर । सुदूरपश्चिम सरकारको सिफारिसमा प्रदेश प्रमुखले बिहीबार राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरेको भोलिपल्टै विशेष अधिवेशनको माग गरिएको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको नयाँ गठबन्धनले विषेश अधिवेशनको माग गरेको हो। प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको पत्र प्रदेश सभामा पुगेको भोलिपल्ट नै प्रदेश प्रमुखको कार्यालयबाट विशेष अधिवेशन माग गरिएको पत्र प्रदेश सभा सचिवालयमा पुगेको छ ।

नयाँ गठबन्धनले शुक्रवार विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएपछि प्रदेश प्रमुखको कार्यालयबाट साउन ८ गते विशेष अधिवेशन बोलाउन प्रदेश सभामा पत्र पठाइएको छ ।
शुक्रवार नै विशेष अधिवेशनको पत्र तयार भएर प्रदेश सभामा पठाइएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले बताए ।

