
विपद्मा प्रदेश सरकार मुक दर्शक बसेको भन्दै कड्किए निवर्तमान मुख्यमन्त्री रावल, भने – सत्ता जोगाउने मात्रै ध्यान छ

महेन्द्रनगर । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेशमा ठूलो प्राकृतिक विपद् आउँदा सरकार मूकदर्शक बनेको आरोप लगाएका छन् ।
विशेष अधिवेशनअन्तर्गत आइतबार बसेको प्रदेश सभाको दोस्रो बैठकमा बोल्दै रावलले प्रदेश सरकार विपद्को पूर्व तयारी, राहत र उद्धार कार्यमा चुकेको टिप्पणी गरेका हुन । विपद्को समयमा सरकार मूकदर्शक बनेर सत्ता जोगाउने खेलमा मात्रै लागेको उनको भनाइ छ ।

‘बाढी पहिरोले बाटोघाटो बन्द छन् । किसानको बालीनालीमा क्षति पुगेको छ । कतिपय परिवार विस्थापित बनेका छन्,’ उनले भने, ‘प्रदेश सरकारले विपद्को पूर्व तयारी गर्न सकेन। यसपटक भीषण वर्षा हुने संकेतलाई नजर अन्दाज गरेर सरकारले आफ्नो अकर्मण्यता प्रकट ग¥यो।’
विपद्पछिको राहत र उद्धारमा पनि मूकदर्शक बनिरहेको सरकारले जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने उनले बताए। अल्पमतमा रहेको सुदूरपश्चिम सरकारले कुर्सी मात्रै ओगटेर बसेको उनको आरोप छ ।
एक महिना बित्नै लाग्दा पनि बाढी तथा डुबान प्रभावित क्षेत्रमा सरकारको उपस्थिति नभएको रावलको भनाइ थियो।
