

महेन्द्रनगर । सुदूरपश्चिममा तीन राज्य मन्त्रीसहित ९ मन्त्रीले सपथ खाएका छन् । नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहसँगै ६ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ खाएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाह र अन्य ६ मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँले सपथ खुवाएका छन् । त्यसलगत्तै ३ जना राज्यमन्त्रीहरुलाई पनि मुख्यमन्त्री शाहले सपथ खुवाएका छन् ।


नेपाली काग्रेंसबाट मुख्यमन्त्री शाहसँगै आर्थिक मामिला मन्त्रीमा बहादुरसिहं थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्काले सपथ खाएका छन् ।
त्यस्तै एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा शुरेन्द्रबहादुर पाल, भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिरा शार्की नियुक्त भएर सपथ खाएका हुन् ।
भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउँदले सपथ खाएकी छन् । त्यस्तै नागरिक उन्मुक्तिबाट पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले सपथ खाएका छन्। उनले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको रुपमा सपथ खाएका हुन् ।


