
महेन्द्रनगर । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधन भएको छ । केही समयदेखि विरामी रहेका उनको ७२ वर्षको उमेरमा बिहीबार अपरान्ह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पार्टीले दुई दिनअघि एक वक्तव्य जारी गर्दै यचुरीलाई श्वास नलीमा गम्भीर संक्रमण रहेको जानकारी गराएको थियो । गत अगस्ट १९ देखि नै यचुरी अस्पतालमा भर्ना भएका थिए । निमोनियाका कारण अस्पताल भर्ना भएका उनको हालै आँखाको मोतियाबिन्दुको पनि शल्यक्रिया गरिएको थियो ।
उनको निधनप्रति शोक व्यक्त गर्दै भारतीय नेताहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
