

महेन्द्रनगर । पेशागत बीमा अभिकर्ता संघ नेपालले मंगलबार अभिकर्ता भेला आयोजना गरेको छ । कैलालीको धनगढीमा शनिबार हुने प्रदेश स्तरीय भेलाको पूर्व सन्ध्यामा संघका केन्द्रीय उपाध्यक्ष महेशदत्त भट्टको प्रमुख आतिथ्यमा भेला गरिएको छ ।
भेलामा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष भट्टले पेशागत हकहित र अधिकारका लागि अभिकर्ताहरु एकजुृट हुन पर्ने आवश्यकता भएको बताए ।
उनले बीमा नियमावली २०८० को बिधेयकमा अभिकर्तालाई निराश बनाउने किसिमका प्रावधान समावेश गरिएकाले ती सच्याएर मात्रै नियमावली बन्नु पर्नेमा जोड दिए ।


बीमा नियमावलीमा अभिकर्ताको कमिसन, शैक्षिक योग्यता, अनलाइन कारोबार, नविकरण लगायतका प्रावधान अभिकर्ताको हकहित नभएकाले नियमावली सच्याएर मात्रै पारित हुन पर्ने बताए ।
बिमक नेपाल नेशनल लाइफका केन्द्रीय सदस्य धन सिह ठगुन्नाको अध्यक्षतामा गरिएका कार्यक्रममा कञ्चनपुरमा भएका सबै १४ बीमा कम्पनीमा अभिकर्ताहरु सहभागी भएका छन् ।
कञ्चनपुरमा तीन देशकदेखि बीमा कम्पनीहरुले कारोबार गर्दै आएका छन् । संघका उपाध्यक्ष भट्टका अनुसार जिल्लामा ८ हजार हाराहारीमा अभिकर्ता छन् ।

बिमक नेपाल नेशनल लाइफका केन्द्रीय सदस्य राजेन्द्र बहादुर चन्दले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा बिमक एलआइसीका केन्द्रीय सदस्य लक्ष्मीदत्त जोशी, सुदूरपश्चिम प्रदेश समिति सचिव रमेश सिह भण्डारी, नेशनल बीमक संघ जिल्ला अध्यक्ष डम्बर बहादुर विष्ट, बीमक नेपाल लाइफ शाखा अध्यक्ष विष्णु नाथ, अभिकर्ता बिरेन्द्र सिह बोहरा लगायतले आ–आफ्नो धारणा राखे ।

