

महेन्द्रनगर । सत्ता साझेदार काँग्रेस एमाले एक अर्काेलाई निषेध गर्ने गरी आगामी निर्वाचन लड्ने भएका छन् । अहिले सत्ता साझेदार भए पनि २०८४ को चुनाव एक अर्का विरुद्ध प्रतिस्पर्धा गरी लड्ने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताएका हुन् ।

‘अहिले भिन्न परिवेशमा सरकार अघि बढेको छ, काँग्रेस एमाले दुई प्रतिस्पर्धी पार्टी हो, ’ कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा मन्त्री भण्डारीले भने,‘२०८४ मा एक अर्कोलाई निषेध गर्ने तहमा जान्छौ, एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्छाै ।’
देशको विषम परिस्थितिमा निकास दिनका लागि दुई ठूला दल मिलेर सरकार सञ्चालन गरिएको मन्त्री भण्डारीले उल्लेख गरे ।
सरकार गठनको सय दिन पुगेको उल्लेख गर्दै उनले सकारात्मक र नकारात्मक दुबै थरीका प्रतिक्रिया देखिएको बताए ।
आम जनताले सरकारप्रति अधिक अपेक्षा गरेकाले त्यस अनुसार प्रतिफल दिन सकिएको नसकिएको छलफल गरिने बताए ।
