

महेन्द्रनगर । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरेका छन् । सोमबार परशुराम धाममा पुगेर दर्शन गर्दै उनले अधुरा योजना सम्पन्न गरिने बताएका छन् ।
रंगुन नदीमा अधुरो रहेको तटबन्ध निर्माण, परशुराम नगरपालिका वडा नं. ६ र १२ जोड्ने रंगुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडक खण्डमा पनि पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले बताए ।
देउवा एक साता लामो बसाइका लागि सोमबार गृह जिल्ला डडेलधुरा आइपुग्नु भएको हो । काठमाडौँबाट आइतबार धनगढी आएका उनी साँझ डोटीको बुडर बसेर परशुराम पुगेका हुन् ।
बुडरबाट सोमबार बिहान चुरे र महाभारत पर्वतको संगमस्थलमा अवस्थित प्राकृतिक आलितालको अवलोकन पछि महाकाली नदी किनारको परशुराम धाम पुगेर बाबा परशुरामको दर्शन गरेको नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।
भेटघाटका कार्यक्रमसँगै उनले परशुराम धाममा पुगेर दर्शन गरेका छन् । नेपालका चार वटा धाम मध्येको एक परशुराम धाममा पुगेर देउवाले यस क्षेत्रको विकासका लागि सधैँ लागि परेको बताए ।
डडेल्धुरा प्राकृतिक रूपमा रमणीय जिल्ला भएको र थुप्रै धार्मिक स्थल, शक्तिपिठ भएको जिल्ला पनि भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उहाँले बताए ।

परशुराम धामको विकासका लागि गुरु योजना बनाई केही वर्ष यता राम्रो बजेट विनियोजन भएर बाबा परशुरामको मूर्ति निर्माणसँगै मन्दिरहरू, धर्मशाला, सडक बाटो लगायतका पूर्वाधारहरू निर्माण भएकाले दशर्नार्थीहरुलाई सहज हुँदै गएको उनले बताए ।
परशुराम धामलाई पारि तर्फ रहेको भारतको माँ पूर्णागिरिको मन्दिरसँग जोड्न धाम नजिकै भारत सरकारे पक्की मोटरेवल पुल निर्माणको काम अघि बढाएको उनले बताए । पुल र सडक बाटो वनेसँगै धार्मिक गतिविधिसँगै स्थानीयलाई सहज हुने उनको भनाई छ ।
महाकाली कोरिडोर परशुराम धामलाई छोएर बनाउने योजना अनुसार अहिले सडक निर्माणको काम धमाधम भइरहेकोले यसले पनि दीर्घकालीन रूपमा सहजता प्रदान गर्ने उहाँले बताए ।
उनले लाढुंगा बजारमा रहेको जोगबुडा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने उल्लेख गरे । ५० शय्याको अस्पतालमा स्तरोन्नति भइरहेको जोगबुडा अस्पताललाई प्रादेशिक अस्पतालमा गाभेर पूर्वाधारसहित विशेषज्ञ सेवा सञ्चालन गरिने बताए ।
बुडरबाट जोगबुडा जाने सडक बाटो भएकाले हिजो राति बुडर नै बसेको सभापति साउदले जानकारी दिए । भित्रिमधेश जोगबुडा महाभारत पर्वत र चुरे पर्वतको संगमस्थल क्षेत्र हो । परशुराम नगरपालिका कञ्चनपुर र भारतसँग सीमा जोडिएको छ । चुरेको सम्म परेको भूभाग उर्वर भएका कारण जिल्लाको झण्डै आधा जनसङ्ख्या जोगबुडा क्षेत्रमा छ ।
देउवा भित्रिमधेश जोगबुडा क्षेत्रको भ्रमण, भेटघाटका कार्यक्रम सकाएर सोमबार बेलुकी जिल्ला सदरमुकाम आउने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेलधुराका सह सचिव गोविन्द बोहराले जानकारी दिनुभयो । उहाँ भोली मंगलबार बडालको लाटा गन्याप देवताको पूजाआजा जाँत (मेला) मा सरिक हुने उनले बताए ।
साभार : गोरखापत्र
