
तानाशही शैलीमा केशव आश्रममा डोजर लगाएको भन्दै पोखियो आक्रोश, भीमदत्तत्तका उप मेयर र प्रवक्ताको मागियो राजिनामा

महेन्द्रनगर । हिन्दू स्वयम् संघ कञ्चनपुरले जंगली र तानाशाही शैलीमा केशब आश्रममा डोजर लगाएको भन्दै आक्रोश पोखेको छ । संघले बुधबार भत्काइएको आश्रममा पत्रकार सम्मेलन गरी भीमदत्त नगरपालिका र भीमदत्त नगर विकास समितिप्रति आक्रोश पोखेको हो ।
भीमदत्त नगरपालिकाले तीन दिन अघि डोजर लगाएर आश्रम भत्काएको थियो । आश्रम नजिकको अर्को संरचनामा पनि डोजर लगाएर भत्काएको थियो । ती दुबै संरचनाका भीमदत्त नगर विकास समिति स्वामित्वको भन्दै चाबी लिइएको थियो । हिन्दू स्वयम् सेवक संघका सचिव प्रदिप पालले आफूहरुलाई जानकारी नदिई आश्रमममा डोजर लगाएको बताए ।
‘हामीलाई कुनै जानकारी नदिई जंगली, तानाशैही शैलीमा डोजर लगाएर भत्काइएको छ’ पत्रकार सम्मेलनमा उनले भने,‘सर्वोच्च आदेश अनुसार हो भने त्यसको सम्मान गर्छौ तर अवैध अन्य संरचना पनि भत्काउन पर्छ, हाम्रो अगाडिको यो छात्राबास देख्दा हुन्छ, त्यहाँ नजर गएको छैन ।’
आश्रम नजिक नगर विकास समितिको जग्गा कब्जा गरी सरकारी लगानीमा सुदूरmपश्चिम दलित छात्राबास निर्माण गरिएको छ । छात्राबासका अध्यक्ष हरिहर परियार भीमदत्त नगरपालिकाका कार्यपालिका सदस्य छन् ।
भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा छात्राबासको छत ढलानको लागि उपभोक्ता समिति गठन गरी निर्माण सम्झौता गरेको थियो ।


हिन्दू स्वयम् संघले २०६९ मा तत्कालिन महेन्द्रनगर नगर विकास समितिबाट जग्गा लिजमा लिएर आश्रम बनाएको थियो । कमजोर आर्थिक अवस्थाका विद्यार्थी आश्रममा बसेर अध्ययन गर्दै आएका थिए ।
हिन्दू स्वयम् संघका लोक बहादुर ठकुराठीले नगर विकास समितिसित २० वर्षका लागि लिज सम्झौता गरी जग्गा लिएपछि आश्रम निर्माण गरिएको बताए ।
‘कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई बस्न, बाहिरबाट आउने अतिथिहरु बस्नका लागि आश्रम निर्माण गरिएको हो’ उनले भने,‘चन्दा उठाएर आश्रम बनाएका हौ, अहिले आएर कुनै जानकारी नदिई गुण्डा शैलीमा भत्काई दिइएका छ ।’
संघले चन्दा संकलन गरी बनाएको आश्रममा ३० देखि ३२ लाखसम्म खर्च भएको संघले जानकारी दिएको छ । ठकुराठीले विद्यार्थीहरुको दबावमा आश्रम भत्काएको बताए । संघका पदाधिकारी र सदस्यहरु पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।
अवैध संरचना भत्काउन दबाव दिँदै आएका माओवादी केन्द्र सहित विभिन्न दलका युवा विद्यार्थी पनि पत्रकार सम्मेलनमा उपस्थित भए ।
संघका सचिव पालले नगरपालिकाले चाबी लिएपछि आश्रम भत्काएर गल्ती गरेको बताए । ‘हामीले पालिकालाई उतिबेलै तालाचाबी बुझाएका थियौँ, ‘उनले भने, ‘तर पालिकाले चाबी लिएर भीमदत्त नगरपालिका स्वामित्वको भवन घोषणा गरेपनि तोडिदियो, आफ्ना मान्छे र शक्तिशाली व्यक्तिका घरमा लगानीदेखि सरक्षणमा उद्यत छ ।’
संघका सचिव पालले भीमदत्तका उप मेयर निलम लेखक जोशी र नगर प्रवक्ता पदमराज अवस्थीको राजीनामा मागे । ‘आफ्ना र शक्तिशाली काँग्रेसकै नेताका घर बचाउन हाम्रो घर भत्काएका हुन्’ उनले भने ।
हिन्दू स्वयक सेवक संघ राष्ट्रिय बौद्धिक संघका सदस्य लक्ष्मीदत्त भट्टले सम्झौता मिचेर आश्रम भत्काइएको बताए ।
