

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले समाजमा घृणा फैलाउने कामप्रति सरकार सचेत रहेको बताएका छन् । काँंग्रेस कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लेखकल धार्मिक, जातीय, साम्प्रादायिक, क्षेत्रीय द्धेष फैलाउने र मानिसहरुको चरित्र हत्या गरेर समाजलाई अमर्यादित दिशातर्फ लैजाने काम लोकतन्त्र सम्मत नहुने बताए ।
‘लोकतन्त्र भनेको अनुशासनको पद्धति हो । अराजकताको पद्धति होइन। लोकतन्त्रमा आलोचना गर्न पाइन्छ, आफ्ना कुरा राख्न पाइन्छ । सरकार र पदमा बसेकाहरुको आलोचना गर्न पाइन्छ । तर आलोचना, विरोध र प्रदर्शनहरु संयमित र मर्यादित हुनुपर्छ,’ उनले भने, ‘समाजमा घृणा फैलाउने, धार्मिक, जातीय, साम्प्रादायिक, क्षेत्रीय द्धेष फैलाउने र मानिसहरुको चरित्र हत्या गर्ने, विभिन्न ढंगले भ्रामक र कपोकल्पित कुरा गर्ने, त्यस्ता खालमा लालछना लगाउने र समाजलाई मर्यादित दिशातर्फ लैजान काम लोकतन्त्र सम्मत हुन सक्दैन। त्यस्ता कुराका लागि हामी अत्यन्त सचेत छौँ ।’

लोकतन्त्रलाई अनुशासनको पद्धतिलाई रुपमा स्थापित गर्नु पर्ने उनले बताए । अराजकताका बढेमा लोकतन्त्र कमजोर हुने उनको भनाइ छ ।
सरकार मुलुकका सुशासन कायम गर्न र संविधानको रक्षा गर्न गम्भीर रहेको मन्त्री लेखकको भनाइ थियो । ‘समाजमा हुने अवाञ्छित गतिविधि, कुशासन, घृणा फैलाउने गतिविधि कुनै पनि हालतमा सह्य हुँदैनन्,’ उनले भने ।
गृहमन्त्री लेखकले उपचुनाव भयरहित, स्वच्छ र निष्पक्ष तरिकाले सम्पन्न गर्न सम्पूर्ण सुरक्षा प्रवद्र्धन मिलाइएको बताए ।
