

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले ठग र अपराधमा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दृष्टान्त प्रस्तुत गरे ।

उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएजस्तै यहाँ त उल्टै सहकारीमा सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ? प्रधानमन्त्री ओलीको प्रश्न थियो । शुक्रबार काठमाडौंमा आयोजित जागरण सभामा बोल्दै उनले सरकारले गठी र अपराध गर्नेहरुलाई नसहने चेतावनी दिए ।

‘कुनैपनि खालको अपराध, अराजकताहरु जे पनि बोल्न, चरित्र हत्या गर्न पाइने, घृणा फैलाउन पाइने । यो कुरा नेपाली समाजलाई स्वीकार्य छैन । र यस्ता कुराहरुलाई हामी प्रोत्साहित गर्न सक्दैनौ भन्नेकुरा म स्पष्ट गर्न चाहन्छु । हिन्दीमा एउटा भनाई छ–उल्टै चोर, कोटवालको डाँठे । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएछ । यस्तै यहाँ त उल्टै सहकारीमा ठगेको कति कति प्रमाणहरु छन् । आफैँ सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ? अरुलाई गाली गर्ने ? कुनैपनि प्रकारको भ्रष्टाचार सह्य हुनेछैन । कुनैपनि प्रकारको ठगी सह्य हुनेछैन । कुनैपनि प्रकारको मानव तस्करी सह्य हुनेछैन । नेकपा एमाले र अहिलेको सरकारले जोसोकै होस–अनुहार हेर्दैन, अपराध गर्नेलाई कारबाही गर्छ । त्यो मैले पहिलेदेखि नै भनेको छु’ प्रधानमन्त्री ओलीले भने ।

