

महेन्द्रनगर । भीमदत्त ६ को उप निर्वाचनमा काँग्रेसका प्रकाश चन्द चुनावी मैदानमा छन् । काँग्रेसको नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका चन्द पार्टी राजनीतिमा आएका हुन् । उनी काँग्रेसको १४ औं महाधिवेशनबाट काँग्रेसको भीनपा ६ को वडा सभापति भएका हुन् । त्यस अघि वडा सचिव थिए ।
उप निर्वाचनमा काँग्रेसबाट उनी वडा अध्यक्षका उम्मेदवार छन् । २०७९ मा काँग्रेसका महेन्द्र खड्काको निधन भएपछि मंसिर १६ गते उप निर्वाचन हुन लागेको हो । काँग्रेसले खड्काको जितलाई निरन्तरता दिने लक्ष्य लिएर चन्द चुनावी मैदानमा छन् ।

‘महेन्द्र खड्काले अघि सारेको कार्यक्रमलाई पूरा गर्ने लक्ष्य उद्देश्य लिएर जनताको घरदैलोमा गई रहेको छु’ उम्मेदवार चन्दले भने,‘वहाँको सपना पूरा गर्ने भिजन सहित उम्मेदवार भएको छु, यस वडाका डुबान, बाढी, सडक, शिक्षा, स्वास्थ्य लगायतका समस्या समाधान गर्ने वाचा गरि रहेको छु ।’

पहिलो पटक स्थानीय तह निर्वाचन लडेका उनी हालसम्म सबै मतदाताको घरदैलोमा पुगि सकेका छन.् । घरदैलोमा उत्साहजनक चुनावी माहौल पाएको उनले बताए ।
‘हालसम्म यस वडाका सबै टोलमा पुगि सकेको छु, ती सबै टोलमा उत्साहजक माहौल छ’ उनले भने,‘ती सबै टोलमा प्रष्ट भिजन सहित जन चाहना अनुसारका एजेण्डाका साथ गएका छौ ।’
१२ बुँदे प्रतिवद्धता बोकर उनी मतदातासित मत मागि रहेका छन् । २५ बैशाख २०४३ मा भीनपा ६ को भगवती टोलमा जन्मिएका चन्द कक्षा ९ र १० मा पढ्दा राजनीतिमा आकर्षित भएका हुन् । बुवाको राजनीतिक पृष्ठभूमिका कारण उनले जागिर नखाएर राजनीतिक र समाज सेवामा लाग्ने सोच बनाए । जागिर खाने सोच आफूलाई कहिल्यै नआएको चन्दले बताए ।

उम्मेदवार चन्दका बुवा धन बहादुर चन्द पञ्चायतकालमा स्वतन्त्र चुनाव लडेर वडा सदस्य भएका थिए । उनको तीन वर्ष अघि निधन भएको थियो । बुवाबाट राजनीतिमा प्रेरित भएका उनी २०५९ मा क्याम्पस पढ्दा नेपाल विद्यार्थी संघमा आवद्ध भएर औपचारिक राजनीतिमा होमिएका हुन् ।

तत्कालित सिद्धनाथ बहुमुखी क्याम्पसमा प्रविणता प्रमाण पत्र तह अध्ययनका लागि भर्ना भएपछि उनी नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका हुन् । काँग्रेसको प्रजातान्त्रिक विचारले आफू काँग्रेस राजनीतिमा आवद्ध भएको उनी बताँछन् ।
ऐंठपुरस्थित शान्ति निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेका उनले बैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी गरी तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस भर्ना भएका हुन् ।

बहुमुखी क्याम्पसमा विद्यार्थी संघको इकाई समिति सदस्य भएर राजनीति थालेका उनी त्यसपछि उनी संघको जिल्ला समिति सदस्य हुँदै जिल्ला सचिवसम्म भए । बहुमुखी क्याम्पस पढ्दा उनी २०६४ मा नेपाल विद्यार्थी संघबाट स्ववियु सभापतिमा चुनाव लडेका थिए ।
नेपाल विद्यार्थी संघको जिल्ला सचिव हुँदा उनी काँग्रेसको पार्टी राजनीतिमा लागेका हुन् । काँग्रेस भीमदत्त नगर समितिको सदस्य भएर पार्टी राजनीतिमा आएका चन्द काँग्रेसको १३ औं महाधिवेशनबाट वडा सचिव भएका थिए ।
वडा सचिव हुँदा पनि उनले २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा आकाँक्षा राखे । काँग्रेसले २०७४ मा पिताम्बर भट्टलाई वडा अध्यक्षमा उम्मेदवार बनाएको थियो । त्यति बेला काँग्रेसका स्वर्गिय वडा अध्यक्ष महेन्द्र खड्का वडा सभापति थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा फेरि उनी वडा अध्यक्षका उम्मेदवारका आँकाक्षी थिए । उनी आफंै वडा सभापति थिए । पार्टीले स्वर्गिय महेन्द्र खड्कालाई उम्मेदवार बनायो । खड्काको निधनपछि हुन लागेको उप निर्वाचनमा वडा सभापति चन्द फेरि आकाँक्षा राखेर उम्मेदवार भएका हुन् ।
काँग्रेसमा इमान्दार कार्यकर्ताको छवि बनाएका उनी उप निर्वाचनमा काँग्रेसका सबै नेता कार्यकर्ता एकजुट भएर प्रचारमा लागेको बताउँछन् ।
‘सबै नेता कार्यकर्ता एकजुट भएर लागेका छन्, गृहमन्त्री र आर्थिक मामिला मन्त्रीज्यूको वडा भएकाले पनि नेता कार्यकर्तामा कहीकतै मनमुटाव केही छैन’ उनले भने,‘सबैको ध्यान चुनाव जित्नेमै छु, सबैको साथ सहयोग पाएर चुनाव जित्नेमा आशावादी छु ।’
