ghar sansar

बुवाको बिँडो थाम्दै राजनीतिमा होमिएका राप्रपा उम्मेदवार भट्ट

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा अध्यक्षका उम्मेदवार सुशिल कुमार भट्ट तत्कालिन महेन्द्रनगर नगर पञ्चायतका उप प्रधान पञ्च स्वर्गिय टिकेन्द्र प्रसादका छोरा हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट दुई पटक अध्यक्षका लागि चुनावी प्रतिस्पर्धा गरि सकेका उनी तेस्रो पटक चुनावी मैदानमा आउका छन् ।

अढाई वर्ष अघि २०७९ मा उनी दोस्रो पटक स्थानीय तह निर्वाचन लडेका थिए । त्यस अघि २०७४ मा उनी पहिलो पटक स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् । उनी अहिले चुनावी प्रचारप्रसारमा विहानदेखि साँझसम्म व्यस्त छन् । चुनावी प्रतिवद्धता बोकेर उनी मतदाताको घरदैलामा पुगि रहेका छन् ।

lotus institite

चुनावी प्रचारमा जनताबाट साथ र सहयोग पाएर आफू उत्साहित भएको उनले बताए । ‘२०७४ भन्दा मैले बढी नै माया पाएको छु, प्रेम मिलेको छ, जुन घरमा पनि जान्छु, त्यहाँ स्वागत नै भई रहेको छ’ उनले भने,‘यसबाट म निकै उत्साहित छु, यस पटक जनताको राम्रो साथ समर्थन पाउनेमा आशावादी छु ।’

चुनावी प्रचारमा आफूले जनता परिवर्तनमा पक्षमा देखिएको उम्मेदवार भट्टले दावी गरे । ‘जनताको परिवर्तनको चाहनालाई आत्मसात गरेर नै हामी मत मागि रहेका छौ’ उनले भने ।

राप्रपा कञ्चनपुरका सदस्य भट्ट बहुदल स्थापनापछि राजनीतिमा सक्रिय रुपमा लागेका हुन् । राजनीतिमा आउन अघि उनले चार वर्ष खरिदारको जागरि खाएका थिए । तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षको आरक्ष विस्तार आयोजनामा उनी २०४८ सम्म जागिर गरेका थिए । जागिर छाडेर उनी राजनीति र व्यापारमा लागेका हुन् ।

बैतडीको दोगडाकेरदार गाउँपालिका ५ पिपलकोटमा २०२३ मा जन्मिएका उनी दुई तीन वर्षको उमेरमा तराई आएका हुन् । भीमदत्त नगरपालिका ७ हल्दुखालबाट प्रारम्भिक शिक्षा अध्ययन गरेका उनले त्यसपछि झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालय र महेन्द्रनगर माध्यमिक विद्यालय साधारणमा पढेका थिए । । भारतको पिथौरागढमा उच्च माध्यमिक शिक्षा गरेपछि उनी राजनीति र व्यापारमा लागेका हुन् ।

भट्टका स्वर्गिय बुवा टिकेन्द्र प्रसाद तराई बसाई झर्न अघि पढाईमा निःशुल्क रुपमा पढाउँथे । तराई झरेपछि पछि त्यसलाई निरन्तरता दिए । २०४४ मा उप प्रधान पञ्च हुन अघिसम्म उनी शिक्षण पेशामा थिए । बहुदल आएपछि २०४८ मा उनी राजनीतिबाट बाहिर आएका हुन् । वडा अध्यक्षका उमम्ेदवार भट्ट त्यसपछि बुवाको बिँडो समात्दै राजनीतिमा लागेका हुन् । उनी बाल्यकालमा पढेर जागिर खाने सोच राख्थे । त्यस अनुसार चार वर्ष आरक्ष विस्तार आयोजनामा काम गरेका थिए ।

पढाईमा गणितमा कमजोर उनी खेलकूदमा बक्सिङ्ग खेल मन पराउँथे । एक पटक बक्सिङ्ग प्रतियोगिताका खेलाडीले एकले अर्कोलाई हिर्काएको देखेपछि उनी डराएर भागेका थिए । ‘त्यो देखेपछि बक्सिङ्ग खेल्न मन पनि हरायो, म कोमल मनको मान्छे, त्यो देखेर निकै डराए’ उनले भने ।

भट्टले आरक्ष विस्तार आयोजनामा हुँदा किनारा पसल सुरुवात गरे । त्यति बेला ६ सय ४० रुपैँयामा पसल खोलेको उनी सम्झन्छन् । अहिले त्यहीं उनको किराना शान्ति निकेतन माध्यमिक विद्यालय रोडमा हिमानी ग्रोसरी सेन्टरले सञ्चालनमा छ ।

व्यापारसंगै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा समिति सदस्य भएर राजनीति थाले । बुवाले हिँडेको बाटो भएको र अरु नयाँ पार्टी भएकाले आफूले त्यस बेला राप्रपा रोजेको उनी बताउँछन् ।

राप्रपामा आवद्ध भएको २६ वर्षपछि उनी पहिलो पटक २०७४ मा स्थानीय तह निर्वाचन लडेका हुन् । पहिलो पटक चुनाव लड्दा पाएको मत भन्दा दोस्रो पटक आफूले धेरै मत पाएको उनी बताउँछन् ।

‘पहिलो पटक भन्दा दोस्रो पटक राम्रो मत पाएको थिए, यो हाम्रो लोकप्रियता, लोकतान्त्रिक पद्धति हो’ उनले भने,‘यस पटक फेरि राम्रो साथ र सहयोग पाउने आश लिएर घरदैलोमा गएको छु ।’

चुनावी प्रचारमा आफूले भ्रष्टाचार अन्त्य, धर्मको पालना, विकास निर्माण, शिक्षा स्वास्थ्य लगायतका विषयलाई चुनावी एजेण्डा बनाएको उनी बताउँछन् ।

‘म भ्रष्टाचारको विरोध गर्छु, भ्रष्टाचार गर्न भनेको आमाको रगत खानु हो भनेर हाम्रो अध्यक्षज्यूले भन्नु भएको छ’ उनले भने,‘म यही आदर्शलाई बोकेर अघि बढेको छु ।’

चुनाव प्रचारप्रसारका लागि उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई बोलाएर चुनावी आम सभा गरि सकेका छन् ।

उनले चुनावमा विजयी भएपछि सबै टोलका अध्यक्षलाई बोलाएर पूर्वाधार, ढल निकास लगायतका समस्या कसरी हल गर्न सकिन्छ भनेर छलफल गरी योजना बनाएर अघि बढ्ने सोच बनाएको उनी बताउँछन् ।

भट्टको चुनाव प्रचार अभियानको नेतृत्व राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले गरेका छन् । उम्मेदवार भट्टका बुवा उप प्रधानपञ्च हुँदा जोशी प्रधान पञ्च थिए ।

उनको चुनाव प्रचारमा राप्रपाका केन्द्रीय सह प्रवक्ता पूर्ण बहादुर चन्द, केन्द्रीय सदस्यहरु तिर्थराज चटौत, इन्द्र बहादुर केसी, नन्दादेबी जोशी, पूर्व केन्द्रीय सदस्य दशरथ जोशी, राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द, भीमदत्त नगर अध्यक्ष करन पाल लगायत नेता कार्यकर्ता सक्रिय छन् ।

Himal dental
सम्बन्धित
Loading...